मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

वर्षा र हावाहुरीले रोक्योे सरिताको अस्पताल जाने बाटो, बाटोमै जन्माईन छोरा

वर्षा र हावाहुरीले रोक्योे सरिताको अस्पताल जाने बाटो, बाटोमै जन्माईन छोरा


  • अनिष पाठक
  • असोज १२ २०८३, सोमबार

बागलुङ (खर्वाङ)/बर्खामा बिग्रेका बाटो दशैं आउँदा बनाउने चलनले असारमा बिग्रेका गाउँका बाटो उस्तै थिए । त्यसमा पनि गत बिहिबारदेखि निरन्तर हावाहुरी र पानी परिरहेको थियो । गाउँमा न बिजुली थियो न फोनमा नेटवर्क । अझ वरपर गाउँमा हावाहुरीले घरका छानो उडाईरहेको थियो ।

गत शनिबार बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा यि समस्याबीच साविकको वडा नं. ८ सत्डाँडाकी सरिताको घरमा थप अर्को समस्या पनि थियो । उनलाई त्यस रात सुत्केरी व्यथा च्याप्यो ।

सुत्केरी गराउन स्वास्थ्य चौकी लैजान हावाहुरी सहितको पानी र ठाउँ ठाउँमा बिग्रेको बाटो परिवारका सदस्यलाई बाधक बन्यो । परिवारले घरमै सुत्केरी गराउनुको विकल्प भएन । तर सुत्केरी व्यथाले चाप्दै लगेपछि अतालिएका परिवारले स्वास्थ्कर्मी नगुहारी कुनै विकल्प पनि भएन । रातको बेला हावा र पानिकाबीच उनीहरुले रातको २ बजे स्वास्थ्यस्वयंसेविका तारा थापालाई घरमै बोलाउन गए ।

प्रसव पिडाले छट्पटाएकी सरितालाई सुत्केरी गराउन प्रसाय गरेकी उनले थप सहयोगका लागि स्वास्थ्य चौकी लैजाने बिहानसम्म सबैलाई फोन हान्ने प्रयास गरिन् । कसैलाई फोन लागेन । नजिकै न सवारी साधन थिए । न गाउँमा विद्युत । थापाले थप सहयोगका लागि न स्वास्थ्यकर्मीलाई बोलाउन सकिन र जनप्रतिनिधी ।

तारासहित परिवारले बिहान डोकोमै बोकेर भएपनि सरितालाई स्वास्थ्य चौकी लैजाने निधो गरे । सरिताको घरबाट स्वास्थ्य चौकी डेढ घण्टाको पैदल दुरीमा छ । आइतबार बिहान स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा सरिताले बाटोमै दोस्रो सन्तानको रुपमा छोरो जन्माईन् । धन्न साथमा स्वास्थ्य स्वयंसेविका तारा थापा थिईन् । भाग्यवस सबै ठिकठाक भयो । आमा र बच्चा दुबै शकुसल घर संगै जान पाए ।

यो त एक प्रतिनिधी घटना हो । ग्रामिण क्षेत्रमा यस्ता सास्ती नागरिकले दैनिक भोगिरहेका हुन्छन् । गाँउको बाटो विग्रेको जानकारी जनप्रतिनिधीलाई गराउँदा बर्खामा बिग्रेको बाटो त जसोतसो दशैं आउँदा बन्छ । अरु बेला पालिकाले बरु नयाँ सडक बनाउँला तर बिग्रेका पुरानो बाटोमा ध्यान नदिने गरेको स्थानीय बताउँछन् ।

“विपद् जुनसुकै बेला आउन सक्छ । आप्ठ्यारो जस्लाई जतिबेला पनि पर्न सक्छ । अरु नभएपनि बाटो त बिग्रेको बेला बनाईदिए हुने ।” स्वास्थ्य स्वयंसेविका थापाले भन्न्,ि “बाटो मात्रै भएपनि सजिलो भए धेरै सजिलो हुन्थ्यो ।”

सिसाखानी स्वास्थ्य चौकीकी अनमी थुमा छन्त्याल भने खुल्ला र पर्याप्त आधारभुत स्वास्थ्य सुरक्षा नअपनाउँदा सुत्केरी अवस्थाकी आमा र बच्चा दुबैलाई जोखिम हुने बताउँछिन् ।

“बच्चा जन्माउँदा आमाको रगत धेरै बग्न सक्छ भने बच्चालाई सिताङ (चिसो लाग्ने) हुन सक्छ । त्यसमा ख्याल गर्नु महत्वपुर्ण हुन्छ” उनले भनिन् “स्वास्थ्य संस्थामा आमाको कम रगत बगोस् भनेर पुर्व तयारी गरिएको हुन्छ । बच्चाको लागि पनि आमाको न्यानोपन आवश्यक हुन्छ । अहिलेको अवस्थामा पनि स्वास्थ्य संस्थाभन्दा बाहिर बच्चा जन्मनु दुखद हो ।”

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->