बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखरा महानगरको नीति तथा कार्यक्रम : अण्डराउण्ड पार्किङ थाल्ने, मापडण्डमा खुकुलो बन्ने !

पोखरा महानगरको नीति तथा कार्यक्रम : अण्डराउण्ड पार्किङ थाल्ने, मापडण्डमा खुकुलो बन्ने !

कर्मचारीलाई सुबिधा सहित सातदिने भ्रमण बिदा


  • ढोरपाटन संवाददाता
  • असार ९ २०७६, सोमबार

पोखरा, ९ असार – पोखरा महानगरपालिकाले नगरका केही निश्चित क्षेत्रमा भूमिगत पार्किङ अनिवार्य गर्दै अवैधानिक रुपले निर्माण भएका भौतिक संरचनालाई ‘वैधानिकता’ दिने तयारी थालेको छ ।
मेयर मानबहादुर जिसीले आइतबार महानगरको पाँचौँ नगरसभामा आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुतगर्दै नगर क्षेत्रमा नक्सापास बिनै बनेका भौतिक संरचनालाई वैधानिकता दिन खुकुलो बन्ने घोषणा गरेका हुन् । ‘यसअघि नै घर, भवन र भौतिक संरचनाहरु निर्माण गरेका तर विभिन्न कारणले नक्सापास प्रमाणपत्र नलिएका संरचनालाई विशेष व्यवस्थासहित कानुनी दायरामा ल्याई नियमित गरिने छ’, उनले नीति तथा कार्यक्रम प्रस्तुतगर्दै भने,‘ मापदण्ड विपरीत संरचना निर्माण गर्ने कार्यलाई निरुत्साहित गरिने छ ।’
उनै मेयर जिसीबाट प्रस्तुत नीति तथा कार्यक्रममा ‘अन्डरग्राउण्ड पार्किङ अनिवार्य’ सहित पोखरा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम पेश गरेका छन् ।
नीति तथा कार्यक्रममा उल्लेख छ, ‘दिनानुदिन सवारी चाप बद्दै गइरहेको अवस्थामा सहरका तपसिलमा उल्लेखित सडकहरुमा भवन नक्शापास गर्दा अनिवार्य रुपमा अन्डरग्राउन्ड पार्किङ बनाएर मात्र नक्शापास स्वीकृति प्रदान गर्ने नीति लिइने छ ।’
मापदण्ड मिचेर घरहरु बन्ने प्रक्रिया तीव्र भएतापनि महानगरले भने सवारी चाप कम गर्न भवनको नक्शापास गर्दा अनिवार्य रुपमा अन्डरग्राउण्ड पार्किङ बनाएर मात्रै स्विकृती दिने उल्लेख गरेको छ । तर, यो नीति भने व्यापारिक प्रयोजनका लागि निर्मित आवासमा मात्र प्रयोग हुनेछ ।महानगरका प्रवक्ता धनबहादुर नेपालीले भने, ‘व्यापारिक भवनहरुको हकमा मात्र हो, घरहरुमा होइन ।’
महानगरपालिकाले नीति तथा कार्यक्रममा नै उल्लेख गरेर १२ वटा सडकको आसपासमा घर बनाउँदा अनिवार्य रुपमा अण्डरग्राउण्ड पार्किङ बनाउनुपर्ने नीति ल्याउने जनाएको हो ।नीति तथा कार्यक्रममा समावेश भएका यी सडकहरुको परिसरमा भवन बनाउँदा अण्डरग्र्राउण्ड अनिवार्य गरिएको छ ।
क.तालचोक—विजयपुर–अमरसिंहचोक–पृथ्वीचोक–जिरोकिमीहँुदै हल्लनचोक सडक
ख. पृथ्वीचोक – मुस्ताङचोक – बिरौटा हुँदै छोरेपाटन ।
ग.पृथ्वीचोक—नयाँबजार–महेन्द्रपूल—पालिखेचोक—नदीपुर—केआइसिंहपुल—लामाचौर—बाटुलेचोर—महेन्द्रगुफा—चमेरेगुफा ।
घ. न्युरोड सडक ।
ङ. लेकसाइड—खहरे—हल्लनचोक—बाराहीचोक—सहिदचोकहुँदै मुस्ताङचोक सम्म ।
च.बिरौटाचोक—राष्ट्रबैंकचोक—रत्नचोक–सिर्जनाचोक—सिद्धार्थचोक—बगर—ट्याक्सीचोक
छ.जिरो किमीदेखि हरिचोकहँुदै हेम्जा सुइखेतसम्म ।
ज.महेन्द्रपुल–रानीपौवा–हस्पिटलचोकहँुदै अमरसिंहचोक ।
झ.गौरीमार्ग—हस्पिटलचोक– बुद्धचोकहुँदै रामबजार सम्म)
ञ.घलेचोकबाट वन क्याम्पससम्मको सडक ।
ट. रानीपौवादेखि भद्रकालीहुँदै आर्बा साझाचोक सम्म
ठ. तालचोक—बेगनास सडकसम्म ।

पोखरा महागनरपालिका क्षेत्रभित्र अहिले रहेका अधिकांश घरहरु मापडण्ड विपरित रहेका छन् । पोखरा महागनरको मापडण्डलाई आधार बनाउने हो भने यहाँ निर्माण भएका १० मिटरभन्दा अग्ला घरहरु सबै मापडण्ड विपरित छन् । १० मिटर भनेको तीनतले घर हो । तर, अहिले पोखरामा अग्ला भवन बनाउने होड नै चलेको छ । केहीअधि यहाँको अमरसिँहचोकनेर बनेको एक होटलको उपराष्ट्रपतिले उद्घाटन गर्दा उनी नै विवादमा मुछिएका थिए । किनकि, घर हेर्दा टोपी खस्ने खालको छ भने प्रधानमन्त्री पछिल्लो समय पोखरा आउँदा विवादकै कारण एक होटलको उद्घाटनबाट पछि सरेका थिए ।
पोखरा नगर क्षेत्रमा अहिले घर बनाउँदा सुरुमा ३ तलाको मात्र स्वीकृत लिने, त्यसकै आधारमा बिजुली र पानी जडान गर्ने र पछि तला थप्ने लहर नै चलेको छ । तर, महानगरसँग कति घर अवैधानिक छन् र कसले मापडण्ड अनुसार नै छन् भन्ने तथ्याङ्क छैन ।
‘हामीले अहिले यहाँका घरहरुको अभिलेखीकरण गर्न र मापडण्डबारे तथ्याङ्क संकलन गर्न सूचना जारी गरेका थियौँ तर सोचेजस्तो जानकारी प्राप्त भएको छैन’, महानगरका नक्सा शाखा प्रमुख पूर्णबहादुर गुरुङले भने,‘केही जानकारी वडामा आएका छन्, हामी अहिले संकलनकै क्रममा छौँ । ’ उनका अनुसार संघीय संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सार्वजनिक गरेको ‘बस्ती विकास, शहरी योजना तथा भवन निर्माणसम्बन्धि आधारभूत मापडण्ड २०७२’ कार्यान्वयनमा ल्याउने निर्देशन अनुसार अगाडि बढ्दा पनि मापडण्ड कायम गर्न कठिनाई देखिने सम्भावना रहेको छ । मेयर जिसीको घोषणाले चाहिँ मापडण्डमा खुकुलो हुँदै ति संरचनालाई निश्चित कर तोकेर वैधानिकता दिने योजना रहेको स्रोतले जनाएको छ । मेयर जिसीमाथि लामो समयदेखि मापडण्डमा खुकुलो बन्न चौतर्फी दवाव थियो ।
भवन निर्माणसम्बन्धि निर्देशिकाले जमिनको उपयोग प्रतिशत,भुईँ क्षेत्रको अनुपात,सडकको चौडाई,खुल्ला क्षेत्र, जोडिएको भवनको अवस्थालगायतका प्रावधान हेरी, क,ख, ग र घ वर्गका भवन बनाउन सकिने उल्लेख गरेको छ । क वर्गमा अत्याधुनिक भवन पर्छन् भने ख मा भुईँतलाको क्षेत्रफल १ हजार वर्गफिटभन्दा बढी भएको, तीन तलाभन्दा अग्ला र स्टक्चरल स्पान ४ दशमलव ५ मिटरभन्दा बढी भएका भवन जनाउँछ । यसैगरी ग वर्गमा तीनतले आवासीय भवन तथा घ मा कच्ची घरहरुलाई राखिएको छ । पोखरामा पछिल्लो समय व्यापारिक प्रयोजनको लागि अग्ला घर बनाउने तर मापडण्ड पूरा नगर्ने प्रवृत्ति बढेर गएको छ ।
२०७२ सालको भूकम्पपछि पोखरा उपमहानगरपालिकाले गरेको अध्ययन अनुसार त्यो बेला नै यहाँ ५ हजार घरहरु मापडण्ड विपरित रहेका थिए । अहिले यो बढेर १० हजारको हाराहारीमा पुगेको अनुमान छ । भूकम्पपछि महानगरपालिकाले इञ्जिनियर पूर्णबहादुर गुरुङको संयोजकत्वमा पोखरा नगर क्षेत्रमा मापडण्ड विपरित बनेका घरहरुको तथ्याङ्क संकलन गरेको थियो । संकलित तथ्याङ्क अनुसार वडा नम्बर १७ मा सबैभन्दा बढी १ हजार ६ सय ५० घर मापडण्ड बिपरितका बनेको पाइएको थियो ।

उपमहानगरपालिकाका अनुसार पोखराको वडा नं १ मा दुई सय ५०, २ मा एक सय ५६, ३ मा एक सय ५६, ४ मा दुई सय ८७, ५ मा एक सय ३३, ६ मा आठ सय ९२, ७मा एक सय २३, ८ मा पाँच सय १, ९ मा चार सय घर मापडण्ड विपरित बनेका थिए । लेकसाइड क्षेत्रमा नौ तलाभन्दा अग्ला घरहरु बनेको र वडा नं १० मा एक सय ७४, ११ मा ९२, १२ मा ३०, १३ मा २२, १४ मा ५३, १५ मा ९५, १६ मा ४०, १७ मा एक हजार ६ सय ५० र १८ मा २३ घर मापदण्ड विपरित बनेको प्रतिवेदनले औंल्याएको थियो । त्यो बेला १८ वडा रहेको महानगरपालिका यतिबेला ३३ वडाको बनेको छ । पोखरा नगर क्षेत्र भित्र निर्माण भएका घरहरुको संख्या डेढ लाख हाराहारीमा रहेको छ । पोखरा उपमहानगरपालिकासँग अहिले मापडण्ड बिपरितका घर भत्काउने जनशक्ति र साधन दुबै छैन । अधिकांश घरहरुको डिजाइनमा उपमहानगरपालिकाकै कर्मचारीको प्राइभेट फर्म आवद्ध भएकोले यो काण्डमा लहरो तान्दा पहरो थर्कने सम्भावना रहेको समेत महानगरपालिका स्रोतले बतायो । विज्ञरुको अध्ययन प्रतिवेदनले पोखरा कमजोर भौगोलिक बनावट भएको जनाउ दिए पनि त्यसको कतैबाट सुनुवाई भएको छैन भूकम्प प्रतिरोधात्मक भवन निर्माण गर्नका लागि पोखरा महानगरपालिकाले २०६९ फागुनबाट भवन निर्माण संहिता (विल्डिङ कोड) लागू गरे पनि त्यसले ‘पहुँचवाला’ को रौँ पनि हल्लाएन ।

कर्मचारीलाई सातदिने भ्रमण बिदा

पोखरा महानगरपालिकाले वर्षको एक पटक कर्मचराीलाई अनिवार्य भ्रमण बिदामा पठाउने नीति लिएको छ । महानगरका मेयर जिसीका अनुसार सात दिने सो बिदाको क्रममा अनिवार्य भ्रमणमा निस्कनु पर्नेछ भने भ्रमणमा जाँदाको खर्च सुविधा महानगरले नै दिनेछ । आन्तरिक भ्रमणलाई प्रोत्साहन गर्न यो नीति लिइएको महानगरले जनाएको छ । यसअघि गण्डकी प्रदेश सरकारले पनि आन्तरिक भ्रमणलाई प्रोत्साहन गर्न बिदा पर्यटनलाई प्रवद्र्धन गर्ने घोषणा गरेको थियो । संघीय सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० र प्रदेश सरकारको आन्तरिक पर्यटक भ्रमण वर्ष २०१९ लाई प्राथमिकता सहित महानगरले आगामी आर्थिक वर्षमा ‘पहिले देश, अनि विदेश’ अभियानलाई विशेष जोड दिइने उल्लेख गरेको छ ।

ज्येष्ठ नागरिकलाई ‘महानगर माता र महानगर पिता’ सम्मान
क्षेत्रफलको आधारमा देशकै ठुलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि ज्येष्ठ नागरिकलाई ‘महानगर माता र महानगर पिता’ को सम्मान गर्ने भएको भएको छ । आइतबार पोखरा सभागृहमा आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले, “हरेक वर्ष विश्व ज्येष्ठ नागरिक दिवस (अक्टुबर १) मा महानगरका सबै भन्दा ज्येष्ठ महिला र पुरूषलाई महानगर माता र महानगर पिता को सम्मान प्रदान गरिने” जनाए ।
दर्जनौँ नारासहित पेश भएको नीति तथा कार्यक्रमले पूर्वाधार विकासलाई जोड दिएको छ । सबै वडामा विकास पूर्वाधार पु¥याउने, भरपर्दो यातायात सुविधाको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि नै सार्वजनिक यातायातमा ई–टिकेटिङ सुरु गर्ने र यात्रुहरुलाई ठगिनबाट जोगाउने घोषणा गरेको महानगरले हालसम्म पनि यसको सुरुवात गर्न सकेको छैन् । तर, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले, ‘महानगरीय यातायात सेवालाई प्रभावकारी र सुरक्षित बनाउनुका साथै सार्वजनिक यातायातमा ई—टिकेटिङको आवश्यक प्रबन्ध मिलाइने’ उल्लेख गरेको छ ।अव्यवस्थित यातायात, पार्किङ क्षेत्रको अभाव, ट्राफिक लाईट नहुनु, भएका पनि मर्मत नहुँदा सञ्चालनमा नआउनु, यात्रुहरु हिँड्ने पैदल मार्ग र सरसफाईलाई जोड दिइएको छ । नीति तथा कार्यक्रमले डिजिटल प्रविधीलाई जोड, ‘ग्रिन पोखरा, क्लिन पोखरा’ अभियानलाई पनि समावेश गरेको छ ।
निर्वाचनताका नै चर्चामा आएको स्मार्ट पूर्वाधार, समृद्ध सहरलाई आगामी वर्ष पनि निरन्तरता दिईएको छ । यस वर्ष नै सुरु भईसकेको सिर्जनाचोकमा आकाशे पुल निर्माण कार्यक्रम देखि अटो भिलेज निर्माण र अन्डरग्राउण्ड पार्किङ महानगरको नीति तथा कार्यक्रममा परेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->