बागलुङ,१४ जेठ – बागलुङको जैमिनी नगरपालिका भवन निर्माणका लागि स्थानिय दश जनाले निशुल्क जग्गा उपलव्ध गराउने भएका छन् । जैमिनी नगरपालिका–१ कुश्मीशेरामा दशजनाको नाममा रहेको टुक्रे जमिनलाई एकिकृत गर्दै पाँच रोपनी जग्गा नगरपालिकालाई दिने भएका हुन् ।
कुश्मीशेराका लक्ष्मी प्रसाद सापकोटा, गोपाल सापकोटा, मन कुमारी पाध्या, नेत्र आचार्य, गोपाल आचार्य, कृष्ण आचार्य, धनपति जैसी, कृष्ण अँखेली र राजु सापकोटाले पाँच रोपनी जग्गा नगरपालिकालाई दिने निणर्य भएको जैमिनी १ कुश्मीशेराका वडाअध्यक्ष भूपेन्द्र थापाले बताए । उनिहरुको नाममा रहेको झण्डै २० रोपनी जग्गालाई एकिकृत गरेर त्यसमध्येबाट पाँच रोपनी जग्गा नगरपालिका भवन निर्माणको लागि उपलव्ध गराउने निर्णय भएको हो ।
जग्गा उपलव्ध गराए बापत नगरपालिकाले जग्गा सम्याउन लाग्ने खर्च भने व्यहोर्ने भएको छ । टुक्रा टुक्रामा रहेको जग्गालाई एकिकृत गरीने र त्यो मध्येबाट पाँच रोपनी नगरको नाममा गरेपछि बाँकी जमिन उनिहरुकै प्लटिङ गरेर उनिहरुलाईनै उपलव्ध गराईने प्रमुख प्रशासकिय अधिकृत इश्वरी प्रसाद शर्माले बताए । ‘बााकी रहेको जग्गामा बाटो, पानी बिजुली लगायतका पूर्वाधार निर्माणको काममा समेत नगरपालिकाले सहयोग गर्छ’ उनले भने ‘अव नगरको आफ्नै भवन बनाउने बाटो खुलेको छ ।’ जैमिनी नगरको भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्न वडा नं १ का अध्यक्षको संयोजकत्वमा जग्गा व्यवस्थापन समिति बनेको थियो । समितिमा नगरस्तरीय राजनीतिक दलका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।
डेढ बर्षदेखी उक्त समितिले जग्गा खोजीरहेको थियो । ‘हामीले अहिले रहेको नगरको केन्द्रमानै जग्गाको व्यवस्थापन गरेका छौं’ अध्यक्ष थापाले भने ‘ठुलो हृदय बनाएर जग्गा उपलव्ध गराउने सबैप्रति आभारी छौं ।’ निशुल्क जग्गा पप्त भएपछि भवन निर्माणको काम थाल्ने नगरपालिकाले जनाएको छ । ‘अव हामी आधुनिक भवन निर्माणको लागि केन्द्र तथा प्रदेश सरकार सँग पहल गछौं’ प्रमुख प्रसाशकीय अधिकृत इश्वरी प्रसाद शर्माले भने ‘नगरकै स्रोतबाटै भएपनि साना तिना कामको थालनी भैहाल्छ ।’ आफ्नै भवनको अभावमा नगरपालिकाको कार्यालय भाडाका घरमा रहँदै आएको छ । घरभाडामा मात्रै मासिक झण्डै एक लाख भन्दा धेरै खर्च हुने गरेको छ ।





