शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

ढोरपाटन लक्षित पर्यटन आयोजना आवश्यकता

ढोरपाटन लक्षित पर्यटन आयोजना आवश्यकता


  • खिमानन्द कँडेल
  • चैत्र ६ २०७५, बुधबार

नेपालको एकमात्र शिकार आरक्षको रुपमा रहेको ढोरपाटन शिकार आरक्ष विभिन्न जिल्लाहरु, प्रदेशहरु, हिमशृंखलाहरु एवं विभिन्न राष्ट्रिय एवं अन्र्तराष्ट्रिय महत्वका पर्यटकीय स्थलहरुलाई रणनीतिक ढंगबाट जोड्ने महत्वपूर्ण पर्यटकीय क्षेत्र भएता पनि स्पष्ट पर्यटकीय गुरुयोजनाका साथ पर्यटन क्षेत्रका पूर्वाधारहरु होटल, रिसोर्ट, शाहसिक पर्यटन लगायतका पूर्वाधारहरुमा लगानी भित्रिन सकेको छैन ।
विश्वकै सुन्दर पर्यटकीय स्थलहरु पोखरा, मुस्ताङ (लोमाङथान, दामोदरकुण्ड), लुम्बिनी, डोल्पाको से फोक्सुण्डो ताल, मुगुको रारा तालको बीच भागमा रहेको, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशको रणनीतिक नाकाको रुपमा रहेको ढोरपाटन क्षेत्रलाई लक्षित गरी पर्यटन क्षेत्रको राष्ट्रिय गौरवको आयोजनालाई सरकारी स्तरबाट अगाडि बढाईएको अवस्थामा गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशले पर्यटन क्षेत्रमा खरबौंको लगानी भित्र्याउन सक्ने संभावना रहेको छ ।
ढोरपाटन शिकार आरक्ष बागलुङ, म्याग्दी र पूर्वी रुकुममा फैलिएको छ । यसको वरिपरी ठूली भेरी नगरपालिका (डोल्पा), काईके गाउँपालिका (डोल्पा), छर्क टोङसोङ गाउँपालिका (डोल्पा), धौलागिरी गाउँपालिका (म्याग्दी), तमानखोला गाउँपालिका (बागलुङ), ढोरपाटन नगरपालिका (बागलुङ), निसीखोला गाउँपालिका (बागलुङ),भूमे गाउँपालिका (पूर्वी रुकुम), पूथा उत्तरगंगा (पूर्वी रुकुम), सिस्ने गाउँपालिका (पूर्वी रुकुम) लगायतका स्थानीय तहहरु रहेका छन् ।
सडक संजालको कुरा गर्दा मध्यपहाडी लोकमार्गले पोखरा र ढोरपाटनलाई जोड्ने काम गरेको छ । यो सडक पोखरा बागलुङ, विहुँ, गल्कोट, वुर्तिबाङ, निसीखोला, रुकुम हुँदै पश्चिम तर्फ लाग्दछ । यसै गरी विश्व प्रसिद्ध पर्यटकीय स्थल लुम्बिनी ढोरपाटन समेत सालझण्डी ढोरपाटन सडक संजालले जोडिएको छ । यो सडक हाल निर्माणाधीन छ र वुर्तिवाङ देखि ढोरपाटनसम्मको सडक कालोपत्रे भैसक्दा यस क्षेत्रमा ठूलो संख्यामा पर्यटकहरु भित्र्याउन सकिने विश्वास गरिएको छ । यसै गरी हालै मात्र हिमाली जिल्लाको रुपमा परिचय पाएको म्याग्दी जिल्लाको बेनी, दरबाङ, ताकम, मुना हुँदै ढोरपाटनसम्म पनि सडक संजालले जोडिने क्रममा रहेको छ ।
यस बाहेक हालै बन्दै गरेको कालीगण्डकी कोरिडोर अन्र्तगतका विभिन्न स्थानहरु गुल्मीको रिडी, बडिगाड, बागलुङ बजार एवं म्याग्दीको बेनीबाट समेत यस क्षेत्रमा जान सकिने अवस्था रहेको छ । ढोरपाटन क्षेत्र सानो भेरी नदीको समेत शिरभाग भएकोले कर्णाली चिसापानीबाट समेत ढोरपाटनमा पर्यटकहरुलाई तान्न सकिने संभावना रहेको छ । यस बाहेक ढोरपाटन क्षेत्रबाट डोल्पामा रहेको विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य से फोक्सुण्डो एवं मुगुको रारा ताललाई समेत सडक संजालले जोड्ने संभावना रहेको छ । ढोरपाटन क्षेत्रबाट प्यूठान हुँदै भालुवाङसम्म समेत सडक संजाल विस्तार गर्न सकिन्छ । यस बाहेक पनि विश्वप्रसिद्ध पर्यटकीय स्थल मुस्ताङको मुक्तिनाथ, दामोदरकुण्ड, लोमाङथान हुँदै धौलागिरी हिमालको उत्तरपट्टिबाट समेत सडक संजालले जोड्न सकिने संभावना रहेको छ । त्यसैले ढोरपाटन क्षेत्रलाई पर्यटनको राष्ट्रिय गौरवको योजनामा समावेश गरेर अगाडि बढ्ने हो भने नेपालको पर्यटन क्षेत्रको विकास तीव्र गतिमा अगाडि बढ्ने निश्चित छ ।
ढोरपाटन क्षेत्रलाई राष्ट्रिय गौरवको रुपमा अगाडि बढाउँदा समेट्नु पर्ने महत्वपूर्ण आयोजनाहरु एवं दीर्घकालीन लक्ष्य ः
(१) ढोरपाटन जोड्ने निर्माणाधीन सडक संजालहरुको तीव्र गतिमा निर्माण सम्पन्न गर्ने (सालझण्डी ढोरपाटन सडक), बागलुङ बुर्तिबाङ सडकखण्ड (मध्यपहाडी लोकमार्ग), बेनी दरबाङ, ताकम, मुना, ढोरपाटन सडकको निर्माण ।
(२) रुकुम ढोरपाटन, ढोरपाटन डोल्पा लगायतका सडक संजालको निर्माण ।
(३) दामोदरकुण्ड, लोमाङथान, ढोरपाटन सडक संजालको संभाव्यता अध्ययन
(४) बागलुङको भकुण्डे, गाजादह, विहुँ, धम्जा, पञ्चकोट, घुम्टेको धुरी, ताराखोला, सोलेको धुरीसम्मको क्षेत्रमा पर्यटकीय सडक संजालको निर्माण, पैदलमार्गहरुको निर्माण एवं यस क्षेत्रमा प्रमुख पर्यटकीय स्थलहरुमा पर्यटक आकर्षण गर्ने पूर्वाधारहरुको निर्माण ।
(५) गुल्मी, अर्घाखाँची, प्यूठान, रुकुम, रोल्पा लगायतका प्रमुख पर्यटकीय क्षेत्रहरुलाई ढोरपाटन सम्म जोड्ने पैदलमार्गहको निर्माण एवं यस क्षेत्रमा पर्ने प्रमुख पर्यटकीय स्थलहरुमा प्रयाप्त पर्यटन पूर्वाधारहरुको विकास ।
(६) कर्णाली प्रदेशलाई सहजै जोड्न सक्ने गरी सडक संजाल, केवलकार लगायतका पूर्वाधारहरुको निर्माण गर्दै डोल्पाको से फोक्सुण्डो र मुगुको रारालाई जोड्ने गरी पूर्वाधारहरुको विकास ।
(७) पोखरा, लुम्बिनी, मुस्ताङ र मुगुको रारा ताल क्षेत्र भित्रका सुन्दर उच्च पहाडी भूभागहरुमा विशाल मनोरम पार्क एवं प्राकृतिक चिडियाखानाको निर्माण ।
(८) ढोरपाटन उपत्यकामा देश तथा विदेशका लगानी कर्ताहरुको लगानीमा सुविधासम्पन्न होटल, रिसोर्ट, केवलकार लगायतका पर्यटन पूर्वाधारहरुको विकास ।
(९) ढोरपाटन आसपासमा नेपाल सरकारले पहिचान गरेका प्रमुख पर्यटकीय क्षेत्रहरुको वरिपरि समेत होटल, रिसोर्ट, शाहसिक पर्यटन लगायतका क्षेत्रहरुमा पूर्वाधारहरुको विकास ।
(१०) गण्डकी, कर्णाली र प्रदश नं ५ क्षेत्रभित्र रहेका कला संस्कृतिहरुको व्यापक रुपमा संरक्षण एवं प्रवद्र्धन ।
(११) नेपाल सरकारले पहिचान गरेको ८२८ मेगावाट क्षमता भनिएको उत्तरगंगा जलाशय युक्त आयोजनालाई छिटो भन्दा छिटो निर्माण गर्न सरकारी स्तरबाट पहल ।
(१२) नेपाल सरकारको तर्फबाट आगामी १० वर्ष भित्र ढोरपाटन क्षेत्रलाई विश्वको सुन्दर पर्यटकीय शहरको रुपमा विकास गर्ने लक्ष्य लिनुपर्ने ।
त्यसैले माथि उल्लेखित कार्यक्रम एवं लक्ष्यहरुलाई मध्यनजर गर्दै नेपालको पर्यटन क्षेत्रको विकासको लागि ढोरपाटन क्षेत्र लक्षित राष्ट्रिय गौरवको बृहत पर्यटन आयोजनाको टड्कारो आवश्यकता रहेको छ । यसो गर्दा एकातिर गण्डकी प्रदेश, कर्णाली प्रदेश एवं प्रदेश नं ५ सरकारले पर्यटनको क्षेत्रमा लिएका लक्ष्यहरुलाई सहजै पूरा गर्न सकिनेछ भने अर्कोतर्फ यस क्षेत्रबाट विभिन्न शहरहरुमा भैरहेको बसाईसराईलाई अन्त गर्दै नेपाल सरकारले लिएको समृद्ध नेपाल सुखी नेपाली नारा कार्यान्वयन गर्न पनि सरकारलाई सफलता मिल्नेछ ।

्

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->