शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा दानमुठीबाट ७ करोडको मन्दिर

बागलुङमा दानमुठीबाट ७ करोडको मन्दिर

प्यागोडा शैलीको यो मन्दिर पशुपति मन्दिर पछिको ठूलो भएको दाबी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २८ २०७६, मंगलबार

बागलुङ,२८ जेठ -दानमुठीबाट संकलित ७ करोड रुपैयाँ लगानी गरेर बागलुङ नगरको कुँडुलेमा एक कलात्मक मन्दिर निर्माण गरिएको छ । बागलुङ नगरपालिका वडा नं. ४ स्थित कुँडुले फेदीमा तिरुपति बालाजीको मन्दिर निर्माण गरिएको हो । प्यागोडा शैलीको यो मन्दिर पशुपति मन्दिर पछिको ठूलो भएको दाबी समेत गरिएको छ ।कलात्मक रुपमा यो मन्दिर नेपालकै पहिलो भएको निर्माण समितिका अध्यक्ष ऋषि प्रपन्नाचार्यले बताए । ‘कला र सीपको पनि संरक्षण गर्न यो मन्दिरमा हामीले ७ बर्ष लगाएर धेरै मेहेनत गरेका छौं’ प्रपन्नाचार्यले भने, ‘यो मन्दिरमा २४ हजार श्रीराम लेखिएका ढुंगा र ६ हजार क्युफिट सालका काठ प्रयोग गरिएको छ ।’ मन्दिरको चारैतिर ६४ वटा टुंडाल छन् । ती सबैमा फरक–फरक देवी देवताका मुर्ति कुँदीएका छन् । ती मुर्ति कुँद्नका लागि दक्षिण भारतदेखि कालीगढ आएका थिए । स्थानीयले पनि फरक ढंगको कला कोरेका छन् । एउटै साईजका ढुंगा काटेर सबैमा श्रीराम लेख्ने काम स्थानीयले गरेका थिए । मन्दिरको छाना तामाले छाईएको छ । पूजा गर्ने कोठाको वरिपरिको भित्तामा पित्तल लगाइएको छ । मल्लकालिन डिजाईनलाई जोगाउन यो मन्दिर निर्माण भएको मन्दिर निर्माण समितिका सदस्य सहदेव राजभण्डारीले बताए । भजनकृतनका लागि बागलुङ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका राजभण्डारीले झण्डै एक करोड रुपैयाँ खर्चेर सभाहल तथा गरुड शिला समेत बनाईदिएका छन् । सभा भवनमा झण्डै ५ सयजना बसेर कार्यक्रम गर्न सकिन्छ । उनले आफ्ना अभिभावकको स्मृतिमा सहयोग गरेको बताए । स्थानीयले समेत दान दिएकै भरमा यहाँ झण्डै १ सय बटुक पढ्ने विद्याश्रम पनि संचालित छ । यो विद्याश्रममा माध्यामिक तहको संस्कृत र कर्मकाण्डको पढाई गर्ने व्यवस्था छ । यो मन्दिरदेखि पञ्चकोटसम्म पदमार्ग निर्माणको योजना पनि छ । सबै योजना सफल हुँदा सायौं पर्यटक भित्राउन सकिने स्थानीयको योजना छ । ‘बन्दै गरेका पूर्वाधारले धार्मिक पर्यटकको गन्तव्य बनाउन सकिन्छ भन्ने लागेको छ’ गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले भने, ‘यहाँको पूर्वाधार निर्माणमा मन्त्रालयले पनि सहयोग गर्छ ।’ पर्यटक भित्राउन गरिएको पहलमा सरकार सहयोगी बन्ने उनले बताए । प्रपन्नाचार्यले पनि पर्यटकीय गन्तव्य बनाएर जिल्लाको पहिचान बढाउन लागेकोले सहयोगी बढ्ने विश्वास गरे । यहाँबाट १ घण्टाको पदमार्गबाट पञ्चकोट पुग्न सकिन्छ । पञ्चकोटमा संसारकै अग्लो कलस बनाउने योजना छ । उक्त योजना पुरा गर्न आवस्यक पूर्वाधार निर्माणको काम भैरहेको छ । आवस्यक पूर्वाधार बनिसक्न केही बर्ष लाग्नेछ । बनेका सम्पदा र पूर्वाधारको संरक्षण गर्दा आर्थिक समृद्धिमा पुग्न सकिने बागलुङ नगरपालिका वडा नं. ६ का अध्यक्ष खेमप्रसाद सापकोटाले बताए । यो मन्दिर र पञ्चकोटसम्म पुग्नका लागि नगरपालिकाले सडक ढलान र कालोपत्रे गरेको छ । सहज यात्रा गर्न सकिएकोले दैनिक दर्शन गर्न जानेको भीड लाग्ने गर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->