काठमाडौं, १४ चैत – नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा भएको सशस्त्र युद्धबारे अमेरिकामा रहेको भ्रम निवारण भएको बताएका छन्। पत्नी सीता दाहालको उपचारपछि स्वदेश फर्किएका प्रचण्डले बिहीबार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन्। भ्रमणका क्रममा नेपालका लागि पूर्वअमेरिकी राजदूत, अमेरिकी सरकारका विशिष्ट कर्मचारी र अमेरिकामा रहेका नेकपाका नेता–कार्यकर्तासँग पनि राम्रो कुराकानी भएको प्रचण्डको भनाइ छ। ‘अब नेपालको सशस्त्र युद्धबारे अमेरिकामा रहेको भ्रम निवारण भएको छ’, प्रचण्डले भने।
‘म जहाजमै रहेको बेला मेराविरुद्ध मेरील्याण्डमा उजुरी परेको परेछ’ द्वन्द्वकालीन घटनाका विषयलाई लिएर नेपाली मूलका अमेरिकी नागरिक तिलक श्रेष्ठले दिएको उजुरीबारे स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले भने, ‘तर, मलाई जानकारी दिइएन। एयरपोर्टमा पुग्ने बित्तिकै मलाई भूमिगत रुपमै गन्तव्यसम्म पुर्याउने व्यवस्था गरिएको रहेछ। मैले पछि थाहा पाएँ।’ अध्यक्ष प्रचण्डले अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की लगायतका नेपालीले आफूलाई केही नहोस् भनेर सावधानी अपनाएको बताए। ‘राजदूत लगायतका साथीले नै त्यो व्यवस्था गर्नुभएको रहेछ। उहाँहरुमा प्रचण्डलाई केही हुन्छ कि भन्ने चिन्ता रहेछ’, प्रचण्डले भने, ‘हुनेवाला केही पनि थिएन। अमेरिकाले मेराबारे पहिले नै ‘नो इन्भेष्टिगेशन’ जारी गरिसकेको थियो।’
अमेरिका बसाइका क्रममा नेपाली समुदायसँग सघन कुराकानी भएको अध्यक्ष प्रचण्डले बताए। उनले भने, ‘उपचारको काम सकिएपछि अमेरिका बस्ने नेपालीसँग राम्रो कुराकानी भयो। नेपालका बारेमा, २ देशको सम्बन्धका बारेमा सकारात्मक कुराकानी भयो।’ प्रचण्डले नेपाल र अमेरिकाबीच उच्च राजनीतिक तहमा वार्ता गर्नेबारे सैद्धान्तिक समझदारी भएकोसमेत जानकारी गराएका छन्। आफू स्वदेश फर्किएपछि अब पार्टी एकताको कामले गति लिने उनले दाबी गरे। ‘म अमेरिका नगएको भए यतिञ्जेल पार्टी एकता टुंगोमा पुग्थ्यो’, उनले भने, ‘अब हामी पार्टी एकतालाई गति दिन्छौं। केही दिनमा एकता प्रक्रिया टुंगिन्छ।’
पत्रकारसँग प्रचण्डले सीताको स्वास्थ्यमा सुधार भएको बताए। ‘सीताको स्वास्थ्यमा सुधार आएको छ। जर्ज क्राउन हस्पिटलको प्रयासले हामी धेरै नै आशावादी भएका छौं’, प्रचण्डले भने, ‘उपचारको प्रक्रिया सकेर म नेपाल फर्किएको छु।’ ‘अमेरिकाका तीन ठाउँमा अनुसन्धान र उपचारको काम भयो। सीताको स्वास्थ्यको खास समस्या के हो ? भन्नेबारे डाक्टर मात्र होइन, चिकित्सा क्षेत्रका वैज्ञानिकले पनि अनुसन्धान गरे’, प्रचण्डले भने, ‘उनको समस्या पहिल्यै सिङ्गापुरमा गरिएको अनुसन्धानको विकसित रुप नै रहेछ।’
अध्यक्ष प्रचण्डले सीताको शरीर र मस्तिष्कलाई फूर्तिलो बनाउने यन्त्र र औषधि लिएर आफूहरु फर्किएको बताए। ‘डाक्टरले नयाँ औषधि दिएका छन्’, प्रचण्डले भने, ‘यो रोगलाई पिएसपी भनिँदो रहेछ। अमेरिकाका डाक्टर यसलाई क्यान्सरकै औषधिमार्फत् उपचार गर्न सकिनेबारे अन्तिम परीक्षणमा रहेछन्।’ सीताको उपचारमा उक्त औषधि चलाउन मिल्ने नमिल्ने विषयमा मे महिनामा सल्लाह दिने उनको भनाइ छ।





