
म्याग्दी, २१ चैत – महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले आर्थिक विकास र समृद्धिको लागि सहकारीहरुले उत्पादनमूलक क्षेतमा लगानी बढाउनु पर्ने बताएकी छन् । ६२ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ म्याग्दीले बुधवार बेनीमा आयोजना गरेको एक समारोहमा बोल्दै मन्त्री थापाले यस्तो बताएकी हुन् । ‘‘सहकारीहरुले बचत संकलन र ऋण लगानीलाई मात्र प्राथमिकता दिने होइन’’ मन्त्री थापाले भनिन् ‘‘राज्यको एउटा खम्बाको रुपमा रहेको सहकारी संस्थाले अव उत्पादनमूलक क्षेत्रमा पनि लगानी बढाउनु प¥यो ।’’
आफ्नो कार्यक्षेत्रमा कृषि, पशुपालन, पर्यटन, व्यवसाय लगायतको क्षेत्रको सम्भावनाको पहिचान गरि स्वरोजगारमुलक क्षेत्रमा सहकारीले लगानी केन्द्रित गर्नुपर्ने उनले बताइन् । सरकारले अघि सारेको ‘सुखी नेपाली समृद्ध नेपाल’को नारालाई साकार पार्न सहकारीको भुमिका महत्वपूर्ण हुने बताउँदै मन्त्री थापाले व्यक्ति, समूह र समाज आर्थिक रुपमा सक्षम र सबल बन्न सकेमा मात्रै मुलुकमा आर्थिक विकास सम्भब हुनेमा जोड दिइन् ।
सोही अवसरमा मन्त्री थापाले महिलाको आर्थिक स्रोतमा पहुँच बढाउन र जीविकोपार्जन सुधारका लागि म्याग्दी लगायत पिछडिएका ३० जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम सुरु गरेको जानकारी समेत गराइन् ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद विनोद केसीले कुल लगानीको तीस प्रतिशत अनिवार्य कृषि क्षेत्रमा लगानी गर्नु पर्ने सहकारी नीतिलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी, नेकपा जिल्ला संयन्त्र सदस्य टेक बहादुर विक, नेपाली काँग्रेसका सचिब क्याप्टेन मिनबहादुर कार्की, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य र नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले गरिबी र बेरोजगारिको समस्यालाई हल गर्ने गरि लगानीलाई केन्द्रित गर्न सहकारीहरुलाई सुझाब दिएका थिए । कार्यक्रम जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दीपक कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।





