काठमाडौं ,१८ चैत -आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । ५०० भन्दा बढी घाइते छन् । इँटा भट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढलेर करेन्ट लाग्दा धेरै मानवीय क्षति भएको हो ।
हावाहुरीले सबैभन्दा ठूलो क्षति बाराको भरवलीयामा भएको छ । राति करीब ८ बजेतिर वर्षासँगै चलेको हावाहुरीका कारण बिद्युतको पोल ढलेको थियो । यसले धेरै मानवीय क्षति गराएको छ ।
हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।ठूलो हताहती भएकाले कतिपय मृतकहरुको पहिचान हुन सकेको छैन ।
घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् । बिरामीको चापले रगतसमेत अभाव भएको छ । तराईका धेरै जिल्लाहरु हावाहुरीको चपेटामा परे पनि अन्य जिल्लाबाट भने क्षतिको खबर प्राप्त भएको छैन ।




