शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

धर्म निरपेक्षता र हिन्दुराष्ट्रका लागि जनमत सङ्ग्रह : गौचन

धर्म निरपेक्षता र हिन्दुराष्ट्रका लागि जनमत सङ्ग्रह : गौचन


  • धु्रबसागर शर्मा
  • चैत्र १७ २०७५, आइतबार

म्याग्दी, १७ चैत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय उपाध्यक्ष भीमप्रसाद गौचनले नेपालमा धर्म निरपेक्षता र हिन्दुराष्टका लागि जनमत संग्रह हुनुपर्ने बताएका छन् । राप्रपा जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा गौचनको गृहजिल्ला म्याग्दीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गौचनले यस्तो बताएका हुन् । पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राज्यमन्त्री तथा राप्रपाका मनोनित केन्द्रीय उपाध्यक्ष गौचनले सङ्घीयताले जनतामा आर्थिक भार बढाएको बताए ।
उनले देशमा महङ्गी तथा भ्रष्टाचार बढेको, शान्तिसुरक्षा नभएको र बाह्य हस्तक्षेप बढेकाले राप्रपाले आन्दोलनको थालनी गरेको बताउँदै दुई तिहाइको सरकार आएपछि तराई छुट्टै देशका रुपमा उदाएको जस्ता आवाज सुनिएको बताएका छन् । उनले नेपाल पनि सिक्कीमीकरणमा जान लागेको बताउँदै कुनै पनि देशलाई विभाजनमा लैजानुपूर्व त्यहाँ धर्म नष्ट गराउने र राष्ट्रियता कमजोर बनाउने खेल हुने भन्दै नेपालमा धर्मनिरपेक्षता र हिन्दुराष्ट्रका विषयमा जनमत सङ्ग्रह हुनुपर्ने माग गरे ।
उनले सबै धर्मप्रति समान धारणा रहेको भन्दै कुनै पनि प्रलोभनमा पारेर धर्म नै परिवर्तन गराउने खेल राप्रपालाई मान्य नहुने चेतावनी दिए । सरकारले सिके राउतसँग गरेको सहमतिलाई सतर्कतापूर्वक समर्थन गरिएको बताउँदै विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाउनु गलत भएको उनले आरोप लगाए । उपाध्यक्ष गौचनले विप्लवमाथि प्रतिबन्ध लगाउनुभन्दा पनि राजनीतिक तवरबाटै समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले देशभित्रै विनियोजन भएको बजेटको पूर्ण रुपमा कार्यान्वयन हुन नसकिरहेको अवस्थामा हालै सकारले आयोजना गरेको अन्तर्राष्ट्रिय लगानी सम्मेलन ‘नाटक’ भएको टिप्पणी गरे । स्थानीय सरकारको गतिविधि र कामकार्वाही अत्यन्तै फितलो भएको हुँदा त्यसमाथि अब राप्रपाले दह्रो प्रतिपक्षको भूमिका प्रदर्शन गर्ने उनको भनाइ छ ।
गएको फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले १५ गते पूर्वको तेह्रथुमबाट हिन्दु जनजागरण तथा मेची–महाकाली स्वाभिमान यात्रा सुरु गरेको थियो । यसैगरी चैत १ गते काठमाडौंमा पहिलो चरणको कार्यक्रमको समापन, १२ देखि १६ सम्म २२ बुँदे कार्यक्रमको प्रचारप्रसार, चैत १७ गतेदेखि २३ गतेसम्म हिन्दुराष्ट्र पुनस्र्थापनाका लागि हस्ताक्षर सङ्कलन, २८ गते स्थानीय तहमा धर्ना, बैशाख ५ गते धर्मनिरपेक्षता लेखिएका व्यानर तथा प्लेकार्ड जलाउने र ८ गते राजमार्गमा सत्याग्रह बस्ने कार्यक्रम रहेको राप्रपाका जिल्ला अध्यक्ष विरबहादुर थापाले जानकारी दिए । सरकारले आफ्नो पार्टीले उठाएको मागको सुनुवाई नगरे तेस्रो चरणको अझै कडा आन्दोलन गर्ने उनले बताएका छन् । राप्रपा पार्टीका बिचमा पार्टी एकताको कुराकानी भैरहेको हुँदा पार्टी एकता हुने उपाध्यक्ष गौचनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->