पोखरा, १४ चैत-पोखरा महानगरपालिका वडा नम्वर २३ का ज्येष्ठ नागरिकको लागि निशुल्क स्वाथ्य शिविरसंचालन गरेको छ । पोखरा महानगर स्वास्थ्य महाशाखाले बिहिवार वडा नं २३ ठुलाखेतमा सो शिबिर संचालन गरेको हो । शिविरको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले ज्येष्ठ नागरिकको स्वास्थ्यमा महानगर गम्भिर रहेको बताइन् । महानगरभित्रका ज्येष्ठ नागरिकलाई निशुल्क घुम्ती शिविर सञ्चालन गरिएको बताइन् । उनले ज्येष्ठ नागरिकले आफ्नो स्वास्थ्यमा चाँसो राख्नुपर्ने बताइन् । उपमेयर गुरुङले परिवारले जेष्ठनागरिकका हेरविचारमा ध्यान दिनुपर्नेमा जोड दिइन् । उनले महानगरपालिकाले ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर सामाजिक सुरक्षा भत्तामा बृद्धि गरेको बताइन् ।
आफु बिजयी भएर आएकै दिन ज्येष्ठ नागरिकलाई दुई सय रुपैयाँ बृद्धि गर्ने निर्णय गरेर महानगरका १३ हजार ज्येष्ठ नागरिकले २२ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् । यो उहाँहरुप्रति गरेको सम्मान हो । उनले नागरिकको स्वास्थ्यमा सरकार गम्भिर रहेका कारण आठ वटा गम्भिर प्रकृतिका रोग लागेका व्यक्तिहरुलाई महानगरको सिफारिसको आधारमा १ लाख रुपैयाँ सम्मको निशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिइन् ।
क्यान्सर, मुटु, हेडइन्जुरी, मृगौला लगायतका विरामीलाई १ लाख सम्मको निशुल्क उपचारको व्यवस्था रहेको बताउदै उनले भनिन,‘मृगौला फेनर्’पर्ने अवस्था विरामीलाई चार लाख रुपैयाँ सम्मको निशुल्क उपचारको व्यवस्था छ । ज्येष्ठ नागरिक बोझ नभएर घर र समाजका गहना भएको बताइन्। शिविर उद्घाटन कार्यक्रम वडा नम्वर २३ का कार्यबाहक वडाध्यक्ष भरतराज भण्डारीको अध्यक्षतामा भएको थियो । शिविरमा १८८ जना ज्येष्ठ नागरिकको आँखा, सुगर र जनल रोगहरुको जाँच गरिएको महानगर स्वास्थ्य महाशाखाले जनाएको छ । शिविरमा स्वास्थ्य परिक्षणपछि ज्येष्ठ नागरिकलाई औषधि निशुल्क उपलब्ध गराइएको थियो ।





