पोखरा/अघिल्लोे शनिबार पोखरा–७ को पुरानो विमानस्थल नजिक सडकको नालाले २ जनालाई बगायो । नालाले बगाउँदा आमाछोरीसँगै गर्भमा रहेको बच्चाको समेत ज्यान गयो । त्यसको चार दिनपछि पोखरा–१४, चाउथेमा स्कुटर नालामा खस्यो । चालक घाइते भए ।
गएको बुधबार सिमलचौरमा विद्यालयबाट फर्कदै गरेकी छात्रा नालामा परिन्; धन्न उनलाई ठूलो चोट लागेन । मुसलधारे वर्षापछि पोखराका सडक हिडिसाध्य हुँदैनन् । पोखराको भूगोल उत्तरबाट दक्षिणतर्फ ओरालो भएका कारण पानी दक्षिणतर्फ बग्छ । यी र यस्तै घटनाको मुख्य कारण ढलको उचित व्यवस्था नहुँदा सडकमै उर्लिएको पानी हो ।
पोखरा जति सुन्दर छ, यहाँको सडक सुरक्षा उति नै असुरक्षित पनि छ । सबै मौसमका लागि पोखरा भनिए पनि यहाँका सडक र नाला भने बर्खाको समयमा धराप बनिरहेका छन् । पछिल्ला चार वर्षमा कास्कीमा १९ जनाको सडकको नाला तथा भेलले बगाए मृत्यु भएको छ ।
कास्कीमा समग्रमा सडक, नहर, कुलो तथा अन्य जलजन्य घटनाबाट ३७ जनाले ज्यान गुमाएका छन् । २०८० सालमा कास्कीमा जलजन्य घटनाबाट ९ जनाको मृत्यु भएको थियो । ०८१ सालमा ३ जना, ०८२ सालमा २ जनाको मृत्यु भएको छ भने चालु आर्थिक वर्षमा ५ जनाको खोला तथा भेलले बगाउँदा ज्यान गइसकेको छ ।
सडक, नहर, कुलो, नाला र ढलसम्बन्धी जिम्मेवारी संघ, प्रदेश र स्थानीय तहमा बाँडिए पनि दुर्घटनाका बेला जिम्मेवारी कसैले लिदैनन् । महानगर र सडक कार्यालयमा ढल व्यवस्थापनका लागि एक दशकअघि देखि धाइरहेका पोखरा–१७ विरौटाका लीलाप्रसाद पंगेनी आफू आवाज उठाउँदा उठाउँदै थाकिसकेको सुनाउँछन् ।
‘पोखरामा बस्ती बढेको बढ्यै छ, हिजो धेरै ठाउँमा जेठो बुढो फल्थ्यो । सडकको पानी जति खेततिरै जान्थ्यो, अहिले बस्ती बढिसक्यो, हिजो खेतमा जाने पानी आज सडकमै बगिरहेको छ,’ उनले भने, ‘जिरो किलोमिटरभन्दा माथिबाट भल बग्दै विरौटा आउँछ, पृथ्वीचोकतिरबाट पनि उस्तै आउँछ । हाम्रो आग्रह कसैले सुनेनन् ।’
पृथ्वीचोक तर्फको पानी डाइभर्सन गरी सेतीतर्फ लानुपर्ने उनको सुझाव छ । जिरोदेखि तल सडकको पानीलाई डाइभर्सन गरी पाताले छाँगोतर्फ खसाल्न माग गर्दै उनले धर्नासमेत दिएका थिए । ‘हामीले समाधानको मागसहित धर्ना दियौं, कुनै दिन सुनुवाइ भएन,’ उनले भने ।
पोखराको उत्तरतर्फको महेन्द्रपुल, पृथ्वीचोक, जिरोकिलोमिटर, सिर्जनाचोक देखिको पानी वडा नम्बर १७ मा पुग्छ । यहो हुँदा बर्सेनि दुर्घटना हुने गरेको वडा १७ का जनप्रतिनिधि विक्रम गुरुङ बताउँछन् । फेवा नहरको जोखिम न्यूनीकरणका प्रत्येक वर्ष बजेट खर्च भए पनि परिणाममुखी हुन सकेको छैन ।
‘स्थानीय तहको प्रयासले मात्रै पोखराको ढल व्यवस्थापन सम्भव देख्दिनँ । प्रदेश र संघले पनि भएन भने दातृ निकायको पनि सहयोग लिएर यहाँके ढल निकास र व्यवस्थापन गर्नु जरुरी छ’, उनले भने । पोखरामा जाइकाले वेस्ट वाटर म्यानेजमेन्टका लागि काम गरिरहेको थियो । डिपिआर भइसकेपछि सिर्जित विवादले जाइकाले हात निकाल्दा योजना अलपत्र परेको छ ।
पोखरा महानगरपालिका खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन शाखाका कार्यनिर्देशक इन्जिनियर विवेककुमार खत्री पोखरामा बर्खाको पानी मात्रै कारण नभई बढ्दो सहरीकरण पनि समस्या बनेको औंल्याउँछन् । ‘पोखराको ढल प्रणाली निकै पुरानो छ । धेरै अघि बनेका ढललाई अझै पनि सुधार गर्न सकेका छैनौं । त्यसका लागि नयाँ डिजाइन आवश्यक छ’, उनले थपे, ‘यो पानीकै कारणमात्र होइन, पोखरामा सहरीकरण बढ्दो छ ।’
पोखरा महानगरपालिका सल्लाहकार समिति संयोजक आनन्दराज मुल्मी पहिले पोखरामा ढलको व्यवस्थापन नै नगरिएको बताउँछन् । एडिबीले ०५४ ताका पर्यटन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत पोखराको सौन्दर्य, व्यवस्थित ढल र शौचालय निकासका लागि काम गरेको थियो ।
‘त्यो योजनाले जहाँ चौडा कम छ त्यहाँ खुला राख्यो, जहाँ सडकको चौडा बढी छ, त्यहाँ ढल र पानीको निकास छोपेर राख्यो, यसको सुरुवात विन्ध्यवासिनीबाट भएको हो’, मुल्मीले भने । मोहरियाटोलसम्म साना नाली बनाई पानी ल्याइएको थियो । मोहरियाटोलभन्दा तलबाट भने ढलको व्यवस्था गरिएको थियो ।





