पोखरा/बाल कल्याण संस्थाले सोमबार पत्रकार प्रतीक्षा काफ्लेलाई सम्मान गरेको छ । पोखराको अब्बल बालगृहको पहिचान बनाएको बाल कल्याणले रजत जयन्ती विशेष कार्यक्रममा प्रतीक्षासहित ३ जनालाई सम्मान गरेको हो ।
पोखरा–१८, सेदीमा रहेको संस्थाले संस्थाले पत्रकारितामार्फत् बालबालिकाको समस्या र बालगृहको प्रवद्र्धनमा भूमिका खेलेकोमा भन्दै पत्रका काफ्लेलाई पुरस्कृत गरेको हो । संस्थाले गैसस महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीलाई र १४ वर्षदेखि कार्यरत कर्मचारी पार्वती पौडेललाई उत्कृष्ट कर्मचारी सम्मानबाट सम्मानित गरेको छ ।
कार्यक्रममा संस्थाको सामाजिक लेखा परीक्षणसमेत गरियो । बालगृह सञ्चालनका लागि बनाइएको १८ बुँदे मापदण्ड पूरा गरेर संस्था चलाएको पाइएको सामाजिक लेखा परीक्षक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । चिल्ड्रेन वेलफेयर एसोसियसन स्वीजरल्याण्डको सहयोगमा सञ्चालित संस्थामा हाल २० बालक र १५ बालिका गरी ३५ जना बालबालिकालाई आवासीय सुविधा, भोजन र शिक्षाको व्यवस्थासहित संरक्षण गरिरहेको सो अवसरमा जानकारी दिईयो ।
२०५७ सालमा स्थापित यस संस्था हाल तरकारी र दूधमा आत्मनिर्भर हुनुका साथै माछासमेत आन्तनिर्भर हुने प्रक्रियामा रहेको श्रेष्ठले जानकारी दिए । संस्थाले संरक्षण गरेकामध्ये हालसम्म ३४ जना समुदायमा पुनस्र्थापित गराईसकेको तथा ९० विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गर्दै आएको सो अवसरमा जानकारी दिइयो । गत वर्षमा ७ जनालाई समुदायमा पुनःस्थापित गरेको छ ।
संस्थाकी अध्यक्ष ईन्दिरा बरालले बालकल्याण संस्थाले सरकारले तोकेका सबै मापदण्ड पूरा गरेर सञ्चालनमा रहेको बताइन् । संस्थाका कार्यकारी अधिकृत विजयकुमार प्रधानले संस्थाले बालबालिकाको संरक्षणसँगै सामाजिक कार्यलाई पनि निरन्तर रुपमा अगाडि बढाइरहेको बताए ।
संस्थाका प्रशासकीय अधिकृत प्रकाश गिरीले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका गण्डकी प्रदेश कार्यालय प्रमुख नितु गर्तौला, गैसस महासंघका निवर्तमान अध्यक्ष रामप्रसाद सुवेदी, शिक्षासेवी शेरबहादुर गुरुङलगायतले बोलेका थिए ।





