बागलुङ,३२ साउन- संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डितले नेपालको संघियताका कार्यान्वयन संसारकै नमुना भएको बताएका छन् ।
कानुनको निर्माण र संगठन संरचनाको व्यवस्थापन जस्तो जटिल कामलाई समयमा व्यवस्थापन गर्न सकेकाले नेपालमा संघियताको कार्यान्वयन सफल भएको उनको दावी थियो । बागलुङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मौसम परिवर्तनका बेला आउने समस्या जस्तै व्यवस्था परिवर्तनका समयमा आएका केही समस्या बाहेक संघियताको कार्यान्वयनका लागि गरिएका सबै प्रयास सफल भएको दावी गरे ।
जिल्ला तहमा वडा संघको प्रथम जिल्ला भेला उद्घाटनका लागि आएका मन्त्री पंडितसँग शुक्रबार पत्रकार भेटघाट गरिएको थियो । संघियता अहिलेका राजनितिक दलहरुको बलबुतामा आएको भन्दै उनले संघिय व्यवस्थालाई बाचाइ राख्न सबैले सहयोग गर्नुपर्ने बताए । ‘हामिलाई जस्तो बच्चाको माया लाग्छ त्यस्तै माया हामिले ल्याएको व्यवस्थालाई गरौं’ मन्त्री पण्डितले भने, ‘देश नयाँ व्यवस्थाको कार्यान्वयन सँगै विश्व समुदायसँग प्रतिष्पर्धी समेत बनेको छ ।’ उनले बेला बेलामा आउने हावा हुन्डरीलाई पन्छाएर बढ्नुको विकल्प नभएको पनि बताए ।
अहिले प्रसासनिक क्षेत्रमा देखिएका समस्याको समाधानका लागि निजामति ऐन ल्याउन लागिएको उनको भनाई थियो । एक साताभित्रमै निजामति ऐन संसदमा पेश हुने र निजामति ऐन पारित भए लगत्तै प्रदेश तहमा जाने बताए । प्रदेश आयोग नवनेकोले केन्द्रीय तहबाट कर्मचारी माग भएको उनले बताए । लोकसेवा आयोगले ९ हजार १ सय ६१ दरबन्दी खोलेको छ । यो दरबन्दीका लागि आरक्षण नभएको भन्दै आदिवासी जनजातीहरुले बिरोध गरिरहेका थिए । मन्त्री पंडितले भने ७ सय ५३ सरकार भएकोले सबैको लागि पठाउने गरी आवस्यकता गरिएको हो ।
काम चोर कर्मचारीलाई कारवाही गर्ने गरी निजामती ऐन ल्याउन लागेको समेत दावी गरेका छन् । कडा कानून नआएसम्म प्रशासनिक काम सहज हुँदैन भन्दै उनले संघियताको स्थायीत्व र संस्थागत बिकासका लागि उक्त ऐन आवस्यक परेको समेत बताएका छन् । मन्त्री पंडितले शुक्रवारै पर्वत र बागलुङका कर्मचारीहरु सँग भेटघाट गर्दै संघियता कार्यान्वयन र सफलताका लागि काम गर्न समेत निर्देशन दिए ।
मन्त्री पण्डितले गणतन्त्र विरोधी प्रवृत्ती लाई परास्त पार्ने समेत बताए । पर्वतमा आयोजित एक कार्यक्रममा पण्डितले संविधानको भावना अनुसार प्रशासनिक क्षेत्र लाई सुधार गर्दै लैजाने कुरामा जोड दिए । ‘राज्यको तलव सेवा सुविधा लिने कर्मचारीले निस्वार्थी निष्पक्ष र कर्तव्यनिष्ट भएर कार्यसम्पादन गर्नुपर्छ’ उनले भने, ‘खटाएको ठाउँमा नजाने लापर्वाही र भ्रष्ट गर्ने कर्मचारी हरु लाई ठेगान लगाउन सरकार तयार छ ।’ पण्डितले प्रशासनिक क्षेत्रको सेवा प्रवाह लाई जनमुखी वनाउँदै लगानीको सत प्रतिशत प्रतिफल लिने तर्फ वर्तमान नेकपा सरकार गम्भिर भएर लागि परेको पनि बताए ।
बागलुङमा आयोजित पत्रकार सम्मेलनमा उनले संघियता बिरोधी काममा पत्रकारहरुले कलम नचलाउन आग्रह गरे । व्यवस्थालाई असफल बनाउन लाग्नेहरुको बिपक्षमा कलम चलाउन आग्रह गर्दै सकारात्मक समाचारमा जोड दिन उनले आग्रह पनि गरे । उनले राजतन्त्र र एकात्मक शासन ईतिहास भएको भन्दै वर्तमान र भविष्यको लागि परिवर्तनको पक्षमा काम गर्न पनि आग्रह गरे । उनले प्रेस स्थायी सरकार भएकोले देशको बिकासमा बढी जिम्मेवार हुनुपर्ने धारणा राखेका थिए । एक प्रश्नको जवाफमा मन्त्री पंडितले कालीगण्डकी सहितका नदी दोहन रोक्न कानूनी प्रकृया थाल्ने बताए । प्रशासनलाई ध्यानाकर्षण गराएर प्रतिवन्धित काम रोक्न लगाउने उनले बताए ।
वडा अध्यक्षहरुले जिल्ला स्तरीय संघ निर्माण गर्न लागेका छन् । उक्त संगठनको उद्घाटन गर्न मन्त्री पंडित बागलुङ आएका हुन् । साइकल मन्त्रीको रुपमा चिनिएका पंडितले मन्त्री भएकोले साइकल चढ्न नपाएको पनि बताए । ‘म मन्त्री भएकोले साइकल चढ्न पाएको छैन, तर गाडि मोह पनि छैन’ उनले भने, ‘सुरक्षा संवेदनशिलता, छिटो गन्तव्यमा पुग्ने व्यवस्थाका लागि गाडि चढेको हुँ ।’ उनले मन्त्रालयमा पनि नयाँ गाडि नकिनेको बताए । सिंह दरवारमा थुप्रेका पुराना गाडिलाई प्राविधिक शिक्षा पढाई हुने क्यामपसमा दिएर प्रयोगात्मक अभ्यास गर्न पठाएको बताए ।





