शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गुल्जार बन्दै खौलारा बजार

गुल्जार बन्दै खौलारा बजार

सडकले ल्याएको गाउँमा विकास...


  • तारानाथ आचार्य
  • चैत्र १९ २०७५, मंगलबार

बागलुङ,१९ चैत -पिँडीको डिलमा बुढ्यौली बिसाई रहेका बडिगाड गाउँपालिका–५ खौलाराका ७७ वर्षीया हिमलाल आचार्य खौलारा बजारमा भएको प्रगति देखेर छक्कै पर्छन् । विसं २०१६ मा आफूले शुरु गरेको सानो किराना पसलमा दिन दाहाडै चोरी हुँदा गुहार माग्ने मान्छे नपाएका आचार्यलाई अहिलेको खौलारामा भइरहेको बजार विस्तार देखेर औधी खुशी लाग्ने गरेको छ ।
आचार्यले खौलारामा व्यापार गर्न छोडेको केही वर्ष भयो तर उनले व्यापार गरेको ठाउँमा अहिले सयौँले व्यापार गर्दै आएका छन् । दश वर्ष पहिलासम्म पनि सामान्य किराना पसलबाहेक खौलारा बजार सुनसान जस्तै देखिन्थो । पछिल्ला केही वर्षमा भने यहाँ अग्ला पक्की घर बनेका छन्, किराना, होटल, कस्मेटिकदेखि हार्डवेयर पसलमा निकै चाप देखिने गरेको छ । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि ७५ किलोमिर दूरीमा रहेको खौलाराको बजार विस्तारका मुख्य कारण मध्यपहाडी लोकमार्ग निर्माण र बडिगाड गाउँपालिकाको केन्द्र हो ।
मध्यपहाडी लोकमार्ग नपुग्दासम्म एकदुई खरका छाप्राहरु रहेको बडिगाडको खौलारामा पछिल्लो समय सडककै कारण बजार विस्तार हुँदै गएको आचार्य बताउँछन् । पूर्वपश्चिम मध्यपहाडी लोकमार्गले बीच भागबाटै चिरेर गएपछि यहाँ बस्ती बस्न थालेको र बजारको रूपमा विकास हुँदै गएको हो । खौलारामा बजार मात्रै विकास भइरहेको छैन यहाँका होटल तथा रेष्टुराँहरुमा ग्राहकको चाप पनि त्यतिकै छ । अन्य व्यापारीहरुलाई पनि फुर्सद छैन ।
खाने बस्ने व्यवस्थासहितको होटल सञ्चालन गरिरहेका ज्ञानबहादुर बलालले खौलारामा होटल शुरु गरेको एक वर्ष मात्रै भयो । उनको होटलमा दिनरात फुर्सद हुँदैन । सरकारी कर्मचारी, घुम्न आउने पर्यटक र गाउँपालिकामा काम लिएर आउने गाउँलेहरुका कारण उनको व्यापार राम्रो चलेको छ ।
बलाल जस्तै ठूलो घर बनाएर व्यवसाय सञ्चालन गर्ने एक दुईवटा मात्रै होटल छन्भने साना छाप्रामा व्यापार गर्नेको संख्या दुई दर्जनको हाराहारीमा छ । ‘विकासको स्वाद खौलाराले पाएको छ, केही वर्षमा नै यहाँ भएको परिवर्तनले हामी दङ्गै परेका छौं’, बडिगाड–२ का अध्यक्ष विष्णु भुसालले भने, ‘पालिकाको केन्द्र र मध्यपहाडी लोकमार्गका कारण सुनसान ठाउँ भरिभराउ भएको छ ।’
बडिगाड खोलाको छेउमा रहेको यो ठाउँमा केही समय पहिलासम्म माानिसहरु एक्लै हिँड्नसमेत तर्सिने गरेको स्थानीय बताउँछन् । ‘पहिले यहाँ घरहरु थिएनन्, स–साना एक÷दुई वटा खरका झुपडी थिए’, स्थानीयबासी शिवलाल आचार्यले भने, ‘जब सडकले यस ठाउँ जोडियो, त्यसपछि ठूलाठूला घरहरु बन्नथाले, बस्ती विकास हुन थाल्यो र अहिले बजारको रूपमा विकास हुन थालेको छ ।’
खौलारामा भएको बजार विस्तारले बडिगाडका जलजला, अमरभूमि लगायतका कयौँ गाउँहरुलाई सहज भएको छ । आधा दर्जन बढी गाउँमा कच्ची सडकमा गुड्ने सवारीको केन्द्रसमेत बनेको छ । ‘सानो छँदा नुनतेल लिन तम्घास, बुटवल, तानसेन पुग्ने हामीहरु बुढ्यौलीमा गाउँमै शहर जस्तो देख्दा अचम्म लाग्छ’, आचार्यले भने, ‘स्याल दगुर्ने खोलाको तीरमा अहिले बजार बनेको छ ।’ केन्द्रीय प्रसारण लाइनको पहुँच नपुगेको यो बजारमा स्थानीय लघु जलविद्युत्बाट चौबिसै घण्टा बिजुली बल्छ ।
मध्यपहाडी लोकमार्ग कालोपत्रे भए यता यहाँका सर्वसाधारणले बिरामी पर्दा अस्पताल पुग्नसमेत सहज हुने गरेको बताउँछन् । मध्यपहाडी लोकमार्गहुँदै नेपालकै एकमात्र शिकार आरक्ष ढोरपाटन जाने पर्यटक र पहिरोका कारण बडिगाड खोलामा बनेको तुरतुरे ताल हेर्न जाने पर्यटकको खाने बस्ने ठाउँसमेत खौलारा बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->