नवलपुर, ७ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वी नवलपरासीमा ‘नमूना कावासोती सदरमुकाम’ को शिलान्यास गरेका छन्। जिल्ला समन्वय समितिले आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सदरमुकामको शिलान्यास गरेका हुन्।नवलपरासीबाट विभाजन भएर नयाँ जिल्ला बनेको पूर्वी नवलपरासी नेपालको कान्छो जिल्लाका रुपमा छ। नयाँ जिल्ला भएपछि त्यहाँ स्थापना भएका ३० बढी सरकारी कार्यालयहरु भाडामा सञ्चालनमा छन्। ‘नमूना कावासोती सदरमुकाम’ नाम दिइएको उक्त स्थानमा सबै सरकारी कार्यालयका भवनहरु निर्माण हुने छन्।
भवन निर्माणका लागि कावासोती नगरपालिका–३ राममन्दिर चौरको १८६ बिगाहा जग्गा उपलब्ध छ। गण्डकी प्रदेश सरकार मार्फत संघीय सरकारले उपलब्ध गराएको जग्गामा जिल्लामा रहने स्थानीय, प्रदेश र संघीय सरकारका कार्यालयहरु निर्माण हुने छन्। शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ७७ जिल्लामध्येको कान्छो जिल्लाका रुपमा रहेको पूर्वी नवलपरासीको नवलपुरलाई आफूले देशमै नमूना सदरमुकामको परिकल्पना गरेको बताए। पूर्वी नवलपरासीको नामप्रति प्रधानमन्त्री ओलीले भने,‘ पूर्व, पश्चिम र उत्तर दक्षिण भनिरहनु पर्दैन यो नवलपुर जिल्ला हो।’
एक वर्षको अवधिमा पर्यटन, कृषि, सडकदेखि भौतिक निर्माणमा उल्लेखनीय प्रगति भएको प्रधानमन्त्री ओलीको दाबी थियो। विकासका एजेन्डामा सबैको साझा सहयोग आवश्यक भएको उनको भनाइ थियो। तीन वर्षभित्र देशका दुर्गमदेखि सबै क्षेत्रमा बिजुली बल्ने उनले बताए। कावासोतीस्थित धोवादीमा रहेको फलाम खानीदेखि देशभरका सबै खानीहरुलाई व्यवस्थित गराउन लागिएको उनले बताए। सुकुम्बासी समस्या नवलपरासीबाटै सुरु भएको भन्दै जग्गा नभएका वास्तविक नागरिकहरुको पहिचान गरी व्यवस्थित गराइने प्रधानमन्त्री ओलीको भनाइ थियो।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जग्गा उपलब्ध गराएसँगै भौतिक निर्माण संरचनामा संघीय सरकारको आर्थिक सहयोग आवश्यक रहेको बताए। पोखरादेखि पूर्वी नवलपरासीको दुम्किबास र त्रिवेणीसम्म सडक निर्माणका लागि छिट्टै नै सम्भाव्यता अध्ययन सुरु हुने र डीपीआर तयार भएपछि काम सुरु हुने मुख्यमन्त्री गुरुङले बताए।
कालीगण्डकीमा तटबन्धन र कालीगण्डकी करिडोरलाई थप व्यवस्थित बनाउन लागिएको उनले बताए। गण्डकी प्रदेशले सञ्चालन गर्न लागेका ठूला योजनामा संघीय सरकारको आर्थिक सहयोग विना संभव नभएकाले मुख्यमन्त्री गुरुङले आर्थिक सहयोगका लागि प्रधानमन्त्रीको ध्यानआकर्षण गराएका थिए। जिल्ला समन्वय समितिका प्रमुख चेसराम आलेको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा पूर्वी नवलपरासीका प्रतिनिधिसभा सदस्य तिलक महतले जिल्लाका समस्याहरुको मागपत्र प्रधानमन्त्रीलाई बुझाएका थिए।
शिलान्यास कार्यक्रमपछि प्रधानमन्त्री ओली दुम्कौलीस्थित चौधरी ग्राममा रहेको शास्वतधाम मन्दिरको अवलोकन गरेका थिए। उनले शास्वतधामभित्र निर्माण गरिएको सीजी महावीर सवल केन्द्र कृतिम हात खुट्टा जडान स्थायी केन्द्रको समेत शुभारम्भ गरे। प्रधानमन्त्री ओली शास्वतधामपछि काठमाण्डौं फर्किएका छन्।





