बागलुङ/गलकोट नगरपालिका वडा नं. ९ को भवन असोज ११ गते आएको दरमखोलाको बाढीले ढल्यो । तर आम नागरिकको सेवा र वडा कार्यालय प्रतिको जनताको आस्था ढल्न नदिने अध्यक्ष अध्यक्ष तेजबहादुर थापा ‘त्रिलोक’ले बताएका छन् ।
थापाले कार्यालय नभएपछि चौतारोमा बसेर पनि सेवा दिन थालेका छन् । तर सबै सेवा सहज भएको छैन । दरमखोलाको बाढीले वडा कार्यालयको भवन नै ढलेपछि सेवामा असर पर्न नदिने उनले सुनाए । अत्यावस्यक काम भए चौतारोमा बसेर दिइरहेको उनले बताए ।
दरमखोलादेखि टाढा रहेको यो वडासम्म आइपुग्न दरमखोलाले धार परिवर्तन गरेपछि यो भवन ढलेको थियो । वडा कार्यालयको जमिनमा क्षति पुग्न थालेपछि त स्थानीय र वडा अध्यक्ष मिलेर सकेसम्म बचाउने प्रयास गरेकै थिए । तर प्रकृतिको अगाडि मानिसको केही लागेन । बाढी पस्न थालेपछि महत्वपुर्ण सामाग्री बचाउने प्रयास गरेपनि घर बचाउन सकिने कुरा भएन । मानवीय जोखिम हुने डरले चाहेर पनि स्थानीयले कतिपय सामान निकाल्न भ्याएनन् । बिहानैदेखि जोखिम उठाएर अध्यक्ष थापाले भवनमा पसेर कम्प्युटर, ३ वटा टेवल र केही कागजातहरु बाहिर निकाल्न भ्याएको बताए ।
यो भवनमा क्षति पुग्न थालेपछि कतिपयले त भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल बनाए । भाइरल भन्दा यो भवन ढल्दा सयौं नागरिकको कागजात बगेकोमा चिन्ता लागेको अध्यक्ष थापा बताउँछन् । ‘मानवीय क्षति हुन सक्ने डरले भवनमा छिर्न र सामान निकाल्न सकिएन’ थापाले भने, ‘दिनभरीजसो भवन खोलामा खसेको थिएन, तर भित्र जान सक्ने अवस्था भएन ।’ बेलुकी पख घर ढलेपछि भने सबैको आसा निराशा भएको उनले बताए ।
सबै मिलेर बचाएको सामाग्री सुरक्षित राखेपनि कार्यालय सञ्चालन गर्न नसकेको थापा बताउँछन् । त्यसैले तत्काल दिने सेवा चौतारोमा बसेर दिएको उनले बताए । ‘अहिले पनि विद्युत र इन्टरनेट छैन, त्यसैले बचेको कम्प्युटरबाट पनि सेवा दिन सकिएन’ उनले भने, ‘अत्यावस्यक कामका लागि हटिया पुगेर कागजात छापेर सेवा दिएका छौं ।’ नाबालक परिचयपत्र र अन्य सिफारिसको काम चौतारोमा बसेर दिएको उनले बताए ।
त्यसो त वडा अध्यक्ष थापाको आफ्नै खेतबारी पनि बगेको छ । परिवारमा परेको पिर बिर्सेर उनी जनताकै काममा छन् । व्यक्तिगत सम्पत्ति भन्दा १० वर्ष देखिको मेहेनतबाट किनेको जग्गा र भवन बगेकोमा चिन्चित छन् । थापा दुइ कार्यकाल वडा अध्यक्ष भएका थिए । ‘मेरो व्यक्तिगत खेत बगेको भन्दा १० वर्षको मेहेनत बगेकोमा दुःख लागेको छ’ थापाले भने ।
२०७७ सालमा स्थानीयको सहयोग तथा खरिद गरिएको ३ रोपनी जग्गामा बनेको यो भवनसहित सबै जमिन बगायो ।
जग्गा दाता बिष्णु बलामीले आफ्नो जग्गा र वडा कार्यालय बगेकोमा भवनमा आएर रोएको देखेर स्थानीय समेत स्तब्ध भएका थिए । बलामी सहितका स्थानीयको जग्गा ३० लाख लगानीमा खरिद गरिएको थियो । १ करोड लगानीमा बनेको यो भवन बगेपछि वडा कार्यालय कता बनाउने भन्ने अन्यौल भएको नगर प्रमुख भरत शर्मा गैरेले बताए ।
उनले तत्कालका लागि भाडामा घर लिएर काम चलाउने र पछि जग्गा व्यवस्थापन गर्न पहल गर्ने बताए । गलकोट नगरपालिका ९ बाँस्खोलास्थित यो वडा कार्यालय बगेपछि अहिलेसम्म कार्यालय सञ्चालन हुन सकेको छैन । मंगलबार वडा अध्यक्ष त्रिलोक थापा सहितका स्थानीयले जापानमा बस्ने एक जनाको घर भाडामा मागेको बताए ।
चार कोठे भवनको व्यवस्थापन भएमा आउने कार्यालय सञ्चालन गर्ने तयारी छ । प्रारम्भिक रुपमा सामाग्री खरिद गर्न नगरपालिकाले व्यवस्थापन गर्दैछ ।
गलकोट नगरपालिकाको मध्यभागमा बगेको दरमखोलाले वडा नं. ३, ५, ६, ७, ८ र ९ को जमिनसहित दर्जनबढी घरमा क्षति पुगेको छ । वडा नं. ३ का हुमबहादुर थापाको माछापालन फर्म बगेको छ । करोडौ लगानीको व्यवसाय बगेपछि उनी निराश छन् । नगरपालिकाले सबै क्षतिको विवरण संकलनको काम गरिरहेको छ । यकिन तथ्यांक आएपछि आवस्यकताको आधारमा पुनस्थापना, राहत र मर्मतको काम थालिने उनले बताए ।





