पोखरा, ६ चैत – पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले बन्दै गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेकी छन् ।
मंगलबार बिमानस्थल पुगेकी उपमेयरलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख विनेश मुनानकर्मीले अहिलेसम्म निर्माणमा भएको प्रगतिबारे जानकारी गराएका थिए । उपमेयर गुरुङले राष्ट्रिय गौरवको आयोजना भएकाले पोखरेलीको मात्रै नभएर देशकै चासो रहेको भन्दै ढिला गर्न नहुनेमा जोड दिइन ।उनले बिमानस्थल निर्माणसंगै अन्य भौतिक पूर्वाधार निर्माणमा ध्यान दिइने बताइन् । विमानस्थल निर्माणसंगै पृथ्वीचोकदेखि कोक्रेसम्मको सडक फराकिलो बनाउनेतर्फ ध्यान दिइने उनको भनाई थियो ।
निर्माण कार्य सुरु भएको १४ महिनामा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलकोे काम ३० प्रतिशत सकिएको छ ।सन् २०२१ को जुलाई १० मा सक्नु पर्ने सम्झौता भएपनि तोकिएको समय सीमाभन्दा ६ महिना अघि नै सक्ने गरी काम युद्ध स्तरमा भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख विनेश मुनानकर्मीको भनाई छ ।
अहिले विमानस्थलको रनवे, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओर्लेने स्थान),ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, जमिन सम्याउने लगायतका काम भइरहेको छ । १४ महिनामा सबैभन्दा धेरै समय लाग्ने महत्वपूर्ण ३० प्रतिशत भन्दा धेरै काम सम्पन्न भइसकेकोले समयसीमा भन्दा छिटै अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न हुने मुनानकर्मीले बताए । बिमानस्थलभित्र १४ वटा भवन निर्माण हुँदैछन् ।
तस्विर पनि छ ।
पोखरामा निमार्णाधिन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निर्माणको अवलोकन गदै पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ ।




