बागलुङ, १६ फागुन – नगरमा रहेका दलित बस्तीहरुमा सरसफाई र मेलमिलापको वातावारण सिर्जना गर्न भन्दै जिल्लाको जैमिनी नगरपालिकाले उत्कृष्ट दलित बस्ती पुरस्कृत गर्ने भएको छ । नगरपालिकाले बनाएको कार्यदलले गरेको सिफारिसका आधारमा उत्कृष्ट ठहरिएका तीन दलित बस्तीलाई पुरस्कृत गर्न लागिएको हो । यस बर्षको नीति तथा कार्यक्रममा प्राथमीकतामा राखेर अघि सारिएको सरसफाई कार्यक्रम अन्तरगत दलित बस्तीलाई पुरस्कृत गर्न लागिएको नगर प्रमुख इन्द्रराज पौडेलले बताए । यस बर्ष जैमिनी नगरपालिका–७ जैदीमा रहेको गगनपानी दलित बस्ती प्रथम, जैनपा–२ वोरडाँडा दलित बस्ती दोस्रो र वडा नं ५ मा रहेको कुसुण्डे दलित बस्ती तेस्रो भएका छन् ।
नगरभित्रका दशवटा दलित बस्तीहरुमा पुगेर नगरले बनाएको कार्यदलले बिभिन्न सूचकहरुका आधारमा बस्तीहरुको मुल्याङ्कन गरेको थियो । बस्तीको सुन्दरता, घर वरपरको सरसफाई, बस्तीमा बस्नेहरुको सरसफाई, छिमेकीबीच रहेको मेलमिलाप, घर वरिपरि रहेको करेसाबारी, दैनिक खानपानमा प्रयोग हुने बस्तुहरु, एक आपसमा सहयोगको भावना लगायतका सूचकहरुको आधारमा उत्कृष्ट बस्ती छनौट गरिएको पौडेलले बताए । नगरपालिकाले यस बर्षको बजेटमा ७० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरेको छ । उत्कृष्ट तीन बस्तीलाई सोही रकमबाट पुरस्कृत गरिने छ ।
‘हाम्रो समुदायमा सुधारको वातावरण बनाउने प्रेरणा मिलोस् भनेर हामीले यो कार्यक्रम ल्याएका हौं’ पौडेलले भने ‘पुरस्कृत हुने बस्तीहरुका कारण अन्य समुदायमा समेत सकारात्मक परिवर्तन गर्ने उत्प्रेरणा जाग्ने छ ।’ अनुगमनका क्रममा नगरभित्र रहेका सबै दलित बस्तीहरुमा सरसफाई र चेतनाको स्तर निकै माथि रहेको पाईएको कार्यदल सदस्य भेषराज शर्माले जानकारी दिए । नगरपालिकाले सुन्दर घरहरुलाई समेत पुरस्कृत गर्ने भएको छ । नगरभरि एकै खालका सुन्दर घर निर्माण गर्ने अभियान अन्तरगत सुन्दर घरलाई पुरस्कृत गर्न लागिएको हो । घरको सरसफाई, बगैचा, घरको बनावट लगायतका सूचकका आधारमा नगरका उत्कृष्ट घर छनौट गरिएको थियो । जैमिनी नगरका ७ हजार ४ सय ७८ घरमध्ये जैमिनी नगरपालिका–४ गैरामादीकी प्रेम कुमारी शाहीको घर प्रथम भएको छ । त्यस्तै जैमिनी नगरपालिका–१० राङ्खानीका दलबहादुर थापाको घर द्धितिय भएको छभने जैमिनी नगरपालिका–१ कुश्मीशेराका देवनारायण आचार्यको घर तृतिय भएको प्रमुख प्रसाशकिय अधिकृत इश्वरी प्रसाद शर्माले जानकारी दिए ।
छनौटमा खटिएको कार्यदलले नगरका अन्य ७ वटा घरहरुलाई पनि पुरस्कृत गर्न सिफारिस गरेको छ । उत्कृष्ट नमुना घरहरु धेरै रहेकाले सान्त्वनाको रुपमा अन्य घरहरुलाई पनि पुरस्कृत गर्न कार्यदलले सिफारिस गरेको शर्माले बताए । उत्कृष्ट घरको लागि पनि नगरपालिकाले यस बर्षको बजेटमा ७० हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ । कार्यदलले दिएको प्रतिवेदनका आधारमा उत्कृष्ट ठहरिएका सबै बस्ती र घरहरुलाई एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिने नगरपालिकाले जनाएको छ । ‘झट्ट हेर्दा यो कार्यक्रमको प्रभाव नदेखीन सक्छ तर यसको प्रभाव दिर्घकालिन हुन्छ भन्ने हाम्रो सोच हो’ नगरप्रमुख पौडेलले भने ‘प्रोत्साहनका कार्यक्रमले परिवर्तनलाई साथ दिन्छ भन्ने लागेको छ ।’ नगरपालिकाले उत्कृष्ट बस्ती तथा घरहरु छनौटका लागि नगरसभा सदस्य कृष्ण रिजाल, देवेन्द्र रेग्मी, चन्द्र बहादुर क्षेत्री र बरिष्ठ कार्यक्रम अधिकृत भेषराज पौडेल रहेको कार्यदल बनाएर जिम्मेबारी दिएको थियो । नगरपालिकाले बिभिन्न शिर्षकमा सरसफाईका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ भने त्यसको प्रभाव राम्रो देखिएको पालिकाले जनाएको छ ।





