शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरला नाका : चीनको पूर्वाधार तयार भयो, नेपाल जग्गा मिलाउदैछ

कोरला नाका : चीनको पूर्वाधार तयार भयो, नेपाल जग्गा मिलाउदैछ

चीन सरकारले आफ्ना सम्पूर्ण भौतिक संरचना निर्माण गरिसकेकाले नेपालले पनि निर्माण गर्ने गरी तयारी गरिरहेको मुस्ताङका सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए ।


  • Dhorpatan News
  • फाल्गुन ६ २०७५, सोमबार

बागलुङ, ६ फागुन – चीनसँग जोडिएका उत्तरी नाका सञ्चालनमा ल्याउने सरकारको तयारी अनुसार मुस्ताङको कोरला नाकामा भन्सार कार्यालय निर्माणको प्रक्रिया शुरु गरिएको छ । चीन सरकारले नाका सञ्चालनको पूर्वतयारी अनुसार भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पु¥याइसकेपछि मात्र नेपालले भन्सार कार्यालयका लागि आवश्यक जग्गा व्यवस्थापनको काम शुरु गरेको हो ।
नेपालले कोरला नाका सञ्चालनका लागि चीन सरकारसँग आवश्यक छलफल चलाउनासाथ चीन सरकारले भन्सार कार्यालयका लागि आवश्यक सम्पूर्ण भौतिक संरचना निर्माणको कामलाई अन्तिम चरणमा पु¥याए पनि नेपाल सरकारले आवश्यक जग्गाको प्रबन्ध गर्न नसक्दा नेपालतर्फ खासै काम हुन सकेको थिएन ।
यसअघि सरकारले कोरला नाका सञ्चालनका लागि आवश्यक पर्ने भन्सार कार्यालय, प्लान्ट क्वारेन्टाइन, एनिमल क्वारेन्टाइन, प्रयोगशाला, ट्रक तथा कन्टेनर पार्किङ, गोदाम घर, सुरक्षा प्रबन्ध तथा कर्मचारी आवासका लागि भौतिक संरचना निर्माणका लागि हाल चीनले संरचना निर्माण गरिरहेको नेपाल–चीन सीमाभन्दा आठ किलोमिटर तल जग्गा व्यवस्थापन गरेका कारण काम हुन सकेको थिएन ।
चीन सरकारले कोरलाको सीमा नजिकै आफ्ना सम्पूर्ण भौतिक संरचना निर्माण गरिसकेकाले नेपालले पनि सोही स्थानमै संरचना निर्माण गर्ने गरी तयारी गरिरहेको मुस्ताङका सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए । चीन र नेपालबीचको सबैभन्दा सहज नाकाका रूपमा रहेको कोरला नाका सञ्चालनका लागि सरकारले चासो दिएर अगाडि बढिरहेको छ । यसअघिको सरकारले कोरला नाका सञ्चालन गर्ने भन्दै आठ किलोमिटर तल भन्सार कार्यालय, सुरक्षा चेकजाँचलगायतका लागि जग्गा व्यवस्थापन गरेका कारण चीनको गतिमा काम गर्न नसकिए पनि वर्तमान सरकारले सीमा नजिकैको एक हजार रोपनी जग्गा व्यवस्थापनको काम शुरु गरेका कारण अब भने समयमै नाका सञ्चालनमा आउन सक्छ, सांसद तुलाचनले भने ।
चिनियाँ पक्षले कोरला नाकामा गरिरहेको भौतिक संरचना निर्माणले नाका सञ्चालनको आधिकारिक निर्णयपछि ढोका खोल्न मात्र बाँकी भएर बसेको अनुभूति भएको सांसद डा. सूर्य पाठकले बताए । सुविधा सम्पन्न भौतिक संरचना निर्माण, आफ्नो क्षेत्रमा सडकको सहज विकास गरिरहेको छ तर नेपाली पक्षले काम गर्न ढिलाइ गरिरहेको छ, यसलाई तत्काल अगाडि बढाउनु आवश्यक छ, सांसद पाठकले भने ।
वर्तमान सरकार चीनसँग जोडिएका आठवटा नाका सञ्चालन गर्ने तयारी अनुसार अगाडि बढेकाले कोरला नाकामा संरचना निर्माणको काम तत्काल शुरु गरिने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । केही दिनअघि चीन र भारत जोड्ने काली गण्डकी कोरिडोर सडकको अवलोकन गर्न अर्थमन्त्री युवराज खतिवडासहित बागलुङ आउनुभएका मन्त्री ज्ञवालीले यो नाका नेपालको भाग्य र भविष्यसँग जोडिएकाले काममा ढिलाइ नहुने बताए ।
korla
हामीले कोरला नाका छिटोभन्दा छिटो सञ्चालन गर्न तयारी गरिरहेका छौँ, यसअघिको सरकारले सीमा क्षेत्रभन्दा धेरै तल भन्सार कार्यालय स्थापना गर्ने भन्दै जग्गा अधिग्रहण गरेको भए पनि त्यहाँ भन्सार कार्यालय स्थापना गर्नु अव्यावहारिक हुने भएकाले सीमा क्षेत्रको २४ नं. पिलर नजिकैको जग्गा व्यवस्थापनको तयारी गरिरहेका छौँ, ज्ञवालीले भने ।
स्थानीयस्तरमा भन्सार कार्यालयका लागि आवश्यक सीमा छोएको सडकको दायाँ र बायाँ पाँच–पाँच सय रोपनी जग्गा भन्सार कार्यालयलाई उपलब्ध गराउने निर्णयसहित सरकारलाई पठाएपछि मन्त्रिपरिषद्ले जग्गाको नापँजाँचका लागि आवश्यक प्रक्रिया अगाडि बढाएकाले हिमपात सकिनासाथ काम अगाडि बढाइने मन्त्री ज्ञवालीले बताए।
नेपाल र चीनबीचको नाका सञ्चालनमा आउन सके नेपालले धेरै फाइदा लिन सक्ने भएकाले हिमपात रोकिएपछि कोरलामा संरचना निर्माणले गति लिने बताए । नाकामा निर्माण हुने भौतिक संरचना तथा सडक निर्माणमा पैसाको अभाव हुन नदिने भन्दै अर्थमन्त्री खतिवडाले राष्ट्रिय प्राथमिकतामा परेकै कारण सरकारले केही दिन अगाडि कालीगण्डकी कोरिडोरको बागलुङ र गुल्मी खण्डलाई स्तरोन्नति गर्न २० करोड रुपियाँ रकमान्तरण गरेर सडक निर्माणलाई गति दिइएको बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->