पोखरा,६ साउन – सामुदायिक बन उपभोक्ता महासंघ नेपालले उपभोक्ताको हक अधिकार सुनिश्चितताको माग गर्दै आगामी भदौ महिनादेखि चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।महासंघ गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित केन्द्रीय पदाधिकारी तथा प्रदेश अन्तर्गतका केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष तथा सचिवहरूको भेलाले आन्दोलन गर्ने निर्णय गरेको हो ।
सरकारले ल्याएको बन विधेयक प्रस्तावनामा सामुदायिक बन हुनु पर्ने, बन पैदावारको समूहले स्वतन्त्ररुपमा मूल्य निर्धारण गर्न पाउनु पर्ने, बन समूहका पदाधिकारीलाई राष्ट्रसेवक भन्ने शव्द हटाउनु पर्ने र समूहका पदाधिकारीले गल्ती गरेको पाईएमा उनीहरूलाई कारवाही गरि पुनः सोहि समूहलाई हस्तान्तरण गरिनु पर्ने माग महासंघको छ ।
बन ऐन २०४९ ले दिएका अधिकारलाई समेत कुण्ठित गर्ने गरि आएको बन निर्देशिका प्रतिगामी ढंगले ल्याइएको भन्दै महासंघले भदौको दोश्रो हप्तादेखि प्रत्येक जिल्लामा पत्रकार सम्मेलन, प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने, सामाजिक सञ्जालमार्पmत सरकारको ध्यानाकर्षण गरिने महासंघका केन्द्रीय उपाध्यक्ष भिमप्रकाश खड्काले जनाए ।





