बागलुङ,३ भदौ – दक्षिण बागलुङलाई सदरमुकाम सँग जोड्ने छोटो बाटो कालीगण्डकी कोरिडोर बन्द गरेर काम गरिएको लामो समय भैसक्दा पनि खुल्न सकेको छैन । सडक नखुल्दा स्थानीले समस्या भोगेका छन् नेपाली सेनाले चौडा पार्ने भनेर ठेक्का लिएपनि यो सडक बन्द भएको अहिले पनि खुलेको छैन ।
सेनाको सडक निर्माण कार्यदलले सडक बिभागबाट गत माघमा१० मीटर चौडा पार्न काम जिम्मा लिएको थियो । त्यसपछि गलुवा देखि बलेवा एयरपोर्ट सम्म सवारी रोकेर काम गरिरहेको छ । गत जेठ मसान्त भित्रै सडकलाई काम हस्तान्ताण् गर्नुपर्नेमा नभएपछि स्थानीय बासिन्दा चिन्तित भएका छन् ।
काम समयमा नसकेको र बर्षातमा घुमाउरो बाटो हिड्नुपरपछि स्थानीय बासिन्दाहरु आक्रोसित भएका हुन् । ‘घुमाउरो बाटो हिड्ने मात्र नभई घरहरुमा क्षति पनि पुगेको छ’ स्थानीय दयाराम लामिछानेले भने, ‘सडककै कारण हामी बिस्थापित हुनु परेको छ ।’ सेनाले दैनिकजसो बम पड्काएर पहरो फोड्ने काम गरिरहेको छ । तर उक्त कामबाट दुर्घटनाको खतरा देखेर सडक रोक्नु परेको कोरिडोर निर्माण कार्यदलका प्रमुख सेनानी रेश्मीराज भट्टराईले बताए । केही समयमै काम सक्ने हो, त्यसैले सडक रोक्नु परेको भन्दै उनले बम पड्काउने ठाउँमा खतरा भएकै कारण सवारी चलाउन नसकेको बताए ।
तोकिएको समय भ्याइएपनि सेनाले सडक बन्द गराईरहेको छ । अझै काम नसकिएको भन्दै सडक रोकेपछि दैनिक गुड्ने दर्जनौ सवारी घुमाउरो बाटो हिड्न बाध्य छन् । अर्थमन्त्री युवराज खतिवडा र परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली आएर गत माघमा चौडा पार्ने कामको शिलान्यास गरेका थिए । गत आर्थिक बर्षको बजेटबाट सरकराले २० करोड रुपैया“ छुट्टयाएर बाटो चौडा पार्ने जिम्मा दिएको थियो । गत जेठ १५ गते हस्तान्तरण गर्ने गरी यो खण्डको जिम्मा सेनाले लिएको थियो । तर अहिले सम्म यो खण्डमा सडक नखुलेको हो । यो बाटो हिड्ने सवारी साधनहरु अहिले गलुवा, पाउजा, पानीट्यांकी हु“दै घुम्न बाध्य छन् । यो खण्डमा हिड्दा सवारी साधनलाई १ घण्टा बढी सम लाग्ने गरेको जिप चालकहरुले बताए । सडक चौडा पार्ने कामले कुश्मीसेरा तर्फ चल्ने बसहरुले घुमाउरो बाटो हिड्नु परेको छ । उक्त सडक जोखिमको पनि छ ।
२०७२ असार १५ गते पहिलो पटक शिलान्यास भएपछि नेपाली सेनाले दुइ बर्षमा यो खण्डको ट्रयाक खोलेको थियो । ८ मीटर चौडाको यो सडकलाई १० मीटर बनाउने कामका लागि बजेट रकमान्तरण गरेपछि माघ देखि सेनाले काम थालेको थियो । धेरै बम पड्काएर पहरा फोड्दै सडक बनाउनुपर्ने भएकोले सडक डिभिजनले ठेक्का नलगाई सेनालाई दिएको थियो । चीनका पर्यटक लुम्बिनी र भारतीय पर्यटकलाई मुक्तिनाथ लैजान यो मार्ग बढी उपयोगी हुने बताइएको छ । यो खण्डमा लामिछाने सहितका ५ घर कोरिडोरकै कारण जोखिममा परेका छन् । उनीहरुले क्षतिपूर्ति माग गरेपनि पाएका छैनन् । कोरिडोरलाई जिल्लाको महत्वपूर्ण सडकको रुपमा लिइएको छ । तर लामो समयदेखि बन्द हुँदा दक्षिण बागलुङका मानिसले सास्ती खेप्नु परिरहेको गुनासो गरेका छन् । यो गुनासो अब धेरै समय सम्म राख्न नदिने भन्दै स्थानीय जनप्रतिनिधिले सेनासँग कुरा राखेर खुलाउने प्रयास गरिने बताए ।





