पर्वत,१२ चैत -गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकास निर्माणका आधार तयार भैसकेको हुदा अबको विकास निर्माणले गति लिने बताएका छन् । प्रदेशको समृद्धिका लागि सरकारले अब धमाधम काम गर्ने गुरुङले बताए । समस्याका कारण पहिलो वर्षमा नागरिकले अपेक्षा गरेअनुसारको काम गर्न नसकेको बताउदै मुख्यमन्त्री गुरुङले अब द्रुत विकासको मोडेलमा अघि बढ्ने जनाए ।
मंगलबार पर्वतको कुश्मामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले मुलुकको विकास निर्माणमा अवरोध पुर्याउने र राज्यको सम्पत्तिमा क्षति पुर्याउने जस्ता अराजक गतिविधि त्यागेर वार्तामा आउन विप्लव समूहलाई आह्वान गरे। नेकपा गण्डकी प्रदेशका इञ्चार्जसमेत भएका मुख्यमन्त्री गुरुङले चैत महिनाभित्रै पार्टीका सबै तहको एकता टुङ्गिने बताए । पार्टी अध्यक्ष प्रचण्ड स्वदेश फर्किएपछि पार्टी एकता टुङ्गिने जानकारी दिए ।




