शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दिगो विकास मोडलमा बडिगाड गाउापालिका

दिगो विकास मोडलमा बडिगाड गाउापालिका


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०७६, बुधबार

बागलुङ, ११ भदौ – बडिगाड गाउँपालिकाले निर्माण गर्ने हरेक संरचनालाई दिर्घकालिन बिकासको मोडलमा संचालन गर्ने भएको छ । त्यसका लागि सडक, खानेपानी, सरसफाई र अन्य पूर्वाधार बिकास सहित कृषिका कार्यक्रम पनि दिर्घकालिन योजनामा समावेश गरिएको हो । यहाँ बन्ने सडक १२ देखि १६ प्रतिशत ग्रेड भएको मात्र बनाउने योजना ल्याएको छ । अधिकांस सडकमा पहिरो खस्ने समस्या भएपछि ग्रेड घटाउन लागेको हो । ‘उकालो बाटो र धेरै घुम्ती हुँदा जिप चल्न समेत समस्या छ’ प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले भने, ‘४० प्रतिशत संरचना बनाउने र ग्रेड घटाएपछि बाह्रै महिना सवारी चलाउन सकिन्छ ।’ ग्रामीण बस्ती मत्र भएको यो गाउँपालिकामा बर्षातमा सवारी चल्न नसक्दा स्थानीयले सास्ती खेप्ने गर्छन् । यसअघि ठाडो बाटोमा डोजर हिडाएर सडकको नाम दिने चलन अन्त्य गर्न चाहेको उनले बताए । गाउँपालिकाले तयार गरेको दिर्घकालिन बिकासको योजनामा उक्त बिषय समावेश गरिएको हो । गाउँपालिकाले समयमा काम सम्पन्न भएका योजनालाई प्रमाणपत्र दिने, नभएकालाई तत्काल कारवाही गर्ने र बाह्रै महिना सहज यात्रा गर्न सकिने सडक बनाउने गरी काम थालिएको उनले बताए । चालु बर्षदेखि लागू हुने गरी २५ बर्षे दिर्घकालिन योजना निर्माणको काम थालिएको अध्यक्ष मेहरसिंह पाईजाले बताए । हरेक पाँचपाँच बर्षमा मूल्यांकन गर्ने गरी आवधिक योजनाको खाका कोर्ने र दिर्घकालिन योजना पुरा गर्न निरन्तर काम गर्ने योजना उनले सुनाए ।
दिर्घकालिन योजनाका लागि तत्कालिन आवस्यकता पुरा गर्ने, लगानी पनि निरन्तर गर्ने गाउँपालिकाको योजना छ । ‘आर्थिक बर्ष २०७६/०७७ मा ६ वटा परिवर्तन गराएर दिर्घकालिन योजनाको खाका कोरिनेछ’ सुवेदीले भने ‘दिर्घकालिन योजना पुरा हुँदा गण्डकी प्रदेशको नमूना स्थानीय सरकार बन्छ ।’ तत्कालका लागि गाउँपालिकाले कृषि र पशुपालनको व्यवसायिकीकरण गर्ने योजना बनाएको हो ।
गत बर्षदेखि नै यो गाउँपालिकाले आर्थिक र सामाजिक बिकासका लागि विकृति बिरुद्ध अभियान थालेको छ । यो गाउँपालिका भित्रका योजनामा उपभोक्ता समितिमा बस्न समेत बिकृतिमा नलाग्ने सपथ खानु पर्छ । ‘जाँडरक्सी मात्र नभई हरेक प्रकारका विकृतिले समाज थलिएको थियो, त्यसबाट अगाडि बढाउन यो अभियान ल्याएका हौं’ पाईजाले भने, ‘बिद्यालय तहका बालबालिका जोगाउन पनि अभिभावकलाई समेत कडाई गरियो ।’ गाउँपालिकाले सबै मौषममा ग्रामीण सडक सहजै संचालन गर्ने बनाउन चालु बर्षका लागि २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । गाउँपालिकामा दुइवटा मुख्य सडक रहनेछन् । वडा नं. २ को खरवाङदेखि सिसाखानी, जलजला, रणसिंकिटेनी, भीमगिठे, दर्लिङहुँदै प्युठान जोडने सडक र मध्यपहाडी लोकमार्ग खण्डलाई व्यवस्थित बनाउने योजना समेत छ ।
जिल्ला तहमा यस अघिनै तयार भएको यातायात गुरुयोजना र गाउँपालिकाको २५ बर्षे गुरुयोजना बाट योजना संचालन हुने उनले बताए । गाउँपालिकाले ५० लाख बढीका योजनामा बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर मात्र काम गर्ने नीति लिएको छ । ढुंगागिटी बालुवा र अन्य खानी संचालनका लागि अनिवार्य सूचिकृत गर्नुपर्ने, फोहोरको दिर्घकालिन व्यवस्थापनका लागि व्यवस्थित ल्याण्डफिल्ड बनाउने योजना छ । दैबिप्रकोपमा उद्धार र नियमित सडक गस्तीका लागि १५ जना नगरप्रहरीको व्यवस्थापन गरिने र २५ लाखको बिपत व्यवस्थापन कोष बनाउने तयारी छ । ढोरपाटन देखि बगेको बडिगाड खोला आसपासका गाउँपालिका र नगरपालिकाको समन्वयमा कोरिडोर बिकासमा संयुक्त लगानीको कार्यक्रम ल्याइएको छ । बडिगाडकै अगुवाईमा बागलुङको ढोरपाटन नगरपालिका, तमानखोला र निसीखोला गाउँपालिका सहित गुल्मीको मुसिकोट र चन्द्रकोट नगरपालिका, सत्यवती र मालिका गाउँपालिकाको समन्वयमा बर्षेनी लगानी गरेर सडक, बिद्युत, सिंचाई जस्ता योजना संचालनको संयुक्त खाका कोरिएको छ । त्यसका लागि ५७ लाख बजेट छ ।
दिर्घकालिन योजना पुरा गर्नकै लागि गाउँपालिका भएपनि सडक र घरको मापदण्ड तोकिएको छ । मध्यपहाडी लोकमार्ग आसपासमा बन्ने घरको नियमित अनुगमन गरेर तोकिएको मापदण्डमा मात्र घर बनाउन दिने सुवेदीले बताए । ‘सुन्दर बडिगाडका लागि व्यवस्थित बसोबास भन्ने नारा तय गरेर अभियानकै रुपमा ल्याएका छौं’ उनले भने, ‘बजार र राजमार्ग क्षेत्रमा बन्ने सडक र गाउँका सडकको मापदण्ड समेत बनाएर लागू भैसक्यो ।’ योजना सफल पार्न यहाँका जनप्रतिनिधिहरु आँफै उत्पादनमुलक काममा लागेका छन् । वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष र अन्य पदाधिकारीले घरघरमै कृषि, पशुपालन र फलफूल उत्पादनको काम थालेका हुन् । यहाँका झण्डै एसयय घरमा किवी खेती गरिएको छ । पशुपालनमा रणसिंहकिटेनी, जलजला र ग्वालीचौरको माथिल्लो खण्ड अब्बल छ । ‘भेडा पालेर पनि बर्षेनी एकदुइलाख कमाउन सकिन्छ’ स्थानीय चन्द्रबहादुर पुनले भने, ‘चरनका लागि जमिन भएकोले बजारका लागि सहयोग चाहिएको छ ।’ गाउँपालिकाले बजार खोजिदिने आश्वासन दिइसकेको पाईजा बताउँछन् । पुनको सहित जलजलामा दर्जनबढी भेडा फार्म छन् । रणसिंकिटेनीमा पनि भेडा पालेर कमाई गर्ने किसानहरु बढेका छन् । बिरुवा रोप्नका लागि गाउँपालिकाले अनुदान दिने नीति बनाएको छ । किसानले घाँस र जडिबुटीका लागि बिरुवा मगाएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->