शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

हिंसा मुक्त समाज बनाऔं ः केसी

हिंसा मुक्त समाज बनाऔं ः केसी


  • ढोरपाटन संवाददाता
  • भाद्र ८ २०७६, आइतबार

बागलुङ,८ भदौ – प्रतिनिधिसभाकी सांसद मनकुमारी केसीले हिंसा मुक्त समाज निर्माणका लागि महिलाहरुको अग्रसरता हुनुपर्ने बताएकी छिन् । उनले बिकृति बिसंगती बिरुद्ध महिलाहरुकै नेतृत्व स्थापित हुनुपर्ने धारणा राखिन् ।
महिला हित बचत तथा ऋण सहकारी संस्था बागलुङको १८ औं वार्षिक साधारणसभामा बोल्दै उनले समाज सुधार्ने मुख्य अभिभारा महिलाको काँधमा आएको समेत बताईन् । समाजमा बढेका हिंसा बिरुद्ध महिलाकै नेतृत्व हुनुपर्ने भन्दै हालै बनिरहेका कानून महिला मैत्री बनाउने अभियानमा आफ्नो भूमिका बढाएको पनि बताईन् । ‘हिजो यही भूमिमा बसेर काम गरेको नाताले महिलाहरुको हितमा कानून बनाउने काममा सक्रिय छु’ उनले भनिन्, ‘पुरुषहरुले पनि अधिकार, पहिचान र महिलालाई आत्मनिर्भर बनाउने काममा साथ र सहयोग गर्नुपर्नेछ ।’
जिल्लालाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने अभियानमा पनि सबै मिलेर काम गर्नुपर्ने धारणा राखिन् । सहकारी संस्थाहरुले बचत र ऋणको काम मात्र नगरी समाजलाई सभ्य बनाउन वातावरण, अधिकार र पर्यटन बिकासको क्षेत्रमा पनि काम गर्नुपर्ने बेला आएको बताईन् । घरभित्रै बसेका महिलालाई समाजमा ल्याएर बिकासको मुलधारमा हिडाउन सहकारीहरुले योगदान गरेको उनले चर्चा गरिन् ।
कार्यक्रममा सहभागिले महिला बिकास कार्यालय र सहकारी डिभिजन खारेजीमा परेको भन्दै पुनस्थापनका लागि पहल गरिनुपर्ने धारणा राखे । महिला हित सहकारी संस्थाले जिल्ला प्रहरी कार्यालयले संचालन गरेको बिकृति बिसंगती बिरुद्ध आमा सँग प्रहरी भन्ने कार्यक्रममा पनि साथ दिएको छ । बिद्यालय, समुदाय र सहकारीहरुमा पुगेर युवालाई बिकृति बिरुद्ध लाग्न साथ दिएको हो ।
सहकारी संस्थाकी अध्यक्ष लीला खड्काको अध्यक्षता, सचिव शान्ति ज्ञवाली र सावित्री केसीको संचालन तथा उपाध्यक्ष लक्ष्मी केसी जिसीको स्वागतमा सम्पन्न कार्यक्रममा प्रहरी उपरिक्षक नवराज भट्ट, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, महिला अधिकारकर्मी लक्ष्मी जिसी कार्की, ब्रम्हकुमारी ईश्वरीय बिश्व विद्यालयकी संचालिका सावित्री दिदी, स्वास्थ्य सहकारी संघकी अध्यक्ष सीता शर्मा, कालीका महिला सहकारी संस्थाकी पिंगला जिसी खड्का लगायतले बोलेका थिए । कार्यक्रममा सचिव शान्ति ज्ञवालीले प्रगती प्रतिवेदन र कोषाध्यक्ष मनमाया श्रेष्ठको प्रतिवेदन पारित गरिएको थियो ।
१८ बर्ष अघि स्थापित यो सहकारीको २ करोड ४३ लाख ५२ हजार ९ सय रुपैयाँको शेयर रकम पुगेको छ । एक बर्षमा ४ करोड ८४ लाख ६२ हजार बचत गरेको यो सहकारीले ६ करोड ६ लाख ७५ हजार लगानी गरेको छ । हाल सहकारीमा ९ सय ४० जना शेयर सदस्य छन् । ती मध्ये अधिकांस महिला मात्र छन् । महिलाले मात्र नेतृत्व गरेको सहकारी संस्थाबाट आर्थिक क्रियाकलाप मात्र नभइ सामाजिक बिकासको क्षेत्रमा पनि काम गरेको प्रति धेरैले प्रसंसा पनि गरेका थिए । उक्त अबसरमा बर्षभरी उत्कृष्ठ काम गर्ने कर्मचारी र एसईईमा उत्कृष्ठ अंक ल्याउने बिद्यार्थीलाई पुरस्कार तथा सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->