मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

यी हुन चीनले चिनेका नेपाली वैज्ञानिक

यी हुन चीनले चिनेका नेपाली वैज्ञानिक


  • चेतनाथ आचार्य
  • चैत्र १० २०७५, आइतबार

बेइजिङ, १० चैत – नेपालबाट विदेश गई उच्च शिक्षा हासिल गरेर विशेषज्ञ बनेका व्यक्तिहरु प्रायः त्यतै स्थापित हुने गर्छन्। पिएचडी सकेर वैज्ञानिक बनेका व्यक्तिहरुले विदेशमै काम गर्न थालेपछि उनीहरुको ज्ञानबाट नेपाल लाभान्वित बन्न सकेको छैन। अमेरिका अथवा युरोपबाट पिएचडी गरेर नेपाल फर्कनु भनेको जग हसाउनु हो भन्ने ठान्छन् नेपाली युवा। युरोप, अस्ट्रेलिया, अमेरिकाबाट पिएचडी गरेर नेपाल नफर्केजस्तै पछिल्लो समय चीनका राम्रा विश्वविद्यालयबाट पिएचडी गरेका थुप्रै नेपाली वैज्ञानिक चीनमै काम गर्न थालेका छन्। उनीहरु पिएचडीपछिको पोस्टडक र एसिस्टेन्ट प्रोफेसरका रुपमा चीनका विभिन्न विश्वविद्यालयमा काम गर्छन्। चीनका विश्वविद्यालयले पत्याएका त्यस्ता कामयावी वैज्ञानिकलाई नेपालले भने चिन्ने जमर्को गरेको छैन। यतिबेला चीनमा झन्डै एक दर्जन नेपाली वैज्ञानिक कार्यरत छन्। चीनमा कार्यरत नेपाली वैज्ञानिक स्वदेशमै फर्केर सेवा गर्न चाहन्छन् तर नेपाल सरकारले उचित वातावरण मिलाउन सकेको छैन। चीनमा शिक्षा लिएपछि नेपाल गएर उनीहरुले काम गर्ने प्रयास नगरेका पनि होइनन्। विडम्बना ! नेपालमा हरेक क्षेत्रमा व्याप्त राजनीतिक हस्तक्षेप र ‘आफ्नो मान्छे’ राख्ने परिपाटीले उनीहरुलाई दिक्क बनायो। अनि, उनीहरु फर्किए चिनियाँविश्वविद्यालयमा।
भौतिक भूगोलमा पिएचडी गरेका वसन्त पौडेल पनि चीनमै पोस्टडक गरिरहेका छन्। उनको अनुसन्धानको क्षेत्र चीन, नेपाल र भारतको कोसीबेसिन क्षेत्रमा खेतीयोग्य जग्गामा बढ्दो बाँझोपनका कारण हुन्। जमिनमा बाँझोपन बढ्ने कारण र यसलाई नियन्त्रण गर्न सरकारले केकस्तो नीति ल्याउनुपर्छ भन्ने विषयमा पनि उनको अनुसन्धानकेन्द्रित छ। आफ्नो अनुसन्धानबारे उनले भने, ‘नेपालमा जग्गा बाँझो रहनुका केही मूलभूत कारण छन्। पहिलो कारण सामाजिक आर्थिक कारण हो। युवापुस्ता विदेश पलायन हुने क्रमसँगै जग्गा बाँझो हुन थालेको छ। दोस्रो कारण सिँचाइको अभाव र खेती गर्नेतिर मान्छेको इच्छा नहुनु रहेको छ। त्यसैगरी तेस्रो कारणमा जलवायु परिवर्तन र वातावरण प्रदूषण रहेको छ।’ पौडेलको अनुसन्धानले वर्तमान नेपाल सरकारको लक्ष्य समृद्ध नेपाल सुखी नेपाली भेट्नका लागि पनि सघाउ पु¥याउन सक्छ। तसर्थ, उनले केही समयपछि नेपाल सरकारका नीति निर्माताहरुलाई आफ्नो अनुसन्धानबाट प्राप्त नजिताको व्याख्या गर्ने कार्यक्रम बनाएका छन्। नेपालमा कृषि क्षेत्रलाई सुधार गर्ने हो भने विदेशबाट आयात पनि कम हुने र असन्तुलित व्यापारलाई केही हदसम्म सन्तुलित बनाउन सकिने पौडेल बताउँछन्।
नेपालका लागि अत्यन्त काम लाग्ने विषयको खोज तथा अनुसन्धान उनी चीनमै बसेर गरिरहेका छन्। उनी पनि उपयुक्त अवसर पाएमा नेपालमै फर्केर आफ्नो ज्ञानको सदुपयोग गर्न चाहन्छन्। नेपालमा विश्व विद्यालयबाहेक इसिमोड, आइयुसिएन, डब्लुडब्लुएफ, जाइका, युएनडिपी, जस्ता अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र परियोजनामा यस प्रकारका वैज्ञानिकको ज्ञान प्रयोग हुनसक्छ। तर नेपालमा विज्ञापन खुलाउनुभन्दा पहिले ‘आफ्नो मान्छे’ खोजिन्छ र ‘आफ्नो मान्छे’ को योग्यताअनुसार विज्ञापन आह्वान गरिन्छ। त्यस्तै बेइजिङबाट वातावरणशास्त्रमा पिएचडी गरेर चीनकै लान्चौबाट दुई वर्षको पोस्टडक गरी हाल लान्चौमै एसिस्टेन्ट प्रोफेसरका रुपमा कार्यरत लेखेन्द्र त्रिपाठी पनि नेपालमा काम गर्ने उपयुक्त अवसर पर्खेर बसेका छन्। उनी पछिल्लो समय नेपालको वायु प्रदूषणले तिब्बतमा पु¥याएको असरबारे अनुसन्धानरत छन्। नेपालबाट तिब्बतमा प्रदूषण जान थालेपछि चीनले नेपालको वातावरणमा अनुसन्धान गर्न चासो देखाएको त्रिपाठी बताउँछन्। उनी यही विषयमा चीनमा खोज अनुसन्धान गर्न व्यस्त छन्। त्रिपाठीले चीनबाट पिचएडी गर्नासाथ तीन वर्ष पहिले नेपाल फर्केर काम गर्ने इच्छा देखाएका थिए। सोही समयमा नास्टले ‘फर्क वैज्ञानिक फर्क तिमीलाई चाहन्छ नेपाल’ नारा ल्याएको थियो। उनले आवेदन दिए। प्रारम्भिक छनोटमा पनि परे तर पछि नास्टले खबर नगरेपछि उनी चीनमै पोस्टडक गर्न थाले।
त्रिपाठीकी श्रीमती प्रकृति शर्मा पनि हावामा ‘वायोलोजिकल फ्याक्टर’ विषयमा बेइजिङबाट पिएचडी गरेर हाल लान्चौमै पोस्टडक गरिरहेकी छिन्। शर्मा आफूले पढेको विषयमा अनुसन्धान गर्ने प्रयोगशाला नेपालमा भरखरै स्थापना भएको बताउँदै भन्छिन् ‘केही प्रयोगशाला निजी क्षेत्रबाट सुरु भए पनि नास्ट र विश्वविद्यालयमा मेरो विषयले बृहत् रुपमा प्रवेश पाएका छैनन्।’ पिएचडी सकेर तुरुन्तै नेपाल फर्कने इच्छा भए पनि आफूले काम पाउने ठाउँनै नभएकाले चीनमै पोस्टडक गरेर क्षमतावृद्धितिर लागेको उनले बताइन्। भूगर्भ विज्ञानमा बेइजिङबाट पिएचडी सकेर हाल पोस्टडक गरिरहेका भूपति न्यौपानेले पनि नेपालमा कोइलाको सम्भावनामा गहन अनुसन्धान गरेका छन्। उनले पाल्पा र दाङ जिल्लामा कोइलाको अनुसन्धान गरी केही नयाँतथ्य पत्ता लगाएका छन्। नेपालको कोइला सामान्य रुपमा प्रयोग भइरहेको छ। तर न्यौपानेले ती कोइलालाई चीनका उच्चस्तरीय प्रयोगशालाबाट परीक्षण गरेर कोइलामा भएका विभिन्न तत्वको अन्वेषण गरेका छन। ‘नेपालको कोइलामा धेरै महŒवपूर्ण तत्व पाइन्छन्। ती तत्वका आधारमा नेपालको पाल्पा र दाङमा उच्चस्तरका कोइला पाइन्छन्। ती कोइलाबाट अन्य महँगा वस्तु बनाउन सकिन्छ,’ न्यौपाने भन्छन्, ‘यसबारे अझै गहन अनुसन्धान र खोजको आवश्यक छ।’
न्यौपानेका अनुसार नेपालको दैलेख र सुर्खेतमा ग्यास भण्डार छ। त्यसलाई उत्खनन गर्न सके स्थानीयले सुलभ ऊर्जा प्राप्त गर्न सक्ने उनी बताउँछन्। दैलेखमा जस्तै नेपालका अन्य थुप्रै ठाउँमा ग्यास तथा पेट्रोलियम पदार्थको खानी भएको समाचार समयसमयमा सार्वजनिक भएका छन्। नेपालको भूगर्भक्षेत्रमा नेपालमै बसेर काम गर्ने इच्छा राखेको बताउने न्यौपाने पनि अवसर नपाउँदा चीनमा काम गर्नुपरेको गुनासो गर्छन्। न्यौपाने जस्ता वैज्ञानिकलाई चिनियाँविश्वविद्यालयले अनुसन्धानमा लगाएर थुप्रै प्रतिफल प्राप्त गरिसकेका छन्। पिएचडीपछि अहिले उनले हिमालय क्षेत्रमा भूकम्पको अवस्थाबारे अनुसन्धान गरिरहेका छन्। बेइजिङकै चाइनिज एकेडेमी अफ साइन्सेसबाट सन् २०१५ मा वनस्पतिशास्त्रमा पिएचडी सकेका नवल श्रेष्ठ हाल पेकिङ विश्वविद्यालयमा कार्यरत छन्। उनले पिएचडीको अनुसन्धानमा तीन नयाँप्रजातिका उन्यु पत्ता लगाएका छन्। पेकिङ विश्वविद्यालयमा पोस्टडक गर्ने श्रेष्ठ पहिलो नेपाली पनि हुन्। पोस्टडकमा उनले गुराँसको विषयमा अनुसन्धान गरेका छन्। विश्वमा अफ्रिका र दक्षिण अमेरिका बाहेक अन्यत्र सबैतिर गुराँस पाइने उनी बताउँछन्। विश्वमा एक हजार प्रजातिका गुराँस पाइन्छन्, जसमध्ये ६ सय प्रजातिका गुराँस चीनमा पाइन्छन् भने नेपालमा ३२ प्रजातिका मात्र पाइने श्रेष्ठ बताउँछन्। ३२ प्रजातिमध्ये २ प्रजातिका गुराँसचाहिँनेपालमा मात्र पाइने उनले बताए।
बेइजिङबाटै पिएचडी सकेका विपिनकुमार आचार्य क्वाङचौको सनयातसेन विश्वविद्यालयमा ‘इन्भायरोमेन्टल हेल्थ रिमोट सेन्सिङ’ विषयमा विशेषज्ञका रुपमा काम गरिरहेका छन्। यसभित्र पनि उनको खास विषयचाहिँसंक्रमित रोगको भूगोल हो। उनले नेपालमा काम गर्ने इच्छा पनि देखाएका छन्। तर नेपालमा उनको जस्तो ज्ञानलाई सदुपयोग गर्ने संयन्त्रै बनेको छैन। चीनमा पढेर वैज्ञानिक भएका आचार्य अहिले चीनमै आफ्नो ज्ञानको सदुपयोग गरिरहेका छन्। बेइजिङबाटै प्राकृतिक स्रोत व्यवस्थापनमा पिएचडी गरेका ध्रुवविजय जिसीले चीनमै वनस्पति इकोलोजीमा पोस्टडक गरिरहेका छन्। उनकी श्रीमती ज्योति भण्डारीले पनि घाँसेमैदान इकोलोजीमा पिएचडी गरी सोही विषयमा पोस्टडक गर्दैछिन्। उनीहरु दुवैजना अहिले चीनको क्वैचो प्रान्तको विश्वविद्यालयमा कार्यरत् छन्।
यसैगरी बेइजिङबाटै पिएचडी गरेका दिपेश रुपाखेती पनि लान्चौमा वातावरणशास्त्रमा पोस्टडक गरिरहेका छन्। बेइजिङमै पोस्टडक गर्ने अन्य वैज्ञानिकमा शालिकराम सिग्देल पनि हुन्। वनस्पतिशास्त्रमा ‘ट्रिलाइन’ मा पिएचडी गरेका उनी अहिले वनस्पति इकोलोजीमा पोस्टडक गदैंछन्। उनले नेपालका विभिन्न क्षेत्रका वनस्पतिको अनुसन्धान गरेका छन्। विशेषगरी जलवायु परिवर्तनबाट वनस्पतिमा कस्तो प्रभाव पर्छ भन्ने कुरामा उनीसँग गहन ज्ञान छ। कुनै बेला चीनमा पढ्न नाक खुम्च्याउने नेपालीका लागि यतिबेला चीन आकर्षणको केन्द्र बनेको छ। विगत केही वर्षदेखि नेपाली विद्यार्थीले पिएचडीमा चीनमा उत्कृष्ट नतिजा प्राप्त गर्दै आएका छन्। चीनमा बिकेका यी नेपाली वैज्ञानिकलाई घरमै अवसर दिन सके नेपालले उनीहरूबाट राम्रो उपलब्धि प्राप्त गर्न सक्छ।
नेपालमा उपयुक्त वातावरण छैन : डा. डिबी कट्टेल
सन् २०१२ मा चीनबाटै पिएचडी गरेका डिबी कट्टेलले जर्मनीबाट पोस्टडक गरे। एक वर्ष जर्मनीमा पोस्टडक गरेका कट्टेलले सन् २०१३ देखि २०१६ सम्म पाकिस्तानमा विदेशी प्रोफेसरका रुपमा काम गरे। सन् २०१६ देखि उनी पिफी फेलोसिपअन्तर्गत चाइनिज एकेडेमी अफ साइन्सेस (क्यास) मा सहप्राध्यापक छन्। उनलाई उच्चस्तरीय अनुसन्धान वैज्ञानिकका रुपमा विश्वविद्यालयले नियुक्त गरेको छ। उनले भुटानदेखि पाकिस्तानसम्मको हिमालय क्षेत्रमा जलवायु क्षेत्रको अनुसन्धान गरिरहेका छन्।
उपयुक्त अवसर र वातावरण भए नेपालमै बसेर आफ्नो क्षमता सदुपयोग गर्ने चाहना कट्टेलसँग पनि छ। नेपालमा अनुसन्धानका थुप्रै भर्जिन क्षेत्र छन् तर अनुसन्धान गर्न उपयुक्त पूर्वाधार र स्रोतसाधनको कमी रहेको उनी बताउँछन्। उनका अनुसार नेपालमा बसेर अनुसन्धान गर्दा आर्थिक सहयोग कसले गर्ने भन्ने मुख्य प्रश्न खडा हुन्छ। वैज्ञानिकले अनुसन्धान गर्न विभिन्न फिल्डमा जानुपर्ने, सहयोगी लिनुपर्ने, अन्तर्राष्ट्रिय जर्नलमा अनुसन्धान रिपोर्ट प्रकाशन गरेर त्यसको सत्यतथ्य मापन गर्नुपर्ने, एउटै विषयमा महिनौदेखि वर्षौंसम्म खोज गर्नुपर्ने, उच्चस्तरीय प्रयोगशाला हुनुपर्ने हुन्छ। नेपालमा यस प्रकारको वैज्ञानिक खोजअनुसन्धान गर्न न आर्थिक स्रोत छ न उच्चस्तरीय प्रयोगशालाको व्यवस्था नै।
तसर्थ, विदेशमा उच्च शिक्षा हासिल गरेका वैज्ञानिकलाई नेपालमै बसेर काम गर्न सरकारले ठूलो लगानी गर्नुपर्ने कट्टेल बताउँछन्। त्यतिमात्र होइन, वैज्ञानिकले आफ्नो अनुसन्धान नतिजालाई अन्य वैज्ञानिकसम्म पु¥याउन अन्तर्राष्ट्रिय वैज्ञानिक सेमिनार, सम्मेलन, वर्कसपलगायत कुरा पनि आउँछन्। यस प्रकारका एक्सपोजर कार्यक्रममा भाग लिन विभिन्न देशको यात्रा गर्नुपर्छ र यात्रा शुल्क पनि निकै महँगो पर्छ। आफ्नो देशमा काम गर्ने रहर हुँदाहुँदै विदेशमा बसेर काम गर्नुपरेको कारण खुलाउँदै कट्टेल भन्छन्, ‘वैज्ञानिकले जहाँबसेर काम गरे पनि दिमाग उही हो। तर त्यसका लागि उचित वातावरण हुनुपर्छ, पूर्वाधार हुनुपर्छ र प्रोत्साहन पनि हुनुपर्छ।’
त्रिविले कट्टेल जस्ता वैज्ञानिकलाई नियुक्त गरिहाले पनि नेपालमा पढाउनेबाहेक अन्य काम छैन। उनले सिकेको ज्ञान प्राप्त गर्न विश्वका अन्य विश्वविद्यालयमा १० प्रतिशतजति सैद्धान्तिक कक्षा दिइन्न्छ। बाँकी ९० प्रतिशत काम कि ल्याबमा हुन्छ कि फिल्डमा। सैद्धान्तिक ज्ञान चाहिँदैनचाहिने होइन त्यसको महत्व छ तर त्यो ज्ञानसँगै अनुसन्धानको पाटो मुख्य हुने गर्छ। नेपालमा लेक्चर विधि मात्र प्रयोग गरिने भएकाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खालका वैज्ञानिक उत्पादन हुन सकेका छैनन्। नागरिक

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->