
बागलुङ, १२ भदौ – मध्यपहाडी लोकमार्गको खहरे अक्षेते खण्ड बिस्तार थालिने भएको छ । जिल्ला प्रशासन कायालयको अगुवाईमा बुधवार बसेको सर्वपक्षिय भेलाले बैकलिप्क मार्ग खुलाएर सडक चाक्लो बनाउने काम थाल्न आयोजनालाई अनुमति दिएको हो । गत असार मसान्त भित्रै कालोपत्रे गर्ने भनेपनि अहिले सम्म जीर्ण भएपछि प्रशासन, जनप्रतिनिधि र अन्य सरोकारवालाको ध्यानाकर्षण भएको थियो । आयोजना प्रमुख आशिस थापा मगर आएर आयोजनामा ठेक्का लिएका दुइवटा ठेकेदारको पक्ष सँग छलफल गरेपछि आयोजना चालु बर्ष भित्रै सक्न दवाव पनि दिएका हुन् । आगामी पुस मसान्त सम्म काम सक्ने गरी ठेक्का लिएका दुइवटा कंपनीले काममा ढीलाई गरेको आरोप लागेको थियो । प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले देशकै गौरवको आयोजना भएपनि बागलुङ बजार देखि काठेखोला गाउँपालिकाको घोडाबाँधे सम्मको खण्डले जिल्लाको अन्य बिकासलाई पनि गिज्याएकोले छिटो काम गर्न आग्रह गरे । उनले तोकिएको मापदण्ड, आयोजनाका कारण आइपर्ने अन्य समस्या समाधान समेत गरेर काम गर्न भनेका थिए । आयोजना प्रमुख थापाले पनि काम गर्न तयार भएको प्रतिवद्धता जनाए । सर्वपक्षिय भेलाले पनि आयोजनाको काम अगाडि बढाउन सहयोग गर्ने बताएका छन् । बिशेषगरी अक्षेते, खहरे लगायतका केही स्थानमा पहरो फोडेर बाटो खुलाउनु पर्नेछ । उक्त पहरो फोड्नका लागि सडक अवरुद्ध हुने भएपछि बिकल्पको बाटो दिने तयारी पनि गरिएको छ ।
तीज सकिए लगत्तै आयोजनाले एक महिनाका लागि यो खण्डमा यातायात अवरुद्ध गरेर काम थाल्ने छ । त्यसअवधिमा खहरे देखि अक्षेते सम्म बिकल्पको बाटो दिने बताइएको छ । बिहान दुइ घण्टा र कार्यालय छ्टने समयमा एक घण्टा सडक खुलाएर अन्य बेला बन्द गरेपछि काम गर्न पनि सहज हुने थापाले बताए । यो खण्डमा काम गरिरहेको भारत सिद्धिशाही प्रकाश कन्स्ट्रक्सनले आइपर्ने अवरोध हटाउन प्रशासन, राजनीतिक दल र स्थानीय तहले सहयोग गरिदिएमा एक महिनामा पहरा फोड्ने र चक्ल्याउने काम सक्ने बताएको छ । ईन्जिनियर मिहिर सिंहले काम सक्ने आश्वासन दिएका हुन् । उनले आगामी माघ सम्म सडक कालोपत्रे गरिसक्ने योजना बनाएको पनि बताए । अघिल्लो बर्ष यो खण्डमा रातारात काम भएको थियो । तर आयोजनाले मुआब्जा नदिएको, बिद्युतका पोल र खानेपानीका पाईपलाइन नहटाएको जस्ता कारण देखाएर कामबाट ठेकेदार पक्ष पछि हटेको थियो । आयोजनाको काम भैरहेको र पत्र पठाएर मापदण्ड भित्र काम नगर्न भनेपनि नेपाल बिद्युत प्राधिकरणले खरवाङ देखि बुर्तिवाङ खण्डमा पोल गाडिएको थापाले बताए । सरोकार राख्ने संस्थाले समन्वय नगरीकनै काम गर्दा सडकको सोच अनुसारको काम गर्न नसकिएको बताए । तत्कालका लागि यो सडक ८ मीटर चौडाको बनाएर कालोपत्रे गरिनेछ । तर आयोजनाका लागि भने मध्यभागबाट २५ मीटर दायाँबायाँ छाडेर मात्र घर वा अन्य संरचना बनाउन पाउने व्यवस्था छ । साथै दुवै तर्फ ६ मीटर आफ्नै जग्गा रहने गरी छाड्ने व्यवस्था गरेर ३१ मीटर कायम भएको थापाले बताए । यो सडक निर्माण हुँदा राष्ट्रिय गौरवको बन्ने बताइएको छ । गौरवको आयोजनामा सूचिकृत भएपनि तत्कालका लागि पुरानो मापदण्ड र नयाँ मापदण्डले कार्यान्वयनमा समस्या आएको बताइएको छ । भदौ १८ गते देखि थालेर असोज १७ गते सम्म गरिने काममा बिहान साँढे ७ बजेदेखि साँढे ९ बजे सम्म काम गरेर एक घण्टाका लागि सडक खुलाईनेछ । साँढे १० बजेदेखि दिउसो साँढे ४ बजे सम्म सडक बन्द हुन्छ भने एक घण्टाका लागि पुन सडक खुल्नेछ । यसरी खुलाईदा बिद्यार्थी, कर्मचारी र टाढाबाट आएका यात्रीलाई आउजाउको अवसर दिइने भएको हो ।
कार्यक्रममा जिप व्यवसायी समितिका अध्यक्ष बिष्णु अधिकारीले बढी मानिस आउजाउ गर्ने बेलामा खुलाएर अन्य समय काम गर्न सुझाव दिए । त्यस्तै कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगाना, काठेखोला गाउँपालिका अध्यक्ष अमर थापा, वडा नं. १ का अध्यक्ष खड्ग थापा, समन्वय अधिकारी कृष्णराज गौतम, बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, प्रहरी उपरिक्षक नवराज भट्ट, लगायतले सडकको स्तरउन्नती गरेर यात्रीलाई सहज बनाउन आग्रह गरे । बर्षौदेखि सास्ती खेप्नु परेकोले सडक खुलाउन केही समय पर्ने समस्यालाई सहजै लिन उनीहरुले आग्रह पनि गरे । सडक अबरुद्ध भएको सूचना प्रहरी र ट्राफिकले दायाँबायाँ राख्ने प्रवन्ध गर्ने बताइएको छ ।





