बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीका दुई स्थानीय तहमा सीमा विवाद

म्याग्दीका दुई स्थानीय तहमा सीमा विवाद

सीमा विवादका कारण गाउँमा विकास गतिविधि प्रभावित हुनुका साथै सामाजिक द्वन्द्व सिर्जना भएको छ ।


  • Dhorpatan News
  • चैत्र ११ २०७५, सोमबार

म्याग्दी, ११ चैत – जिल्लाको बेनी नगरपालिका-१० पात्लेखेत र रघुगंगा गाउँपालिका-५ झिँका बासिन्दाबीच सीमा विवाद बढेको छ । सीमा क्षेत्रमा पर्ने रघुगंगा र बराह पंग्रेनी सामुदायिक वन तथा हिलाको भूगोललाई दुवै वडाका जनप्रतिनिधि र बासिन्दाले आफ्नो क्षेत्रमा भएको दाबी गर्न थालेपछि विवाद बढेको हो । सीमा विवादका कारण सामुदायिक वनको घाँस, दाउरा, काठ उपयोग र सीमा क्षेत्रमा पर्ने हिला गाउँमा विकास गतिविधि प्रभावित हुनुका साथै सामाजिक द्वन्द्व सिर्जना भएको छ ।
झिँका बासिन्दाले डेङग्रेखोला र पात्लेखेतले घट्टेखोलालाई आफूहरुको सिमाना भएको दाबी गरेका छन् । रघुगंगा-५ का वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाले साविक झिँ गाविसको ९ नम्बर वडामा पर्ने हिला क्षेत्रलाई पात्लेखेतले दाबी गरेको, सीमा क्षेत्रमा रहेका सामुदायिक वनको उपभोग र आम्दानी वितरणमा पात्लेखेतका बासिन्दाले एकलौटी गरेका कारण विवाद भएको बताए । ‘नापी विभागको नक्सा, साविकको वडा, सीमा क्षेत्रका बासिन्दाको जग्गाधनी पुर्जा लगायत कागजातका आधारमा झिँको सिमाना डेङ्ग्रेखोला हो’, वडा अध्यक्ष शेरपुञ्जाले भने, ‘पात्लेखेतले दाबी गरेको हिला झिँको साविक ९ नम्बर वडामा पर्छ ।’
हिला गाउँमा करिब ३० घरधुरीको बसोबास छ । हिलामा केही वर्षयता पात्लेखेतका बासिन्दाले घरजग्गा किन्ने र घर बनाउने क्रम बढेको छ । पात्लेखेतका वडा अध्यक्ष लोकबहादुर पुनले २०३५ सालमा नापी भएपछि २०३६ मा तत्कालिन घतान र झिँ गाउँ पञ्चायतको बीच भागलाई छुट्टाएर बनाइएको पात्लेखेतको जग्गाधनी पुर्जामा अभिलेख नभएको र २०५५ मा दुई गाउँका जनप्रतिनिधिबीच भएको सहमतिका आधारमा घट्टेखोला सीमा भएको बताउँछन् ।
२० वर्षअघि समाधान भइसकेको विवाद अहिले पुन बल्झाउन खोजिएको पुन बताउँछन् । सीमा विवाद समाधानका लागि सोमबार दुइटै स्थानीय तह र वडाका जनप्रतिनिधि, सुरक्षा अधिकारी, नापीका कर्मचारीको टोलीले स्थलगत अध्ययन र स्थानीयबासीहरुको प्रतिक्रिया लिएको छ । जिसस प्रमुख देवेन्द्रबहादुर केसी, प्रजीअ लीलाधर अधिकारी, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, बेनपाकी उपमेयर सञ्जु बरुवाल, प्रहरी नायव उपरीक्षक महेन्द्र मरासिनी, नापी अधिकृत सहदेव सुवेदीसहितको टोलीले विवादित क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । नापी विभागको आधिकारिक नक्सा, पुराना कागजात, सहमतिका दस्तावेज लगायत प्रमाण जुटाएर दुवै वडाका जनप्रतिनिधिसँग संयुक्त बैठक बसेर विवाद समाधानको पहल गरिने नगर उपप्रमुख बरुवालले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->