पोखरा / पछिल्ला चार दिनको अविरल वर्षापछि आएको बाढी, पहिरोमा परी गण्डकी प्रदेशमा ठूलो धनजनको क्षति भएको छ । आइतबार रातिसम्मको विवरणअनुसार प्रदेशमा बाढी, पहिरो र हिमपहिरोबाट १६ जनाको ज्यान गएको छ ।
निरन्तर परेको पानीपछि आएको बाढी, पहिरो र हिमपहिरोमा परी थप १० जना सम्पर्कविहीन छन् । बाढी, पहिरोको सबैभन्दा ठूलो मार बागलुङमा गरेको छ । बागलुङमा १० जनाको मृत्यु भएको छ भने म्याग्दीमा ४ जनाको ज्यान गएको छ ।
आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका वडा नम्बर ५ को हिमलुङ हिमालमा हिमपहिरो आएको छ । हिमपहिरोमा परी मृत्यु भएका दुई जनाको शव प्राप्त भएको छ भने आठ जना सम्पर्कविहीन छन् ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक विनोद बोहोराले हिमपहिरो आएको क्षेत्रमा पदयात्रामा गएका अरु १२ जना भने सकुशल रहेको बताए। । ‘आइतबार साँझ दुई जनाको शव यहाँ ल्याइएको छ । आठ जना सम्पर्कविहीन हुनुहुन्छ । १२ जना सुरक्षित फु गाउँ पुग्नुभयो भन्ने सन्देश आएको छ,’ उनले भने ।
उद्धारका लागि दुई वटा हेलिकोप्टर मनाङमै राखिएको छ । सोमबार बिहानैबाट फेरि उद्धार सुरु गर्ने तयारी छ । गण्डकी प्रदेश प्रहरी कार्यालयले बाढी, पहिरोमा परी तनहुँमा एक र लमजुङमा दुई जना घाइते भएको जनाएको छ । कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले एक सय ७९ घरमा पूर्ण, २८ घरमा आंशिक क्षति भएको जानकारी दिए ।
दुई सय ९५ घर उच्च जोखिममा परेका छन् । आइतबार साँझसम्मको विवरणमा ४४ पशु बाढीपहिरोले मरेका भने १३ गोठ पूर्ण रुपमा क्षति भएका छन् । वर्षाले पुल र सरकारी भवनमा पनि क्षति गरेको छ ।
कोइरालाले भने, ‘छ वटा पुलमा पूर्ण क्षति भएको छ भने दुई पुलमा आंशिक क्षति भएको छ । तीन सरकारी भवन भत्किएका छन् । तीनमा आंशिक क्षति भएको छ ।’ १० सरकारी भवन उच्च जोखिममा परेको प्रहरीको विवरण छ ।
बाढी, पहिरोका कारण पाँच सय १२ परिवारका एक हजार छ सय ८४ जना विस्थापित भएका छन् । बाढीले तीन वटा दुई पाङ्ग्रे र चार वटा चार पाङ्ग्रे सवारी साधन पनि बगाएको छ ।
पश्चिम बागलुङमा ठूलो क्षति
लगातार वर्षापछिको बाढीले बागलुङको पश्चिम क्षेत्रमा जनधनको ठूलो क्षति गरेको छ । जिल्लाको निसिखोला र तमानखोला गाँउपालिका तथा गलकोट नगरपालिकामा बाढीबाट धेरै क्षति भएको छ । त्यस क्षेत्रका सयभन्दा बढी परिवार विस्थापित बनेका छन् । बाढीले पुल, लघु जलविद्युत आयोजना र सडकमा क्षति गरेको छ ।
निसिखोला गाँउपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीका अनुसार पालिकामा पहिरोले ५ जनाको ज्यान गएको छ । गाउँपालिकाको वडा नम्बर ३ हर्दरामा पहिरोले चार जनाको ज्यान गाएको छ । पहिरोले ३९ वर्षीया श्यामकुमारी विक, उनका छोराहरु १२ वर्षका मनोज विक, ९ वर्षका मुकेश विक र ५ वर्षका निसन विकको मृत्यु भएको हर्दराले जानकारी दिए ।
निसीखोलाकै वडा नं. ६ को रंगिल भन्ने स्थानमा गोठ पुरिएर भल्कोटका अन्दाजी ४६ वर्षीय सुर्ज घर्तीको ज्यान गएको छ । निसिखोलाको वडा नं. ४ झिवाखोलामा निसिखोलाले १२ घर बगाएको छ ।
‘स्थानीयलाई सुरक्षित रहन भनेका छौं,’ उपाध्यक्ष घर्तीले भने, ‘स्थानीय लिटिल रोज बोड्ङि स्कुलको भवन पूर्ण रुपमा क्षति भएको छ । १२ घर बगेका छन । बाटो पूर्ण रुपमा अवरुद्ध छ ।’ वडा नं. १ देवीस्थानमा पहिरोले ६ घर जोखिममा परेपछि स्थानीयलाई सुरक्षित रहन भनिएको छ । त्यहाँका घरभित्र लेदो पसेको छ ।
वडा नं. २ मा रहेको निमार्णाधीन आधारभूत अस्पतालमा पनि बाढीले असर गरेको उपाध्यक्ष घर्तीले बताए । दुवै तर्फबाट बाढीले घेरिएको अस्पतालको एकातर्फ भने साँझ खोला घटेको छ । निसिखोला–३, याङ्ब्याङमा पहिरोका कारण जंगबहादुर खड्काको बाख्रा खोर बगेको छ । खड्काका १० बाख्रा मरेका छन् ।
यस्तै वडा नं. ६ भरसिवमा केशमला घर्तीको गोठ पनि पहिरोले पुरिएको छ । पहिरोपछि भागेर ज्यान बचाएकी केशमलाका ३ वटा बाख्रा मरेका उपाध्यक्ष घर्तीले जानकारी दिए । झिवाखोलामा मात्रै बाढीले ४० परिवार विस्थापित बनेका छन् । निसिखोलाका ठाँउ ठाँउमा पहिरो र बाढीले मध्य पहाडीसहित ग्रामीण सडक पूर्ण रुपमा अवरुद्ध छन् ।
तमानखोला गाउँपालिकामा पनि पहिरोले चार जनाको ज्यान गएको छ । वडा नं. ३, तमानको धनारपुर टोलमा पहिरोले घर पुरिएर २ जना तथा वडा नं. ४ लाम्मेलाको सन्तर टोलमा २ जनाको ज्यान गएको कार्यपालिका सदस्य हिक्मत जक्तपुरीले जानकारी दिए ।
उनका अनुुसार वडा नं. ४ मा हस्तवीर विक र उदिसरा विकको शव भेटिएको छ भने एक महिला अझै बेपत्ता छिन् । वडा नंं ३ को धनारपुर टोलमा पनि २ जनाको शव भेटिएको तमानखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित परियारले जानकारी दिए । दुबै पहिरोमा अझै केही बेपत्ता रहेको उनले सुनाए ।
‘सबै बाटो अवरुद्ध छ । म आफैं पनि घटनास्थल जाँदै छु । चार जना मृत्युको खबर आएको छ । धेरै घर बगाएको र केही बेपत्ता भएको सूचना छ,’ उनले भने, ‘मोबाइल नेटवर्कको समस्याले सम्पर्क हुन सकेको छैन ।’
यता, बडिगाड गाँउपालिकाका वडा नं. १, ३, ४ र ८ मा गरी ६० भन्दा बढी घरको छानो हावाहुरीले उडाएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए । बडिगाडमा प्रभावितलाई तत्काल त्रिपाल वितरण थालिएको छ । बाढीले गलकोटमा झोलुंगे पुल बगाउनुका साथै वडा कार्यालय भवन र घरहरुमा समेत क्षति गरेको छ ।
विभिन्न सडकमा समेत बाढीले क्षति गरेको छ । ढोरपाटन नगरपालिका र ताराखोला गाँउपालिकामा क्षति भए पनि सञ्चार सम्पर्क टुट्दा विवरण प्राप्त हुन सकेको छैन । नेटवर्ककको समस्याले जोखिम क्षेत्रको अवस्था जानकारी हुन नसकेपछि त्यस क्षेत्रमा हवाई निरीक्षणका लागि पहल भइरहेको बागलुङ क्षेत्र नम्बर २ का सांसद सोम शर्माले बताए ।
कालीगण्डकी ‘ए’ बन्द
अविरल वर्षाका कारण स्याङ्जाको कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको उत्पादन बन्द गरिएको छ । कालिगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि यहाँको बेल्टारीवाट उत्पादित १४४ मेगावाट विद्युत उत्पादन बन्द गरिएको हो ।
नदीमा पानीको बहाव उच्च भएपछि मिर्मीस्थित ड्याम साईडका तीन वटै ढोका खोलिएको हो । पानीको बहाव निरन्तर बढ्दै गएपछि ड्यामको अवस्था तथा आसपासका बस्तीमा डुबानको जोखिमलाई मध्यनजर गर्दै शनिबार रातिबानै विद्युत् उत्पादन रोकिएको आयोजनाले जनाएको छ ।
केन्द्रका प्रमुख आत्मेस पौड्लले पानीको बहाव उच्च भएका कारण सम्भावित जोखिम न्यूनीकरणका लागि आयोजना बन्द गरिएको बताए । पानीको बहाव घटेपछि आयोजनाबाट पुनः नियमित रूपमा विद्युत् उत्पादन सुरु गरिने छ । अविरल वर्षा र प्रतिकूल मौसमका कारण नेपाली कांग्रेस स्याङ्जाको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन सारिएको छ ।
बाढीले कालीगण्डकी गाउँपालिका–७, मिर्मी र कालीगण्डकी गाउँपालिका–१ गुल्मी जोड्ने बेलिब्रिज बगाएको छ । पुल बगाएपछि स्याङ्जा र गुल्मी जाने यातायात सेवा प्रभावित भएको छ । २७ वर्ष पहिले निर्माण भएको यो पुल आइतबार बिहान नदीले बगाएको हो ।
कालीगण्डकीले फर्सेका ७० घर बगायो
कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका स्थित फर्सेमा झन्डै ७० घर बगेका छन् । फर्सेमा कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पसेपछि ती घर बगेका हुन् ।
नदीको बहाव निरन्तर बढ्दै गएपछि बस्तीका अन्य घरसमेत जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार शनिबार बिहान करिब ८ बजेको समयमा कालीगण्डकी नदीको बहाव बढेर फर्से बस्तीमा पसेको हो । यो बस्तीमा करिब ८० घर छन् ।
बाढीका कारण बस्तीमा ठूलो क्षति भए पनि हालसम्म मानवीय क्षति भएको छैन । जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । बस्ती आसपासमा पहिरोसमेत गएको छ भने सडक अवरुद्ध हुँदा उद्धारमा कठिनाइ भएको छ ।
बाढीका कारण थप घर तथा भौतिक संरचनामा क्षति पुग्न सक्ने जोखिम रहेकाले स्थानीय प्रशासन तथा सुरक्षा निकायले घटनाको थप विवरण संकलन गर्ने र आवश्यक व्यवस्थापनको काम भइरहेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।
कालीगण्डकी किनारमा रहेको पर्वतको कुश्मा नगरपालिका–१, सहस्रधारामा बाढीले मध्यपहाडी लोकमार्गको सडक बगाएपछि कुश्मा हुँदै बागलुङ, म्याग्दी र मुस्ताङतर्फ जाने सडक पूर्णरूपमा अवरुद्ध भएको छ । तीव्र कटानका कारण कालीगण्डकी नदी किनारबाट सहस्रधाराको भीरसम्म रहेको सडकको ठूलो हिस्सा बगेको छ ।

सहस्रधारामा मुख्य सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा अर्मादी–खुर्कोट–हिमालय माध्यमिक विद्यालय–पाङ–दमुवाखोला सडक प्रयोग गर्न आग्रह गरिएको छ । बाढीका कारण पर्वतको कुश्मा नगरपालिका–१, मालढुंग ास्थित मोटरेवल पुलमा पनि क्षति भएको छ ।
पुलमा क्षति पुगेपछि कुश्माबाट मालढुंगा हुँदै बागलुङतर्फ जाने यात्रु तथा सवारीसाधनले वैकल्पिक लामो बाटो प्रयोग गर्नुपर्ने भएको छ । अहिले मालढुंगा हुँदै म्याग्दीको बेनी पुगेर रत्नेचौर हुँदै बागलुङतर्फ पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ ।
म्याग्दीमा ४ जनाको मृत्यु
हिमाली जिल्ला म्याग्दीमा ८ गते देखि लगातार परेको वर्षाले गर्दा ४ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् ।
अन्नपुर्ण गाउँपालिका ३ की ५५ वर्षिय दोमायाँ पाइजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक(डिएसपी) राजन कार्कीले जानकारी दिनुभयो । त्यसैगरी अन्नपुर्ण गाउँपालिका ५ गिवाङमा थप दुई जना बेपत्ता भएका छन् । अन्नपुर्ण गाउँपालिका ८ का १९ वर्षिय सविन चोचाङ्गीको मृत्यु भएको छ । त्यसैगरी मालिका गाउँपालिका ३ रुममा ४० वर्षिय किरण पुन र ३५ वर्षिय देवबहादुर पुनको शब फेला परेको छ ।
त्यसैगरी अन्नपुर्ण गाउँपालिका ३ मा ७५ वर्षिय शिउकुमारी गर्बुजा, बेनी नगरपालिका ३ कि ३६ वर्षिय मनकुमारी बिक ओली, अन्नपुर्ण गाउँपालिका ८ का २२ वर्षिय मनोज गर्बुजा र अन्नपुर्ण गाउँपालिका ५ का पहिचान नखुलेका २ जना गरी पाँच जना बेपत्ता भएका छन् ।
रोकियो झरी, जोखिम कायमै
चार दिनको लगातार वर्षा कम भए पनि देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम कायमै छ । मौसमविद् सञ्जीव अधिकारीले पछिल्लो समय वर्षाको मात्रा घट्दै गएको छ र सोमबारदेखि मौसममा थप सुधार आउने पूर्वानुमान सुनाए ।
भारी वर्षा भएका क्षेत्रमा नदी तथा खोलाको बहाव बढेको छ भने जमिन कमजोर बनेकाले वर्षा रोकिएपछि पनि बाढी तथा पहिरोको जोखिम तत्काल अन्त्य हुँदैन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी उपसचिव शान्ति महतले जोखिमयुक्त नदी किनार तथा पहाडी क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेकी छन् ।
सोमबार दिउँसो देशभर आंशिक बादल लाग्ने पूर्वानुमान छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनले देशैभर जोखिम कम हुँदै गएको बताइन् । ‘गण्डकीमा सोमबार हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्छ, न्यूनचापीय मौसमको असर कम हुँदै गएको छ,’ उनले भनिन्, ‘हिमाली क्षेत्रमा पनि मध्यमसम्मको हिमपात हुन सक्छ ।’

सोमबार राति देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । मंगलबारबाट भने मौसममा सुधार आउने छ । देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कास्कीमा केही घरमा क्षति
यसपालिको अविरल बाढी, पहिरोका क्रममा कास्की तुलनात्मक रुपमा सुरक्षित रह्यो । अन्नपूर्ण गाउँपालिका–८, स्याउली बजारमा मोदी खोलाले सडक कटान गर्दा नयाँ पुल वी रेठाँटी–घान्द्रुक सडक अवरुद्ध भएको छ । शुक्रबार साँझ मोदी खोलाले स्याउली बजार क्षेत्रमा करिब १० मिटर सडक कटान गरेको गाउँपालिका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए ।
सडक अवरुद्ध भएपछि पर्यटकीय क्षेत्र घान्द्रुक पोखरासँगको सडक सम्पर्क प्रभावित भएको छ । गत असार अन्तिम र साउन पहिलो साताको बाढीले सो स्थानको सडक बगाउँदा यातायातमा अवरोध भएको थियो । चन्दा उठाएर अन्नपूर्ण गाउँपालिकाले सडकको ट्रयाक खोल्ने र नदीले कटान गरेको क्षेत्रमा ग्याबिन भर्ने काम गरेको थियो । उक्त स्थानमा सडक सञ्चालनमा आएको एक हप्तामात्रै भएको थियो ।

अन्नपूर्णकै वडा नम्बर ३ भोलडाँडामा अविरल वर्षाका कारण घरको आँगन तथा भान्सा कोठा भासिएको छ । स्थानीय ४० वर्षीया रुपा विकको घरको आँगन र किचन कोठा भासिँदा किचनमुनि रहेको बाख्राको खोरसमेत भत्किएको छ । घर जोखिममा परेपछि रुपा विकसहित पाँच जनाको परिवारलाई नजिकै रहेको बहिनीको घरमा सारिएको छ ।
लगातारको वर्षाका कारण कास्कीका नदी, खोला तथा पहाडी क्षेत्रमा जोखिम बढिरहेकाले स्थानीय प्रशासनले नदी तथा खोलाको बहाव बढेको अवस्थामा किनारमा नजान, जोखिमयुक्त बस्तीका बासिन्दा सुरक्षित स्थानतर्फ सर्ने र स्थानीय प्रशासन तथा सुरक्षा निकायको सूचनालाई पालना गर्न आग्रह गरेको छ । पोखरा २२ को पुम्दीभुम्दीमा एउटा घरमा आंशिक क्षति भएको छ ।
शनिबारदेखि नै सेती नदीमा पानीको बहाव बढेर रामघाटमा ताल बनेपछि आसपासका बस्तीमा सुरक्षाकर्मी परिचालन गरी निरन्तर निगरानी गरिएको थियो । अहिले यहाँ पानीको सतह घटेको छ ।
केही वर्षअघि रामघाटमा रहेको सुकुम्वासी बस्ती ठूलो पानीका कारण डुबानमा परेको थियो । त्यसपछि उक्त क्षेत्रबाट सुकुम्वासी बस्ती हटाइएको थियो । पछिल्ला वर्षमा त्यति ठूलो डुबान नभए पनि वर्षा याममा रामघाटमा पानी थुनिएर ताल बन्ने गरेको स्थानीय चित्रबहादुर गुरुङ बताउँछन् ।





