बागलुङ, १६ जेठ – जिल्लाका पर्यटकीय क्षेत्रमा स्वदेशी र बिदेशी पर्यटक भित्राउने योजना बनाउन सरोकारवाला एकजुट भएका छन् । उनीहरुले जिल्लाको पर्यटन गुरुयोजना बनाउने तयारी भएको समेत बताए । गुरुयोजना र विभिन्न क्षेत्रको पूर्वाधार बिकासमा स्थानीय तह र बिभिन्न समितिको सहायोगको आस समेत गरेका छन् । बागलुङ पर्यटन विकास समिति र नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)को संयुक्त आयोजनामा भएको पर्यटन विकासका सम्भावना र अवसरहरु बिषयक अन्तरक्र्रियामा बागलुङलाई पर्यटनको गन्तव्य बनाउन समेत एकजुट हुनुपर्नेमा जोड दिएका छन् । बुधवार भएको कार्यक्रममा उनीहरुले बागलुङमा धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनमा पनि जोड दिए । आरक्षमा आउने सिकारी पर्यटक बढाउन सकिने र जलयात्राका लागि संभावना भएपनि उचित व्यवस्थापन र दिर्घकालिन योजनाको अभावमा पर्यटन व्यवसाय फस्टाउन नसकेको टिप्पणी गरे ।


मालढुङा हुदै म्याग्दी देखी मुस्ताङ जाने सयौं पर्यटकलाई बागलुङमा भित्रने अवसर सिर्जना गर्न नसकिएको उनीहरुको भनाई थियो । बागलुङ कालिका भगवती मन्दिरमा पछिल्लो समय आन्तरिक पर्यटकहरु बढेका छन् । तर ती पर्यटकलाई बसाल्ने अन्य योजना ल्याउन नसकेकोमा व्यवसायीले जनप्रतिनिधिको ध्यानाकर्षण समेत गराए । बागलुङमै निर्माणाधिन पञ्चकोटधाम, बलेवाकोे भैरवस्थान मन्दीर, बिहुकोट, लगायतका क्षेत्रलाई पर्यटकहरुको नजरमा पार्न उनीहरुले जनप्रतिनिधिलाई आग्रह पनि गरे । ती क्षेत्रको बिकासका लागि बजेट बिनियोजन गर्नुपर्ने उनीहरुको आवाज थियो । ढोरपाटन सिकार आरक्षमा आउने बाहिय पर्यटकहरु हेलिकप्टरमा सिधै आरक्षणमा पुग्ने गरेकाले यसलाई परिवर्तन गर्न बिकल्प तयार गर्नुपर्ने सहभागीको जोड रहेको छ । कार्यक्रममा नाट्टा पोखराका अध्यक्ष सन्तोष पोखरेलले विदेशी पर्यटकलाई स्वदेशमा घुमाउने र आन्तरिक पर्यटकले नेपालका विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसारमा सघाउने उद्देश्यका साथ अगाडी बढेको भन्दै अबको दिनमा पोखरा र बागलुङका पर्यटन व्यवसायी तथा स्थानीय तह संग समन्वय गरी अगाडि बढ्ने बताए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल र प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जिल्लाका पर्यटकीय सम्भावना बोकेका गाउँमा होमस्टेको विकास गर्नुपर्ने बताए । मध्यपहाडी लोकमार्गको स्तरउन्नती सँगै विभिन्न ठाँउमा विकासले गति लिने उनीहरुको धारणा थियो । बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले स्थानीय सरोकारवाला निकायहरुको वेवास्ताको कारण सोचे अनुरुपमा जिल्लामा बाह्य पर्यटक भित्राउन नसकिएको बताए । बागलुङ र पोखराका व्यवसायीहरुले आ–आफ्नो धारणा तथा जिज्ञासा राखेका थिए । कार्यक्रम नाट्टा पोखराका सन्तोष पोखरेलको अध्यक्षता र महासचिव हरिराम अधिकारीको सञ्चालनमा सम्पन्न भयो ।





