मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

वसन्त ऋतु : बनैभरी लालीगुराँसको रौनक

वसन्त ऋतु : बनैभरी लालीगुराँसको रौनक


  • Dhorpatan News
  • चैत्र ८ २०७५, शुक्रबार

म्याग्दी, ८ चैत – यसै त वसन्त ऋतु,त्यसमाथि पनि बनैभरी ढकमक्क फूलेका लालीगुँरास । लालीगुराँसकै छेडोबाट देखिने सेताम्यै हिमाल र मनमोहक प्राकृतिक छटा । म्याग्दीका लेकाली भूगोलमा अहिले बेग्लै रौनक थपिएको छ ।कहिल्यै पनि बन जंगलमा नपुगेका युवायुवतीहरुको लर्को अहिले जंगली क्षेत्रहरुमा पुग्दा गाउँलेहरुले अचम्म मानेका छन् भने युवायुवतीहरु गुराँस र हिमाललाई पृष्ठभूमीमा पारेर तस्वीर खिच्च पाउँदा मख्ख परेका छन् ।
म्याग्दीका ग्रामिण क्षेत्रका जंगलहरुमा यस वर्ष विगतका वर्षहरु भन्दा राम्रोसंग लालीगुराँस फुलेको छ । राताम्यै फुलेका लालीगुरासको लालीमाले हरियो बनजंगलमा थप सुन्दरता प्रदान गरेको छ । त्यही सुन्दरतामा रमाउन र तस्वीर खिच्न युवायुवतीहरु लालीगुराँस फुलेका जंगली क्षेत्रहरुमा पुगेका छन् । म्याग्दीको पर्यटकीय स्थल टोड्के, बरंजाको झाँक्रीपानी,अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) अन्तर्गतको प्रमुख आकर्षक मानिने घोडेपानीमा मात्रै होइन बेनी नगरपालिका भित्रका गुराँसे पाखाहरुमा समेत तस्वीर खिच्नका लागि युवायुवतीहरु पुगेका हुन् ।
माघ दोस्रो सातादेखिको हिमपात र त्यस लगत्तै वनजंगलनै ढाकिने गरी फुलेको लालीगुराँसमा रमाउन यस वर्ष सयौ युवायुवतीहरु जिल्लाका ग्रामिण क्षेत्रहरुमा पुगेपछि गाउँको रौनक नै फेरिएको मंगला गाउँपालिका वडा नं ३ झाँक्रीपानीका कोमल थापाले बताए । समुद्री सतहदेखि २हजार ५ सय ७० मिटरको उचाइमा अवस्थित झाँक्रीपानी, १ हजार ३ सय २० मिटरको उचाइमा रहेको बेनी नगरपालिका वडा नं २ को ज्यामरुकोट, बेनी नगरपालिका ३ भकिम्लीको तोराखेत क्षेत्र, बेनी नगरपालिका १ रत्नेचौरको अर्जम लगाएत जिल्लाको सदरमुकाम बेनीबजारबाट नजिकै रहेका जंगलहरुमा राताम्यै लालीगुराँस फुलेको छ ।
यी सबै ठाउँहरुबाट धौलागिरि,निलगिरी,माछापुच्छ«े,गुर्जा,पुथा लगाएत ७ वटा हिमालहरु देख्न सकिन्छ । त्यसका साथै झाँक्रीपानी बाहेकका अन्य ठाउँबाट कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनीबजार समेत देख्न सकिने र तस्वीरको पृष्ठभूमीमा हिमाल,गुराँस,नदी र बेनीबजार पनि आउने हुँदा यी ठाउँहरुमा तस्वीर खिच्नका लागि युवायुवतीहरु आउने गरेका बेनी नगरपालिका २ का भीमवहादुर पौडेलले बताए । ऐतिहासिक ज्यामरुककोटको खड्ग भवानी कोट संरक्षण तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले ज्यामरुककोटको विशेषतानै यहाँको विशेषता नै नजिकबाट लालीगुराँससँगै माछापुच्छ«े, अन्नपूर्ण,धौलागिरि,निलगिरि लगाएतका हिमशृङ्खलाका सुन्दर दृश्य,सदरमुकाम बेनीबजार, नागबेली भएर बगेका म्याग्दी र कालीगण्डकी नदीका साथै बागलुङ र पर्वतका ३३ वटा गाउँहरु देखिनु रहेको बताए । प्राकृतिक सुन्दरतामा रमाउन चाहने जोकोहीका लागि ज्यामरुककोट एउटा उत्कृष्ट र आकर्षक गन्तव्य भएको उनको भनाइ छ ।
बनैभरी फुलेका राताम्यै लालीगुराँस, बेनीबजारलाई फन्को मारेजस्तो देखिने कालीगण्डकी र म्याग्दी नदीको नागबेली दृश्य,उत्तरतर्फ मुसुक्क मुस्कुराइरहे जस्ता देखिने हिमश्रृङ्खला,चारैतिर ग्रामिण परिवेश,हरिया डाँडा, स्वच्छ हावा तथा मनोरम प्राकृतिक सुन्दरताले आफूलाई मोहित गराएको पर्वतको जलजलागाउँपालिकाबाट साथीहरुसंग ज्यामरुककोटको फापरखेतमा आयोजित फागुपूर्णिमा मेला हेर्न आएका १९ वर्षिय देववहादुर जिसीले बताए । उनले भने, ‘एउटै स्थानबाट गुराँस,हिमाल,बजार,नदी गाउँ र जंगलको दृश्य त मैले कहीँ पनि देखेको थिएन ।’लालीगुराँससंगै रमाउने र तस्वीर खिचाउनेमा युवायुवतीहरु मात्रै होइन जनप्रतिनिधिदेखि लिएर राजनीतिक दलका नेताहरु पनि रहेका छन् ।
विभिन्न कार्यक्रमहरुमा सहभागि हुन गाउँ गएका बेला लाली गुराँस फुलेको ठाउँमा गाडी रोकेर तस्वीर खिचाउनेमा गण्डकी प्रदेशका सांसद बिनोद केसी र बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल पनि रहेका छन् । सबैलाई आकर्षित गर्ने लालीगँुरासको संरक्षणमा भने कसैको पनि ध्यान गएको देखिदैन । बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले नगर क्षेत्र भित्रका लालीगुराँस फुल्ने जंगलहरुको संरक्षणमा सामुदायिक वन,स्थानीय जनप्रतिनिधि र पर्यटनको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुले विशेष चासो राख्न र पहल गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->