तमान,३० जेठ – तमानखोला गाँउपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले स्वास्थ्य क्षेत्र अत्यन्तै संवेदनशिल रहेको भन्दै जनताले स्वास्थ्य संस्थाबाट प्राप्त गर्ने सेवा सुविधालाई प्रभावकारि र गुणस्तरिय बनाउन गाँउपालिका प्रयत्नशिल रहेको बताए । तमान स्वास्थ्यचौकी तमानखोला गाँउपालिका – ३ तमानको सामाजिक परिक्षण कार्यको सार्वजनिकीकरण आम भेलामा बोल्दै अध्यक्ष बुढाले स्थानिय तहको सरकार निर्माण भएपछि यस पालिकामा स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको उनले वताए ।
स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई जनताप्रति उत्तरदायी र नम्र व्यवहार गर्न सुझाव समेत दिनुभएको छ । अध्यक्ष बुढाले निकट भविष्यमा तमानखोला गाउॅपालिका भित्रका सबै स्वास्थ्य चौकीहरुमा ल्याव र एक्स रे सेवा थप गर्ने योजना तय गरिएको र त्यसको लागि आवश्यक गृहकार्य भईरहेको जानकारी दिए । सामाजिक परिक्षण कार्यको पहिलो चरणमा तमान स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिसँग अन्तरकृया, दोस्रो चरणमा स्वास्थ्यकर्मीहरु सँगको अन्तरकृया, तेस्रो चरणमा स्वास्थ्य आमा समुह सँगको अन्तरकृया, चौथो चरणमा दलित बस्तीमा समुदायमा विषय केन्द्रित छलफल गरिएको थियो । अभियानको क्रममा तमानखोला गाँउपालिका वडा नं ३ का विभिन्न स्थानमा तथ्याङ्क संकलन गरिएको थियो ।
स्वास्थ्य चौकीले प्रवाह गरेका सेवा सुविधा, त्यहाँको सुसासन, पार्दशिता र जवाफदेहिता लाई प्रभावकारी बनाउने कार्यक्रमको मुख्य उद्येश्य रहेको छ । आम भेलामा सामाजिक परिक्षण कार्यको प्रस्तुतिकरण सामाजिक परिक्षक मञ्जु शर्मा चालिसेले प्रस्तुत गरेकी थिइन । सो अवसरमा भेलामा उपस्थित तमानबासी समुदायले कच्ची सडकको विस्तार भएता पनि खोलाहरुमा पक्की पुल नभएको हुदा स्वास्थ्य चौकीमा वर्खायामलाई मध्यनजर गरि औषधीको स्टक थप्नुपर्ने, आवश्यक उपकरण र औजारको व्यवस्थापन गरिदिन सम्बन्धित निकायलाई जानकारी गराएका छन त्यस्तै गाउॅपालिकाले सुत्केरीहरुलाई थप प्रोत्साहन रकम रु १ हजार र स्वास्थ्य चौकीमा सुत्केरी हुन आएर रिफर गर्नु परेमा दिॅदै आएको रु ५ हजारले दुर्गमका बासिन्दालाई थप राहत मिलेको उल्लेख गरे ।
स्वास्थ्य चौकीमा औषधी देखि अन्य सेवा सुविधा विगतको तुलनमा राम्रो हुदै आएको बताएका थिए । स्वास्थ्य संस्थामा खानेपानी र सरसफाइको ब्यबस्थापन राम्रो रहेको पहिलेको तुलनामा नेपाल सरकारले निशुल्क उपलब्ध गराउने औषधीहरु स्थानिय सरकारले पर्याप्त उपलब्ध गराएको भन्दै प्रशंसा समेत व्यक्त गरेका छन । स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीको व्यवहार राम्रो रहेको तर चौबिसै घण्टा सेवाहरु प्राप्त गर्न स्वास्थ्य चौकीमानै आवास नहुदा स्वास्थ्यकर्मीलाई समस्या रहेको भन्दै आवास गृह व्यवस्थापन गर्नु पर्ने माग गरिएको थियो ।
उनिहरुले आगामी दिनमा स्वास्थ्य संस्थामा औषधीको व्यवस्थापनलाई प्रभावकारिता बनाउनु पर्ने समेत बताएका छन । आम सर्वसाधारणलाई स्वास्थ्य चौकी गई त्यहाको सरकारी सेवा सुविधा लिन प्रोत्साहन गर्न स्वास्थ्यकर्मी र स्वंय सेविकालाई उनीहरुले सुझाव दिएका छन । विद्यालयमा प्राथिक उपचारका सामाग्री र स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कक्षाहरु समय समयमा सञ्चालन गर्नुपर्ने यस क्षेत्रको आवश्यकता रहेको उनीहरुको भनाई छ । आम भेलामा उठेका प्रश्न, जिज्ञासा र गुनासाहरुको तमानखोला स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष गिर बहादुर घर्ती, तमानखोला संयोजक गरिमा हर्मेल र तमान स्वास्थ्य चौकी प्रमुख विवेक कुमार शाहले प्रतिवद्वता मन्तव्य सहित स्पष्ट पारेका थिए ।
सो अवसरमा तमानखोला गाँउपालिकाका उपाध्यक्ष मानसरी शेरचन र वडा नं ४ का वडा अध्यक्ष उदिम बहादुर छन्त्यालले शुभकामना मन्तव्य राखेका थिए । सामाजिक परिक्षण कार्यको आम भेलामा तमान स्थित जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, संघ संस्थाका प्रतिनिधीहरु, आमा समुह, स्वंयसेविकाहरु, विद्यालयका प्रतिनिधीहरु, स्थानियबासी लगायतको उल्लेख्य उपस्थिती रहेको थियो । आम भेला तमानखोला गाँउपालिका वडा नं ३ का वडा अध्यक्ष एवं तमान स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष गिर बहादुर घर्तीको अध्यक्षता, सदस्य कुल बहादुर बुढाथोकीको स्वागत र समाजिक परिक्षक थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।





