बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सानो फेवाताल भनेर चिनिने ‘दह ताल’ पर्यटकको पर्खाइमा

सानो फेवाताल भनेर चिनिने ‘दह ताल’ पर्यटकको पर्खाइमा


  • ध्रुबसागर शर्मा
  • चैत्र ६ २०७५, बुधबार

म्याग्दी, ६ चैत – म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ बरंजाको प्रवेशद्धारमै रहेको ‘सानो फेवाताल’को नामले चिनिने दह तालको संरक्षणमा स्थानीयले चासो देखाएपनि पर्यटकको पर्खाइमा रहेको छ ।

तलको बीचमा गाउँ र प्रकृतिको हरियो विम्ब (छायाँ) देखिने ताल निकै आकर्षक र मनमोहक भएपनि प्रचारप्रसारका साथै आवश्यक भौतिक पूर्वाधारको अभावमा ओझेलमा परेको ताल संरक्षण समितिका अध्यक्ष कुलबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार आर्थिक सहयोगले तारबार सहित केही संरचना बनाएपनि तालमा स्नान गर्न मिल्ने गरी आसपासका क्षेत्रमा साईकिलिङको सुविधालाई समेत मध्यनजर गरेर पूर्वाधारको आवश्यकता रहेको छ ।

नीलो रङ्गको तालको बीचमा अवस्थित बराह मन्दिर यहाँको विशेष आकर्षण रहेको छ । तालको बीचमा रहेको बराहलाई पोखराको फेवातालमा रहेको बराह देवताको भाईको रुपमा समेत चिनिन्छ ।

ताल र बराहथानको दर्शन तथा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । भौतिक पूर्वाधारको निर्माण गरी जिल्ला र राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सकेमा गाउँको पुछारमा अवस्थित यो ताल धार्मिक पर्यटकीयस्थल बन्नसक्ने त्यहाँ घुम्न गएका बेनीका नरेश श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठले तालका बारेमा जानकारी पाएपछि घुम्न आएको बताउँदै ताल देखेर उत्साहित भएको प्रतिक्रिया समेत दिनुभयो । साथीहरुलाई समेत घुम्न जान अनुरोध गर्ने उहाँको भनाइ थियो । प्रत्येक वर्षको बालाचतुर्दशीका दिन तालमा भक्तजनको निकै ठूलो भीड लाग्ने भएपनि अन्य समयमा सुनसान हुने गर्छ । दह ताल करिब पाँचसय बर्गमिटर क्षेत्रफलमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->