शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ बजारलाई स्वच्छ र फराकिलो बनाउने अभियान अलपत्र

बागलुङ बजारलाई स्वच्छ र फराकिलो बनाउने अभियान अलपत्र


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०७६, बुधबार

बागलुङ, ११ भदौ – बागलुङ बजारलाई स्वच्छ र फराकिलो बनाउने भनिएको अभियान अलपत्र परेको छ । गत आर्थिक बर्षको बजेटबाट चोक सुधार गर्ने भनिएको बजेट खर्च नभएर फिर्ता भएपछि काम समेत अलपत्र परेको हो । उपभोक्ता समितिले काम गर्न नमानेको र ठेक्काको प्रकृया थालेर रद्द भएपछि लाखौं रकम फिर्ता भएको थियो । ढल नाली व्यवस्थापनको लागि भन्दै बागलुङ नगरपालिकाले बिनियोजन गरेकोमध्ये केही रकम पुरानो ऋण तिर्न खर्चेको छ । गत आर्थिक बर्ष बागलुङ नगरपालिकाले १ करोड ४७ लाख रुपैयाँ चोक सुधार र नाली व्यवस्थापन भन्दै बिनियोजन गरेको थियो । उक्त रकमलाई बजार क्षेत्रको दुई वटा वडामा बराबर बाँडेर कतै ऋण तिर्ने कतै निजी संस्थामा पुग्ने सडक मर्मत समेतमा लगाइएको छ ।
अघिल्लो बर्ष शिवधारा चोकमा ढलान गरेको १६ लाख, गणेश मन्दिरदेखि पुरानो सिनेमा रोडको ९ लाख, क्याम्पस रोड मर्मतको ७ लाख रुपैयाँ उक्त रकमबाटै ऋण तिरेको खुलेको हो । मुख्य चोक सुधारका लागि भने ४७ लाख रुपैयाँको टेन्डर खुलाएर रद्द गरिएपछि रकम समेत फिर्ता भएको छ । बागलुङ नगरपालिकाका योजना अनुगमन तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले अघिल्लो बर्षको काम सम्पन्न भएकै रकम भुक्तानी भएकोले ऋण भन्न नमिल्ने दाबी गरे । ‘ऋण तिर्न पाईदैन, तर अघिल्लो बर्षको काम सकिएको तिरिएको हो’ उनले भने, ‘अघिल्लो बर्ष राम्रो काम भएको थियो ।’ नगरक्षेत्रका चोक साँघुरो र नाली बिग्रेपछि उक्त रकम बिनियोजन भएको थियो ।
चोक सुधार तर्फको रकम फिर्ता भएपछि काम अलपत्र परेका छन् । नाली भरिएर दुर्गन्ध फैलिएको छ । ‘नाली सफाई गर्ने निहुँमा रकम लाखौं बिनियोजन हुन्छ, सफाई गरिंदैन’ बागलुङ नगरपालिका वडा नं. २ का बिष्णुप्रसाद अधिकारीले भने, ‘सटरमा बस्नेले पैसा उठाएर सफाई गरिरहेका छौं, नगरले वास्ता गर्दैन ।’ नाली दुर्गन्धीत भएपछि उनीहरुले पैसा उठाएर सफाई गरेको बताए । नगरका चोकचोकमा स्ल्याब फुटेपछि भ्वाङ परेका छन् । ती भ्वाङबाट दुर्गन्ध र नालीको फोहोर पानी सडकमै उत्रने गरेको छ । उक्त बजेटबाटै ५ लाख रुपैयाँमानवसेवा आश्रम जाने बाटोमा खर्च भएको छ । सामाजिक सेवामा लागेको यो संस्था निजी भवनमा बसेको छ । दशकअघि बनेका नालीहरु सानो भएकोले बर्षातमा पानी भरिएर सडकबाटै बग्ने गरेको छ । हिउँदमा सफाई नगर्दा बर्षातमा सबै फोहोर बाटोमा उत्रने गरेको हो । नगरपालिकाले भने उक्त रकम अन्य स्थानमा खर्चेर नाली सफाई नगरेको उपभोक्ताको आरोप छ ।

यो समस्या समिक्षालय, हल्लनचोक, ट्राफिकचोक, शिवधाराचोक, नारायणचोक, गुठी र आबारोडमा बढी देखिने गरेको छ । ‘चोक साँघुरो भएकोले ठूला सवारी साधन मोड्न नमिल्ने अबस्था छ, तर सुधारको बजेट कता गयो थाहा भएन’ थोक सामान ढुवानी गर्ने चालक लालबहादुर लामाले भने, ‘पटक पटक जोखिम मोलेर सामान ढुवानी गरिरहेका छौं ।’ टेलिकमदेखि हल्लनचोक, लालीगुराँसचोक, क्याम्पसचोक जस्ता धेरै स्थानमा ठूला सवारी मोड्नै नमिल्ने अबस्थाका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->