पोखरा, १० चैत –उपप्रधान एवम् स्वास्थ्यमन्त्री तथा संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए फेरि सडकमै ओर्लने चेतावनी दिएका छन् । शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा सहभागी यादवले संविधान संशोधनकै लागि सत्तामा गएको बताए ।
‘हामी सरकारमा गएको संविधान संशोधन गर्नकै लागि हो, जुुनदिन हामीलाई विश्वास हुन्छ, अब संविधान संशोधन हुनेवाला जनताको हितमा काम हुनेवाला छैन,हाम्रा लागि सडक भन्ने कुरा अझै बाँकी छँदैछ, त्यो आदत चाहिँ छँदैछ ।’
यादवले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी ओली र प्रचण्डले संविधान संशोधनको विषयमा हस्ताक्षर समेत गरेको बताए ।
‘हामी जुन स्वार्थमा सरकारमा गएका छौँ र कम्युनिष्ट पार्टीले दुवै अध्यक्षहरुले हस्ताक्षर गर्नुभएको कुरा जुनदिन बिर्सनुहुन्छ, संविधान संशोधन हुन्न भन्ने कुरा हामीलाई यकिन हुन्छ, त्यो दिन हामी पार्टीबाट सडकमा तयार हुन्छौँ ।’ उनले भने ।
संविधान संशोधनको लागि केही समय पर्खिने उनको संकेत थियो । यादवले भने, ‘राजनीतिमा केही धैर्यता पनि चाहिन्छ, यसको मतलब अनन्तकालसम्म कुर्ने भन्ने पनि छैन ।’
यस्त,ै उनले संविधान संशोधन गरेर प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन् । प्रदेश सरकारको मातहतमा स्थानीय निकाय र सुरक्षा निकाय नभएको भन्दै प्रदेश सरकारलाई बलियो बनाउन र संघीयता कार्यान्वयन गर्न धैरे सुधारको आवश्यकता रहेको उनले बताए ।




