शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पर्यटन बर्ष सफल बनाउन बरेङले थाल्यो आन्तरिक तयारी

पर्यटन बर्ष सफल बनाउन बरेङले थाल्यो आन्तरिक तयारी


  • ढोरपाटन संवाददाता
  • भाद्र ५ २०७६, बिहिबार

बागलुङ, ५ भदौ – नेपाल भ्रमण बर्ष सन् २०२० लाई सफल बनाउनका लागि बागलुङको बरेङ गाउँपालिकाले आन्तरिक तयारी थालेको छ । गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थलहरुमा पर्यटक भित्राउनका लागि आवश्यक तयारी थालिएको हो । गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थलको पहिचान, प्रचारप्रसार र प्रबद्र्धनको काम सुरु गरिएको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए । धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माण र सरसफाई लगायतका कामलाई समेत गाउँपालिकाले प्राथमिकतामा राखेर काम गरीरहेको शर्माले बताए । साविकको पश्चिमाञ्चलमै प्रसिद्ध सत्यवती देवीको मन्दिर बरेङ गापामा पर्छ । जहाँ अहिलेपनि हरेक महिनाको पूर्णिमा तिथीमा मेला लाग्छ । कान नसुन्ने देवीको रुपमा मानिने सत्यवतीको मन्दिरमा मंसिरको देवाली पूर्णिमामा ठुलो मेला लाग्ने गरेको स्थानीय पत्रकार प्रकाश छन्त्याल बताउँछन् । त्यहाँ चिच्याएर बर माग्दा पुरा हुने जनविश्वास रहिआएको छ । सत्यावती मन्दिरमा आन्तरिक पर्यटकका अलवा बाह्य पर्यटक समेत भित्राउने गरी तयारी थालिएको छ । बरेङमै रहेको कौडेको लेकलाई प्राकृतिक पर्यटकीय स्थलको रुपमा विकास गर्न गाउँपालिकाले पूर्वाधार निर्माणमा लगानी गरिरहेको छ । कौडेको लेकबाट बागलुङ र गुल्मीका तिन दर्जन बढी भन्ज्याङ तथा सूर्योदय र सूर्यअस्तको दृष्य देख्न सकिन्छ । उच्च पहाडमा मनोरम वातावरण रहेकाले कौडेमा पर्यटक भित्राउन सकिने भन्दै गाउँपालिकाले प्रचारप्रसारको काम थालेको प्रमुख प्रसाशकीय अधिकृत बैकुण्ठ पौडेलले बताए । ‘हामीले पर्यटकीय क्षेत्रको पहिचान गरेर आवश्यक पूर्वाधार निर्माणको काम थालेका छौं’ अध्यक्ष शर्माले भने ‘केन्द्र सरकारको कार्यक्रमलाई सघाउँदै स्थानीय सरकारको आर्थिक बृद्धिसँग जोड्ने हाम्रो योजना हो ।’ गाउँपालिकाले यहाँ आउने पर्यटकलाई खाना बस्नको व्यवस्थापनका लागि सर्वसाधारणको तहमा दुई वटा तालिम समेत सम्पन्न गरिसकेको छ ।

सफा र स्व्च्छ वातावरणमा कसरी राख्ने र पर्यटकको रुची अनुसारको स्थानीय खानाको परिकार कसरी तयार गर्ने भन्ने बिषयमा तालिम दिईएको उनले बताए । बरेङको स्थानीय उत्पादनको रुपमा रहेको प्लम, आलु, फर्सी, इसकुश लगायतका खाद्य तथा तरकारीको परिकारलाई गाउँको पहिचानको रुपमा पर्यटकलाई चखाउने योजना पालिकाले बनाएको छ । सोही अनुसारको छलफल र तालिम चलेको उनले बताए । पर्यटन प्रवर्धन कार्यक्रम सञ्चालन गर्नका लागि गाउँपालिका तहमा पर्यटन उपसमिति समेत गठन गरिएको छ । गाँउपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माको संयोजकत्वमा ९ सदस्यीय पर्यटन उपसमिति गठन गरेर काम अघि बढाईएको अध्यक्ष शर्माले बताए । समितिमा बरेङमा रहेका घरबासदेखि धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रका व्यवस्थापन समितिका पदाधिकारीलाई सदस्य बनाईएको छ । नेपाल सरकार, गण्डकी प्रदेश सरकार र गाउँपालिकाले बनाएका सबै खाले पर्यटन सम्बन्धि कार्यक्रमहरु कार्यान्वयन गर्ने गरि उप–समितिलाई अधिकार दिईएको छ । रेङमा रहेको सिद्ध सामुदायीक घरबासलाई बरेङ पुग्ने पर्यटकको पहिलो बासको रुपमा विकास गर्न लागिएको छ । ‘हामीसँग उपलव्ध घरबासको प्रयोग गछौं र थप एक घरबासको तयारीमा छौं’ पालिका अध्यक्ष शर्मा भन्छन् ‘यहाँ रहेका सामुदायीक भवन पनि हाम्रा पाहुना राख्नका लागि उपयुक्त स्थान बनाउने तयारीमा रहेका छौं । बरेङको चालु आर्थिक बर्षमा पर्यटनको बिकासमा मात्रै ३५ लाख रुपैयाँ लगानी गर्ने योजना बनाएको छ । गाउँपालिको स्रोतबाहेक पदमार्ग र ग्रामिण सडक तथा पर्यटकीय स्थलमा खानेपानीको व्यवस्थापनको लागि प्रदेश सरकारसँग सहकार्य गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->