बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

एसियाली खेलकुद हुने भएपछि बल्ल पोखरामा ट्राफिक लाइट !

एसियाली खेलकुद हुने भएपछि बल्ल पोखरामा ट्राफिक लाइट !


  • ढोरपाटन संवाददाता
  • साउन २० २०७६, सोमबार

पोखरा, २० साउन – पोखरा महानगरपािलकाका मेयर मानबहादुर जिसीले दक्षिण एसियाली खेलकुद प्रतियोगिताका बेलाको ट्राफिक व्यवस्थापन गर्न पोखराको ४ ठाउँमा ट्राफिक लाइट जडान गर्ने उद्घोष गरेका छन् । उनले आउँदो मंसिरसम्म पोखराको सृजनाचोकमा बाटो काट्ने आकासेपुल पनि बनिसक्ने दावी गरे । आउँदो मंसिरमा सागअन्तर्गतका केही खेलहरु पोखरामा आयोजना हुँदैछन् ।

पोखरामा अहिले ट्राफिक व्यवस्थापन समस्या बनेर देखा परेको छ । सडकमा गाडीहरुको जाम बढेको छ भने बाटो काट्न धौ–धौ हुने अवस्था छ । तर, पोखरामा अहिलेसम्म एउटै चोकमा ट्राफिक लाइट छैन । केही वर्षअघि यहाँका चोकहरुमा राखिएका ट्राफिक लाइट कहाँ गए, कसैलाई थाहै छैन । जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रका अनुसार अहिले पोखरामा १ सय जना ट्राफिक प्रहरी कार्यारत छन् । यो जनशक्ति अपुग रहेको उनले जनाए । ट्राफिक व्यवस्थापनलाई सहज बनाउन २ सय ५० जनशक्ति आवश्यक भएको उनको भनाई छ ।
महानगरपालिकाले जिल्ला ट्राफिक कार्यालय कास्कीलाई ४ सय ९६ थान ट्राफिक कोण ( रोड डिभाइडर ) हस्तान्तरण गर्ने क्रममा मेयर जिसीले समग्र पोखराको यातायात व्यवस्थापन गर्न महानगरपालिकाले विस्तृत योजना बनाइरहेको बताए । ‘यातायात व्यवस्थापन सम्बन्धी योजना बनाउँदैछौं,’ प्रमुख जिसीले भने,‘ अबको ६ महिनामा योजना तयार हुन्छ र योजना अनुसार नै पोखरामा यातायात व्यवस्थापन गरिनेछ ।’ उनले सागको सुरक्षालाई ध्यानमा राखेर सहरका मुख्य ठाउँहरुमा सिसिटिभी जडानको योजना बनेको पनि सुनाए ।
पोखराका केही सडकहरुमा एकतर्फी यातायात सञ्चालन गर्नुपर्ने आवश्यकता भएको पनि उनले आंैल्याए । भदौ १ गतेदेखि पोखरा भित्र सञ्चालन हुने सार्वजनिक यातायात बसहरुमा इ—टिकटिङ लागू गरिने र त्यसलाई क्रमश कार्ड सिस्टमा लैजाने तयारीसहित काम भइरहेको जिसीले जानकारी दिए । महानगरपालिकाले जनताले तिरेका करबाट नै ट्राफिक कोण बितरण गरेकाले यो जनाताको सम्पत्ति भएकाले जतन गर्न आम नगरबासीलाई प्रमुख जिसीले आग्रह गरे । सोमबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद शर्मा घिमिरेले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी निरीक्षक मुरारी मिश्रलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख, डिआइजी विनोद शर्मा घिमिरेले ट्राफिक कोणले ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने बताए । पोखराको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन प्रयास गरिरहेको बताउँदै डिआइजी घिमिरेले जनशक्ति व्यवस्थापनमा पनि प्रदेश प्रहरी कार्यालयले ध्यान दिइरहेको बताए । सुन्दर पोखरालाई अझ सुन्दर बनाउनमा सबैको साथ र सहयोग आवश्यक पर्ने उनको भनाइ छ । कार्यक्रममा एसपी वीरेन्द्रकुमार बस्याल, पोखरा महानगरपालिका इन्जिनियर सुन्रेन्द्र पौडेलले पोखराको ट्राफिक व्यवस्थापनको बारेमा बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->