बागलुङ/फेयरमेड फाउण्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनले सञ्चालन गरेको सम्बोधन परियोजनाको आयोजना, धौलागिरि अस्पतालको प्राविधिक सहयोग तथा प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ र स्वास्थ्य कार्यालय रुकुमपुर्वको समन्वयमा स्वास्थ्यकर्मीका लागि आकस्मिक प्रसुती सेवा सम्बन्धी ४ दिने तालिम शुरु भएको छ ।
बिहिबारदेखि शुरु भएको तालिममा रुकुमपुर्वका ६ जना र बागलुङका ९ जना गरी १५ जना स्वास्थ्यकर्मी सहभागि छन् । बिशेष गरी ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामाकार्यरत स्टाफ नर्स नभएको अबस्थामा वा भएपनि उनीहरुको सहयोगीका रुपमा काम गरेका अनमी, अहेव र हेल्थ असिस्टेन्टहरुका लागि यो तालिम आयोजना गरिएको एनजिडिएफ बागलुङका कार्यक्रम अधिकृत सुजन पौडेलले जानकारी दिए ।
तालिममा नर्स कर्मचारीलाई सहयोग गर्न तथा गर्भवती र सुत्केरी अवस्थामा बिरामीलाई कम्पन आउने समस्या भएमा कसरी उपचार गर्ने, रगत बगेको अवस्था भएमा, शिशु नरोएमा के गर्ने ? रिफर कसरी गर्ने, बेहोस भएमा के गर्ने ? औषधी उपचार कसरी चलाउने र अन्य समस्या भएमा के गर्ने भन्ने सबैखाले प्रशिक्षण दिइने छ ।
तालिममा डा. विजय ओझा, सन्दीप खत्री, प्रियंका बिक, नर्स अधिकृतहरु देवी भट्टराइ, मिलन बरुवाल र बागलुङ नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले सहजीकरण गर्नेछन् । फेयरमेड फाउण्डेसनमार्फत सञ्चालित परियोजनाले आमा सुरक्षा, उष्ण प्रदेशिय रोग लगायतको क्षेत्रमा काम गर्दै आएको छ । यो तालिमपछि स्वास्थ्यकर्मीले ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा बसेर सेवा गर्नेछन् ।





