पोखरा/तल्लो बिरौटामा रहेको फिस्टेल एकेडेमी आइबी वल्र्ड स्कुलले इन्टरहाउस फिस्टेल सार्क पौडी प्रतियोगिता २०८३ आयोजना गरेको छ । प्रतियोगितामा छात्र तथा छात्रा दुवैतर्फ २५ मिटर फ्री स्टाइल, ब्याकस्ट्रोक र ब्रेस्टस्ट्रोक इभेन्ट भए ।
जस अन्तर्गत १८, १६ र १४ वर्ष उमेर समूहका प्रतिस्पधा भएका थिए । ५० मिटर फ्री स्टाइलतर्फ पनि अन्डर १८, १६ र १४ वर्ष उमेरका खेल भए । यसै क्रममा अन्डर ११ र अन्डर ८ वर्ष उमेरका छात्रछात्राका लागि १४ मिटर फ्री स्टाइलका खेल सम्पन्न गरिए। सो पौडी प्रतियोगितामा जम्मा २० ओटा इभेन्टमा १ सय ५० भन्दाबढी छात्रछात्राले प्रतिस्पर्धामा भाग लिएको अतिरिक्त क्रियाकलाप संयोजक राजा मुखियाले जानकारी दिए ।
व्यवस्थापन समिति अध्यक्ष चिनु रानाभाटले यस्ता प्रतियोगिताले विद्यार्थीमा अन्तर्निहित प्रतिभा र क्षमताको प्रस्फुटन गराउनुका साथै जीवनमा आईपर्न सक्ने विभिन्न परिस्थितिको सामना गर्न आवश्यक व्यावहारिक तथा जीवनोपयोगी सीप विकासमा समेत महत्वपूर्ण योगदान पु¥याउने बताए ।
प्रबन्ध निर्देशक एलिस रानाभाटले गण्डकी प्रदेशमै पहिलोपटक आइबी वल्र्ड स्कुलका रूपमा फिस्टेलले विद्यार्थीको सिर्जनशीलता, आत्मविश्वास, नेतृत्व क्षमता तथा व्यावहारिक दक्षता अभिवृद्धिमा सहयोग पुग्ने बताए । प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट प्रतियोगीलाई मेडल प्रदान गरिएको थियो ।





