बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

थकाली समुदायले परम्परागत तोरन ल्ह पर्व मनाउन शुरु

थकाली समुदायले परम्परागत तोरन ल्ह पर्व मनाउन शुरु


  • Dhorpatan News
  • चैत्र ७ २०७५, बिहिबार

मुस्ताङ, ७ चैत – नेपालका अल्पसङ्ख्यक आदिवासी थकाली समुदायले मङ्गलबारदेखि परम्परागत तोरन ल्ह पर्व मनाउन शुरु गरेका छन् । मुस्ताङको थासाङ र घरपझोङ गाउँपालिका, म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङलगायत थकाली समुदायको बसोबास रहेको ठाउँमा तोरन ल्हको रौनक छाएको छ । तीन दिनसम्म मनाउने यस पर्व थकाली समुदायको सबैभन्दा ठूलो चाड भएको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगतनारायण गौचनले बताए । “तोरन ल्ह मनाउन घर बाहिर र विदेशमा रहेका थकाली समुदाय आफ्नो जन्मथलो फर्किएका छन्”, गौचनले भने “तोरन ल्हलाई लक्षित गरेर घर सिङ्गारपटार गरेर चिटिक्क बनाएका छौँ ।” फागु पूर्णिमाको अघिल्लो दिन शुरु हुने तोरन ल्ह तीन दिनसम्म मनाउने गरिन्छ । यस पर्वमा आफन्तलाई बोलाएर मिठामिठा परिकार खुवाउने, चोखो भई पितृको सम्झना गर्ने र आर्चरी (तारो हान्ने) खेल्ने चलन छ ।

“तीन दिन सबैरे उठेर चोखो भएर पितृलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ”, गलेश्वरका कृष्णकुमार शेरचनले भने, “आफन्तलाई बोलाएर मिठामिठा परिकार खुवाउने र आर्चरी (तारो हान्ने) खेल्ने चलन छ ।” यसैक्रममा थकाली सेवा समिति बेनी क्षेत्रको आयोजनामा बेनीमा तारो खेल (आर्चरी) शुरु भएको छ । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले सङ्ख्यात्मक हिसाबले न्यून भए पनि सांस्कृतिक रूपमा धनी थकाली समुदायको मौलिक कला र संस्कृति संरक्षण गर्नु राज्यको दायित्व भएको बताए । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले धर्म, संस्कृति, रीतिरिवाजको संरक्षणमा जोड दिए । विसं २०६८ को जनगणनाअनुसार १० हजारको सङ्ख्यामा नेपालमा बसोबास रहेको थकाली समुदाय अल्पसङ्ख्यक आदिवासी जनजातिमा सूचीकृत हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->