शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सूर्तीजन्य विधेयक‘हानिकारक छ’ भन्ने विज्ञापन ७५ प्रतिशत राख्ने कि ९० प्रतिशत

सूर्तीजन्य विधेयक‘हानिकारक छ’ भन्ने विज्ञापन ७५ प्रतिशत राख्ने कि ९० प्रतिशत


  • ढोरपाटन संवाददाता
  • चैत्र १८ २०७५, सोमबार

पोखरा,१८ चैत -‘धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ ।’ यो विज्ञापन सूर्तीजन्य पदार्थको आवरणमै चित्रसहित देख्न पाईन्छ । चुरोट, सूर्ती वा सूर्तीजन्य सबै पदार्थमा यो विज्ञापन अनिवार्य राख्नैपर्छ । यससम्बन्धिको ऐनमा पनि यो व्यवस्था छ ।
हालसम्म यी पदार्थ संघीय ऐन अनुसार नै उत्पादन तथा बिक्रीवितरण पनि हुँदै आईरहेका छन् । सूर्तीजन्य पदार्थ नियमन सम्बन्धि संघीय ऐनमा सूर्तीजन्य पदार्थको कम्तीमा ७५ प्रतिशत आवरण स्वास्थ्यका लागि हानिकारक छ भनेर नेपाली भाषामा लेख्नैपर्ने व्यवस्था गरिएको छ । तर, सो सम्बन्धिको निर्देशिकामा भने ९० प्रतिशत भन्ने व्यवस्था गरिएको छ ।
गण्डकी प्रदेशसभा सचिवालयमा अहिले छलफलमा रहेको विधेयक पनि यही हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले मस्यौदा गरेको सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मा ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश राख्नैपर्ने व्यवस्था गरिएको छ ।
ऐनमा नै यो व्यवस्था राख्न खोजिएपछि चुरोट उत्पादक कम्पनी सूर्य नेपालले २ महिना अघि प्रदेशसभाका पदाधिकारीहरुलाई भेटेर संघीय ऐन अनुसार नै व्यवस्था गर्न अनुरोध गरेको थियो ।
उक्त कम्पनीले निर्देशिका अनुसार नभई संघीय ऐनअनुसार नै प्रदेशसभाले ऐन ल्याउनुपर्ने बताएको थियो ।
२ महिनाअघि प्रदेशसभाले दफाबारीय छलफलको लागि विधायन समितिमा पठाएको यो विधेयकमाथिको छलफल अझै लम्बिने भएको छ । छलफलको मुख्य जड पनि ७५ प्रतिशत राख्ने कि ९० प्रतिशत राख्ने भन्नेमा केन्द्रित छ ।
विधेयक सम्बन्धिको प्रदेशसभाको विषयगत विधायन समितिले कानुनविज्ञसँग छलफल गर्न आवश्यक रहेको जनाएको छ । आईतबार विधायन समितिको बैठकमा सामाजिक विकास मन्त्री नरदेवी पुनमगर, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र मन्त्रालयका कानून सचिव सँग छलफल गरेको छ ।
विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले सबै ऐन, निर्देशिका, राजपत्रमा प्रकाशित कानूनहरुको अध्ययन र छलफल गरिएको बताए ।
‘यस विषयमा थप छलफल गर्न आवश्यक छ, हामीले १९ गते मुख्य न्यायधिवक्ता राजेन्द्र घिमिरे र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कानूनसचिवसँग छलफल गर्नेछौँ ।’ उनले भने, ‘छलफल लम्बिने देखिएको छ ।’
विधेयकको दफा ७, ८ र ९ मा लेवल, ट्रेडमार्क, र्यापर्स तथा प्याकिङ, उत्पादित सूर्तिजन्य पदार्थको बिक्री वितरण पूर्व त्यसमा भएको निकोटिन, हानिकारक तत्व लगायतका अन्य आवश्यक कुराको जानकारी मन्त्रालयमा दिनुपर्ने, सूर्तिजन्य पदार्थको ९० प्रतिशत भागमा स्वास्थ्यका लागि हानिकारक छ भन्ने व्योहोराको मन्त्रालयले तोकेबमोजिम चेतावनीमूलक सन्देश र सूर्तिजन्य पदार्थको सेवनको असरबाट हुने घातक, रङ्गिन चित्र प्रष्ट रुपमा बुझ्ने र देख्ने गरि नेपाली भाषामा छाप्नुपर्ने व्यवस्था गरिएको छ ।
यी दफा उल्लंघन गरे सूर्तिजन्य पदार्थ जफतसहित ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
विद्यालय पोशाक लगाई सूर्तीजन्य पदार्थ खरिद गर्न नपाईने, सूर्तिजन्य पदार्थको बिक्री वितरणका लागि छुट्टै पसल हुनुपर्ने, सम्बन्धित स्थानीय सरकारबाट स्वीकृति लिनुपर्नेजस्ता विषय पनि विधेयकमा उल्लेख छन् ।
सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएका कारण सूर्तिजन्य पदार्थ र धूम्रपानले मानव जीवनमा नकारात्मक प्रभाव पारेको हुँदा त्यसको नियन्त्रणको लागि विधेयक ल्याइएको बताइन् ।
‘कानून त पहिले पनि थियो, कार्यान्वयन ठुलो कुरा हो, मदिरा र लागुऔषधको प्रयोगले डरलाग्दो रोगको सिकार हुनुपर्ने र समाजमा आपराधिक घटनासमेत बढेको छ, यसको नियन्त्रणको लागि विधेयक ल्याएका हौँ,’ उनले भनिन्, ‘यसलाई अब कानुनले नै नियन्त्रण गर्ने हो । त्यसका लागि हामीले विधेयक ल्याएका हौँ ।’
यस विधेयकमा छलफल नै नपुेगपछि १९ गतेको प्रदेशसभा बैठक समेत स्थगित हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->