बागलुङ/असोज ११ गतेको बाढीले देशभर बाढीको बितण्डा मच्चायो । बागलुङको निसीखोला यो प्रकोमा बढी प्रभावित भयो । निसीखोला गाउँपालिका वडा नं. ४ कानाबगर र झिँवाखोला बाढीले क्षतविक्षत छ ।
यहाँका ३५ घर नामेट भएर निसीखोलाले बगाएको छ भने २५ घरमा बस्न नमिल्ने भएको छ । ती परिवारका सदस्यहरुको पुनस्थापना चुनौती चुलिएको छ । चाडपर्व आइरहेको बेला उनीहरु अलपत्र छन् । वडा र स्थानीय तहले आफन्तको घर खोजेर पठाउने काम गरिरहेको छ । यतिन्जेल जनजिवराज माध्यमिक विद्यालय र प्रभा माध्यमिक विद्यालयमा बसेका पीडितलाई घरको छानोमा पठाउन लागिएको हो । तर आफन्तहरु पनि सक्षम छैनन् । खाने लगाउने सबै बगेपछि उनीहरुको परिवार बिचल्लीमा छ ।
विभिन्न व्यक्ति र संस्थाले लगिदिएको खानाको भरमा विद्यालयको कोठामा बस्न बाध्य छन् । वडा कार्यालयले भने अस्थायी रुपमा बसोबास गर्न आफन्त र छिमेकीको घरमा कोठा खोज्दैछ । वडा अध्यक्ष टिकानिधी पौडेलले आफन्त खोज्दै पठाउने काम गरिरहेको बताए । विद्यालयमा बस्न सास्ती भएपछि यो उपाय निकालेको उनले बताए । चारपाँच दिन शिविरमा बसेर आफन्तको घरमा जान लागेको स्थानीय दिलकुमारी रेग्मीले बताइन् । यो समस्याबाट तुलबहादुर सुनार पनि आफन्तको घरमा जाँदैछन् ।
तर उनीहरुको आफन्त पनि पीडित नै हुन् । भएको सानो घरको पालीमा पीडितलाई बस्न दिने गरी व्यवस्थापन भैरहेको हो । बाढीले घरजग्गा नामेट पारेपछि उनीहरु कता बस्ने के खाने भन्नेमा अन्यौल छन् । राहतको रुपमा आएको जे छ त्यसैमा चित्त बुझाएर बस्न बाध्य छन् । छानो न मानो भएपछि अर्काको भरमा बस्न बाध्य भएको उनीहरु गुनासो गर्छन् ।
निसीखोलामा पहिरोले एकै घरका ४ जनासहित ५ को मृत्यु समेत भएको छ । पीडित परिवारलाई प्रारम्भिक राहत दिएपनि दिगो व्यवस्थपनको चुनौती छ । निसीमा पर्याप्त राहत तथा क्षतिपुर्तिको व्यवस्थापनको काम भैसकेको छैन । मृत्यु भएका परिवारको समस्या एकातर्फ छ । घरबारबिहिनलाई पुनस्थापनाको अर्को चुनौती छ । गाउँपालिकाले तत्कालका लागि उनीहरुको खानेबस्ने सामाग्रीका लागि राहत दिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले बुधबार घटनास्थलमा पुगेर पाल, खाद्यान्नलगायतको सामाग्री वितरण गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।
निसी, भलकोट, झिँवाखोला, झिम्पा, कानाबगर, जुग्जाखोलालगायतका दर्जन बस्ती निसीखोला किनारमै छन् । मध्यपहाडी लोकमार्ग यो खोला छेवैबाट रुकुमतर्फ गएको छ । यहाँ त्यस्तो ठूलो विपद् आएको थिएन । वर्षौदेखिका यी बस्तीमा अहिलेसम्म खोला पसेको थाहा नपाएको स्थानीयले बताए । तर असोज ११ गतेको बाढीले एकाएक झिँवाखोला बजार बगायो । यो बस्ती बग्नुमा कारण थियो कानाबगरको पहिरो । असोज ९ गतेनै कानाबगरमा पहिरो खसेर लोकमार्ग अवरुद्व थियो । गाडीहरु फसेका थिए । त्यो पहिरोले निसीखोलाको धार परिवर्तन गरिदियो । त्यही पहिरोले निसीखोला दोश्रो लघुजलविद्युत आयोजनाको इन्टेक र नहर बग्यो । त्यो बहावले नजिकैको झोलुङ्गे पुलको पिलर फालेपछि खोला झिँवाखोलातर्फ मोडिएको थियो । यो खोला मोडिएपछि ३५ घरको नाम निशाना मेटियो । अरु २५ घरमा क्षति पुगेपछि बस्नै नमिल्ने भए । यसरी ६० घर परिवारमा एकैपटक विपत्ति आएपछि गाउँपालिका र वडालाई व्यवस्थापन गर्न धेरै कठिनाइ भएको हो ।
लोकमार्ग पनि बगेकोले आवतजावत ठप्पै छ । सदरमुकामदेखि निसीखोलास्थित यो पहिरो गएको स्थान १ सय २० किमी पश्चिममा पर्छ । सदरमुकामदेखि झिँवाखोला पुग्ने सडक खुलाइएपनि त्यसमाथीको कटान भएको सडक भने अझै खुलेको छैन । धेरै लगानी र मेहेनतबाट मात्र यो सडक खुल्ने अवस्था रहेको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए । लोकमार्ग आयोजना कार्यालयमा पनि खबर भएको र सकेसम्म छिटो खुलाउने प्रयास भएको उनले बताए ।





