काठमाडौं,७ चैत – सरकारले गोलाबारुद बिसाएर संवादमा आउन नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आग्रह गरेको छ । पछिल्ला मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले हतियारले कुनै पनि समस्या समाधान नदिने भन्दै वार्तामा आउन आग्रह गरेका हुन् । उनले भने, ‘सरकारले पटक पटक भनिरहेकै छ। वार्तामा आउनुस्। गोला, बारुद बिसाउनुस्।’ मुलुकभरि चन्द नेतृत्वको नेकपाका नेता, कार्यकर्ता धरपकड भइरहेको सन्दर्भमा पत्रकारले राखेको जिज्ञासामा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले सरकार वार्ताबाट समस्या समाधान गर्न चाहिरहेको प्रस्ट पारे। ‘हामीले सिध्याउने कुरा कहिले गर्यौं र?’ मन्त्री बाँस्कोटाले भने, ‘उहाँहरुले हतियार बिसाउनुपर्छ। संविधानमाथि प्रश्न उठाउन पाइन्छ। संविधानले प्रस्ट भनेको लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउन पाइँदैन। हिंसालाई छुट दिन सकिँदैन।’
सामाजिक समस्या छन् भने हतियारले समाधान नगर्ने भन्दै मन्त्री बाँस्कोटाले त्यसका निम्ति चेतनाको सशस्त्रीकरण आवश्यक रहेको औंल्याए। शान्तिपूर्ण तरिकाले सम्पूर्ण राजनीतिक कुराहरुलाई समाधान गर्न सकिने उत्तम बाटो रहेको भन्दै उनले वार्तामा नआए चन्द समूह आफैं सकिने चेतावनी दिए। ‘हतियार छोड्नुस् भनिरहेका छौं। छोड्दै छोड्नु हुन्न भने हामी के गर्न सक्छौं र ‘, बाँस्कोटाले भने, ‘भीरबाट लड्नेलाई राम राम भन्ने हो। काँध थाप्न सकिँदैन।’ गलत, असम्भव असान्दर्भिक र दार्शननिक, राजनीतिक र वैचारिक हिसाबले समाजमा अस्वीकार गर्ने विषय छोडेर कोही सानो नहुने उनको भनाइ थियो। कुनै पनि नेपालीले देशलाई पुनः द्वन्द्वतर्फ फर्केको हेर्न नचाहेको, राजनीतिक अभीष्ट पूरा गर्न बलको प्रयोगलाई अस्वीकार गरेको र निर्दोष व्यक्तिको हत्या तथा गैरकानुनी चन्दा असूली सधैँसधैँका निम्ति अन्त्य हुनुपर्ने जनअभिमतप्रति उनको लक्ष्य थियो ।




