लमजुङ,१५ साउन – लमजुङको ऐतिहासिक राईनासकोटमा रहेको राईनासकोट सामुदायिक होमस्टे यो वर्षको नेपालभरिकै उत्कृष्ट गाउँ घोषित भएको छ ।
गाउँ पर्यटन प्रबद्धन मञ्च(भिटोफ) नेपालद्धारा घोषत वर्ष गन्तब्यमा परिसकेको राइनास यो वर्ष उत्कृष्ट पर्यटकीय गाउँ घोषित भएको हो । अमेरीकी नागरिक लतासाको सहयोगमा निर्माण भएको १४ वटा घरमा होमस्टे सञ्चालन भएको हो । उत्कृष्ट दृश्यावलोकन तथा ऐतिहासिक स्थल भएका कारण मानिसहरु राइनासकोटमा भ्रमण गर्न थालेको हुन् ।
वर्षेनी राइनास जाने पर्यटकहरुको संख्या बृद्धि हुँदै गएको छ । वर्ष गन्तब्यमा परेपछि झन पर्यटकको ध्यान राइनासमा आकर्षित भएको हो । त्यहाँको अतिथी सत्कार तथा होमस्टे वरिपरिको वातावरण, साँस्कृतिक प्रस्तुतिहरु पर्यटकले बढी मनपराउने होमस्टे सञ्चालक बिष्णु गुरुङले जानकारी दिए । राईनासबाट लमजुङ, गोरखा, तनहँु तथा नारायणी नदी देख्न सकिन्छ भने चारै दिशामा हिमाल हेर्न सकिन्छ । यो विधामा यसअघि लमजुङकै काउलेपानी होमस्टे, कास्कीको कालाबाङ, हेम्जाकोट पुरस्कृत भैसकेका छन । लमजुङ्ग जिल्लाको पुरस्कृत हुने होमस्टेमा राईनासकोट दोस्रो हो । शाहवंषीय राजाहरुले राज्य गरको गढीको रुपमा राइनासकोटलाई चिनिन्छ ।





