पोखरा, २९ फागुन – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको सहमति राष्ट्रघाति भएको बताए छन् । राउतलाई मूलधारमा ल्याउनु सकारात्मक भए पनि सहमतिका बुँदाहरु भने आपत्तिजनक भएको उनको भनाई थियो । ‘सिके राउतसँग सरकारले गरेको सहमति विखण्डनकारीलाई मान्यता दिएको देखिन्छ, यस्ता सहमतिले राष्ट्र टुक्रने खतरा बढ्न सक्छ’, प्रेस युनियन कास्कीले मंगबार पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले भने,‘दुई नम्बर बुँदामा त्यसरी द्विअर्थी शब्द राख्नुको साटो चुनाव भनेर उल्लेख गर्दा के हुन्थ्यो, स्वतन्त्र मधेस गठबन्धन राख्न हुदैनथ्यो ।’ सहमतिमा स्वतन्त्र मधेश उल्लेख भएकैले जनकपुरमा स्वतन्त्र मधेशको नारा उठेको उनको जिकिर थियो । उनले सरकारले मूलुकको अखण्डता, भौगोलिक एकता र सम्प्रभुतालाई ख्याल गर्दै सम्झौता हुनुपर्नेमा सरकार नै राष्ट्र टुक्राउन उद्धत भएको हो कि जस्तो देखिएको बताए ।
सरकारले अहिले आफूलाई भन्दा सीके राउतलाई बढी महत्व दिएको बताउँदै उनले सम्झौतामा हस्ताक्षर गरेर भाषण गरिसकेपछि बाहिर निस्किनासाथ सीके राउत र उनका कार्यकर्ताले जनअभिमतमा आधारित लोकतान्त्रिक विधि भनेको जनमतसंग्रह हो भन्दै प्रचार थालेपछि झस्किनुपर्ने अवस्था आएको बताए । ‘सीके राउतलाई मूल राजनीतिक धारमा ल्याउदा गरिएका समहितका बुँदामा प्रतिपक्षीदलसँग कुनै सल्लाह र सुझाव नै लिइएन’, उनले भने,‘हामी यसलाई कसरी स्वीकार्न सक्छौँ ?’सरकारले जेलभित्रै सहमति गरेर राउतलाई रिहा गरेको र घटनाक्रम हेर्दा सीके राउतको नियत सफा नदेखिएको बताउँदै उलने भने,‘उनले मधेशमा उग्र भावना सिर्जना गरेर मधेसी जनतालाई भड्काउने काम उनले गरेका थिए ।त्यस्तै अर्को प्रसङ्गमा देउवाले प्रेसमाथि आक्रमण गरी केपी नेतृत्वको सरकार अधिनायकवादतर्फ अगाडि बढ्न खोजको बताए । ‘प्रेस स्वतन्त्रता बिना लोकतन्त्र सफल हुदैन, केपी नेतृत्वको सरकारले पहिलो आक्रमण नै प्रेसमाथि गर्न खोज्दै छ’, देउवाले भने,‘नेपाली काँग्रेस स्वतन्त्र न्यायपालिका, स्वतन्त्र प्रेस, व्यक्त स्वतन्त्रता र लोकतन्त्रप्रति कसँसँग सम्झौता गर्दैन ।’





