पोखरा / तीन दिनदेखी लगातार परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा मुख्य राजमार्ग देखी भित्रि सडकमा पहिरोले क्षति पु¥याएको छ । गण्डकी प्रदेशका ९ जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक खण्डहरु पूर्ण रुपमा अवरोध भएका हुन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीको तथ्यांक अनुसार गण्डकीका विभिन्न सात स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएका छन् । भने कुल १६ स्थानमा सडक अवरुद्ध भएका छन् ।
कार्यालयका सूचना अधिकारी इन्पेक्टर थानेश्वर चपाईले गण्डकी प्रदेशका ७ स्थानमा पूर्ण र २ स्थानमा सडक खुल्ने काम भएको जानकारी दिए ।
उनका अनुसार वर्षाले बागलुङको निसिखोला गाउँपालिका–४ कानाबगरस्थित मध्यपहाडी लोकमार्गमा शुक्रबार साँझ पहिरो खस्दा पूर्ण अवरोध भएको छ । यस्तै शनिबार विहान बागलुङकै जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालिगण्डकी करिडोरमा पहिरोको कारण सडक अवरुद्ध भएको छ । दुवै स्थानमा लेदोसहितको पहिरो खसेको हो ।
लमजुङको बेशिसहर नगरपालिका वडा नम्बर ६ खरखरे भिरमा पहिरो खस्दा ठूला सवारी साधन पूर्ण अवरोध भएपनि साना सवारी पास भइरहेका छन् । ‘खरखरे भिरमा प्राय सानो पानीले पनि बन्द भइरहने ठाउँ हो । अहिले यहाँ साना गाडीहरु पास भइरहेका छन भने ठूला गाडीहरु बन्द छन्’ उनले भने ।
यस्तै म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ४ फापरखेतस्थित बेनी–दरबाङ सडक खण्डमा शनिबार विहान पहिरो खस्दा सडक पूर्ण अवरोध हुन पुगेको छ । उता मनाङको नासो गाउँपालिका ३ कोत्रोस्थित चामे–बेसीसहर सडक खण्डको सडक खण्डमा पूर्णरूपले अवरोध भएको छ ।
नवलपुरको बुलिङटार गाउँपालिका ६ घुमाउरीघाटस्थित कालीगण्डकी करिडोरअन्तरगत गैडाकोट–रामपुर सडक खण्डमा पनि पहिरोको कारण अवरुद्ध भएको छ । बेनी–जोमसोम सडक खण्डअन्तरगत मस्ताङको खासाङ गाउँपालिका ४ मा सनिबार विहान गएको पहिरोको कारण सडक पूर्ण अवरोध भएको छ ।
मालढुंगा बेनी सडकखण्ड अन्तरगत पर्वतको जलजला गाउँपालिका ७ केराबारीमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । उत्त, स्थानमा सडक खुलाउने काम भइसकेको छ । यस्तै बागलुङ बेनी सडक खण्डअन्तरगत रत्नेचौर शुक्रबार राती गएको पहिरो शनिबार अपराह्न १२ बजे पन्छाइएको छ ।
हाल उत्त? स्थानबाट सवारी पास भइरहेको छ । ‘गण्डकी प्रदेशमा यो तीन दिनको वर्षाका कारण मुख्य मुख्य राजमार्गका ठाउँ मध्ये २ ठाउँ खुलेको छ । बाँकी सात वटा ठाउँ खुल्न सकेको छैन् । यि बाहेक भित्री सडकहरुमा समेत पहिरोले अवरोध गरेका छन्’ उनले भने, ‘ठूला यिनै हुन साना गाउँघर तिरका धेरैनै छन् ति उल्लेख पनि भएका छैनन् । यो बेला सबै सचेत हुन आवश्यक पनि छ ।’
यस्तै भारी वर्षाका कारण गण्डकी प्रदेशका ११ जिल्लाबाट छुट्ने र ११ जिल्लामा आउने रात्रीकाली सवारी आगमन पूर्ण रुपमा बन्द गरिएको छ । विभिन्न स्थानमा बाढी तथा पहिरो जाने क्रम चलिरहेकाले मानविय र भौतिक क्षति हुन नदिनका लागि बन्द गराइएको हो । सूचना अधिकारी
का अनुसार बिहिबार र शुक्रबार यातायात व्यवसायिहरुले केहि अटेर गरेपनि शनिबार भने पूर्ण बन्द भएको छ ।
‘नेपाल सरकारले नै सूचना जारी गरि रात्रीकालिन यातायात आवतजावतमा रोक लगाएको थियो । पहिलो दिन व्यवसायिहरुले यसलाई सामान्य रुपमा लिदैँ वेवास्ता गरेपनि दोस्रो दिनबाट भने सबैले मान्नुभएको छ’ उनले भने, ‘एकदमै कठिन भएको थियो । यात्रु, सवारी चालकले सुरुमा गम्भिर रुपमा नलिएको भान भएको थियो र हामीले धेरै गाडीहरु रोकेर कतिपय फिर्ता गर्नुपर्ने कतिपय सामान्य भएको ठाउँमा अगाडी बुझेरमात्रै पठाउने गरेका थियौं ।’
शुक्रबार राती भने सबैले बुझेको र रसुवा बाढीका कारण पनि सबै सचेत भएर सहयोग गरेको उनले सुनाए ।
गण्डकीका सबै स्थानमा लेदोसहितका ठूलो पहिरो खसेको हो । पहिरोले पर्वत, बागलुङ, म्याग्दी, मनाङ र लमजुङका विभिन्न स्थानमा यातायात सेवा प्रभावित भएको छ ।





