बागलुङ/गैर आवासिय नेपालीहरुको संगठन एनआरएनएले बागलुङका बाढी पीडितलाई ५ लाख रुपैयाँ बराबरको राहत सहयोग गरेका छन् ।
एनआएएनएका प्रतिनिधि तथा प्रवक्ता सोम सापकोटाले जिल्ला प्रशासन कार्यालय बागलुङ मार्फत नगद तथा जिन्सी सहयोग गरेका हुन् । बाढी पहिरो पीडित, बिस्थापित तथा घरवार बिहिनकालागि तत्काल खाने सामाग्री सहयोग गरिएको हो । चामल, दाल, तेल, चिउरा, सोयबिन, चाउचाउ जस्ता खाद्यान्न र शिविरमा बस्दा चाहिने सिरक, डसना र सिरानी लगायतका सामाग्री गरी ५ लाख बराबरको सहयोग गरिएको सापकोटाले जानकारी दिए ।
एनआरएनएले शुक्रवार बागलुङ सहित म्याग्दीको ग्रामीण क्षेत्रमा पनि सोही प्रकृतिका सामाग्री सहयोग गरिएको हो । त्यस्तै संघले पीडितहरुको यकिन तथ्यांक संकलनपछि फरक फरक स्थानमा पनि आवस्यक सहयोग गरिने, व्यक्तिगत रुपमा पनि कतिपयले छुट्टै सहयोग गर्ने वातावरण बनाउने उनले बताए । सामाग्रीले पीडितलाई तत्काल बितरण गर्न सहज हुने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । प्रजिअ आचार्यको अनुरोधमा धेरै क्षति भएको मध्ये ताराखोलाकालागि माग गरिए अनुसार उक्त सहयोग गरिएको हो ।





