शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मुहान सुकेपछि तमानमा खानेपानी समस्या

मुहान सुकेपछि तमानमा खानेपानी समस्या


  • Dhorpatan News
  • साउन ३१ २०७६, शुक्रबार

बागलुङ,३१ साउन – बर्षौंदेखि प्रयोग गर्दै आएको पानीको मुहान सुकेपछि बागलुङको तमानखोला गाउँपालिकाका दुई वडावासीलाई खानेपानीको अभाव भएको छ । तमानखोला गाउँपालिका वडा नम्बर १ र ३ का स्थानीयहरुले खानेपानीको समस्या भोग्न थालेको पनि बर्षौं बितेको छ ।
२०४३ सालमा निर्माण गरेको खानेपानी आयोजनाको मुहान केही बर्ष पहिलेनै सुकेपछि स्थानीय खानेपानीको समस्या भोग्न बाध्य भएका हुन् । तीन दशक पहिले जिल्ला विकास समितिको पहलमा लुथ्रन नामको गैरसरकारी संस्थाले यहाँका स्थानीयका लागि खानेपानी योजना सञ्चालन गरेको थियो ।
झण्डै ७ किलोमिटर टाढा रहेको पानीको मुहानबाट गाउँमा पानी आएको थियो । उच्च पहाडमा रहेको उक्त ठाउँमा रहेको मुहान सुकेपछि ५÷६ बर्ष पहिलेदेखी नै पानीको समस्या परेको स्थानीयले वताए । संस्थाले वडा नम्बर ४ लाम्मेलाबाट ७ किलोमिटर दुरीमा पाइप जडान गरी पानी ल्याएको थियो । खानेपानी आयोजनाको सुकेपछि यहाँको किरी, साकिना, सादिवनका करिब ६५ घर परिवारले खानेपानीको समस्या भोग्दै आएका छन् ।
अहिले स्थानीयले घण्टौ लागेर पानी बोक्नु पर्ने बाध्यता रहेको स्थानिय लिला बुढा मगरले वताए । गाउँदेखि १ घण्टाको पैदल दुरीमा रहेको मुहानमा पुगेर उनीहरुले पानीको गाग्री भर्ने गरेका छन् । सादिवनको छेउमा रहेको पानीको मुहान ६५ परिवारको आधार बनेको छ । नजिकमा रहेका साना साना मुहान समेत सुक्न थालेकाले पानीको थप समस्या हुन सक्ने बुढा मगरले बताए । लुथ्रनले बनाएको योजनाले अहिले समस्या भएको भन्दै स्थानीयको अव गाउँपालिकाले नयाँ खानेपानीको मुहानको पहिचान गरेर पानी उपलव्ध गराउनु पर्ने माग छ ।
वषौँदेखि झेल्दै आएको यो समस्याको समाधान गर्न गाउँपालिकाले पहल गर्नुपर्ने बुढामगरले बताए । ‘पुरानो खानेपानी आयोजनाको मुल सुकेपछि अहिले हामीले घण्टौ लगाएर पानी बोकेर काम चलाएका छौँ,’ बुढामगरले भने, ‘समय खर्चेर पँधेरोमा पुग्दा उतापनि लाईन हुन्छ । पानीकै लागि परिवारमा एक जनाको दिनभरको समय बित्ने गरेको छ ।’
गाउँपालिकाले पानीको समस्या समाधानका लागि पहल थालेको छ । सुख्खा ठाउँका बस्तीहरुमा पानी पु¥याउनका लागि मुहानको अभाव रहेकाले पहिलो चरणमा मुहान पहिचान गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले बताए । ‘पछिल्लो समय किरी, साकिना र सादिवनमा पानीको चरम अभाव भएको छ, यहाँ जनताले बषौँदेखि टाढाबाट पानी बोकेर उपभोग गरिरहेका छन्,’ अध्यक्ष बुढा मगरले भने ‘यसको समाधानको लागि सिंगो गाउँपालिका लागेको छ, केही समयमै हामीले दिगो समाधान खोज्छौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->