पोखरा,१७ साउन – छोरी बुहारीलाई पढाऔँ भन्ने सन्देश प्रवाह गर्ने उदेश्यले संजिवनी सिस्टर्स नामक संस्था गठन हुने भएको छ । संस्थाको तदर्थ समितिको अध्यक्षमा बिना गुरुङ रहेकी छन् ।
असहाय, अपहेलना, दुर्गम क्षेत्र र गरिबीका कारण शिक्षाबाट बञ्चित हुनुपरेको बालिका, छोरी चेली, बुहारीलाई शिक्षित बनाउने उदेश्यले संस्था गठन गरिएको उनले बताइन। उनले शिक्षाबाट बञ्चित भएकाहरुलाई शिक्षाको अवसर प्रदान गर्न केयर होम स्थापनाको लक्ष्य समेत रहेको जानकारी दिइन् । विश्वमा अहिले पनि ६२ करोड महिला अशिक्षित र नेपालमा करिब ५६ प्रतिशत महिला निरक्षर रहेको तथ्यांकले देखाइरहेको अवस्थामा संजिवनी सिस्टर्स विशुद्ध शिक्षाको लागि काम गर्ने संस्था हुने उनको भनाई थियो । संस्था विधिवत स्थापनाको तयारी भइरहेको छ भन्नुहुदै अध्यक्ष बिना गुरुङले साधारण सदस्यका लागि २५ हजार, अक्षयकोषदाता सदस्यका लागि १ लाख र मानार्थ सदस्यका लागि १० लाख वा भन्दा बढी आर्थिक÷भौतिक सहयोग गर्नुपर्ने प्रावधान राख्ने जनाए ।
समितिको उपाध्यक्षमा बिना गुरुङ, उपाध्यक्षमा हिरादेवी गुरुङ, सचिवमा कौशिला गुरुङ, कोषाध्यक्षमा लक्ष्मी गुरुङ, सदस्य गिता भट्टराई, दिलमाया प्रजापति, बिन्दुमाया गुरुङ, कमला गुरुङ(हङकङ), कमला शर्मा, काशीमाया गुरुङ (अमेरिका) र यमकुमारी गुरुङ(बेल्जियम) रहेका छन् ।
उक्त कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका उपाध्यक्ष पवन प्रजापती, तमु साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष चिजकाजी गुरुङ, धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिकी अध्यक्ष रुद्रकुमारी गुरुङ मैना, तमु धिं नेपालका उपाध्यक्ष हुमबहादुर गुरुङ, लायन्स इन्टरनेशनल ३२५ बी डिपार्टचिफ मिलन थापा, बुद्धिजिवी गुणाखर सापकोटा, तमु मै ताँ शिक्षा अभियन्ता युग गुरुङ, विमला श्रेष्ठ, चन्द्रा शर्मा, सिता कार्की, दुर्गा ढकाल लगायतले शुभकामना व्यक्त गर्दैै विविधत तयारी, दिगोपना, सुक्ष्म तथा दीर्घकालीन योजना, राज्यसँग सहकार्य, सबैको पहुँच पुग्ने संस्थाको रुपमा संजिवनी सिस्टर्स नेपाल अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।





