बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

तीजमा प्रशासनको निगरानी, महिलाहरुको असन्तुष्टी

तीजमा प्रशासनको निगरानी, महिलाहरुको असन्तुष्टी

ऋण काँडेर मनाउने सवै चाँडको अनुगमन गर्न नागरिक समाजको सुझाव


  • दुर्गा भण्डारी
  • साउन २४ २०७६, शुक्रबार

पोखरा, २४ साउन – तीज पर्वलाई भड्कीलो नवनाउन कास्की प्रशासनले निगरानी थालेको छ । सांस्कृतिक पर्व तीजमा बिकृति बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले निगरानी गर्न सुरु गरेको हो । नारी जागरण अभियान कास्कीले भड्कीलो तीजले महिलाहरुलाई नै अप्ठ्यारो परेको भन्दै निगरानी गर्न प्रशासनलाई ध्यानाकर्षण गराएको थियो । प्रशासनले सूचना प्रकाशित गरेर सबैको ध्यानाकर्षण गराएको छ ।
गत साता प्रशासनको आफ्नै वेभसाईडमा सूचना प्रकाशित गरी संघ संस्थाको नाममा पार्टी प्यालेस र होटलमा अग्रिम टिकट बुकिङ गरीे मनाउने, चाडपर्वमा गरगहनाको भड्कीलो प्रर्दशन गर्ने, टिकट काटेर खाना खुवाउने लगायतका कार्यप्रति निगरानी हुने जनाएको छ । त्यस्तो कार्य गर्नेलाई कानूनी कारवाही हुने बताएको छ ।
चाडपर्वको मौलिकतामा आँच आउने प्रकृतिका फजुल खर्च, तडभडक र सांस्कृतिक कार्यक्रमका नाममा हुने ध्वनी प्रदुषणलाई पनि प्रशासनले रोक लगाएको छ । आफ्नो मौलिकता जोगाउन अनुरोध गर्दै प्रशासनले सवैलाई चेतावनीपूर्ण सन्देश दिएको छ ।
प्रशासनले जारी गरेको सूचनालाई अधिकारकर्मीले भने नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन् । ‘यो एक हदसम्म सामाजिक सुधारको कार्य भएपनि महिलाहरुले गर्ने गतिबिधि नियन्त्रण गर्न खोजिएको छ’ अधिवक्ता भूवन पराजुलीले भनिन्, ‘सामाजिक सुधारका अन्य धेरै पाटामा ध्यान दिन सके राम्रो हुन्छ ।’ स्थानीय प्रसाशनले जनहितका लागि सुधार नै गर्नुपर्ने थुप्रै कार्यहरु भएको भन्दै उनले प्रशासन त्यस्ता मुद्दा ओझेलमा पार्न तीजमा केन्द्रीत भएको टिप्पणी गरिन् । उपभोक्ताको स्वास्थ्यसंग जोडिएको बजारको अनुगमन, खाद्य सुरक्षा, शान्ति सुरक्षा, मदिराको प्रयोगबाट महिलामाथी हुने हिंसा जस्ता अपराध नियन्त्रणमा लाग्न प्रशासनलाई उनको सुझाव छ ।
नेपाली महिलाहरुले मनाउदै आएको तीजपर्व कुन हदमा पुग्दा तडकभडक भएको हो भनेर परिभाषित हुनुपर्नेमा सरोकारवालाको भनाई छ । तीज मनाउने कुरामा कास्की प्रशासनले बढी नै चासो लिएको नेपालबार एशोशिएसनका उपाध्यक्ष सुरेन्द्र थापाले वताए । उनले भने, ‘तडकभडकले महिलाई पछि पार्ने र मनोरन्जनका साधन बनाउन सक्छ भनेर प्रशासनले त्यसो नगर्न अनुरोध मात्र गर्न सक्छ, कारवाही गर्ने हक उसलाई छैन ।’
कास्की प्रशासनलाई ध्यानाकर्षण गराउने अभियन्ता जनप्रतिनिधी अन्जु केसी प्रशासनको कदमको पक्षमा नै छिन । उनी.भन्छिन् ‘महिलाहरुलाई नाचगान गर्न, रातो सारी लगाउन हल्का गहना लगाउन प्रतिबन्ध लगाएको होईन । २ महिना अगाडिबाट टिकट काटेर महंगो होटलमा आफ्नो हैसियत भन्दा बढी तिरेर खान बाध्य पार्ने परिपाटीलाई नियन्त्रण गर्नु सकारात्मक छ ।’
सहायक प्रजिअ श्रीनाथ पौडेलले तीज पर्व मनाउनलाई महिलाहरुलाई नरोकेको वताए । ‘माइत जान नपाएका चेली बसेर दर खानु नौलो भएन, तर बाहना बनाएर तडकभडक गर्न भएन ।’ सहायक प्रजिअ पौडेलले भने, ‘संस्कृतिका नाममा बिकृति गर्न भएन ।’ अश्लिल नृत्य गर्ने र बाटो छेक्ने प्रवृत्ति त्याग्न उनले सुझाव दिए ।
नागरिक समाजका अगुवाले तीजमात्रै होइन, दशैं तिहारमा हुने बिकृतिको अनुगमन गर्न पनि माग गरेका छन् । ऋण काढेर मनाउने सवै चाँडको अनुगमन गर्दा समाज सुधार गर्न सकिने उनीहरुको सुझाव छ । सामाजिक संस्कारको रुपमा बिवाह र ब्रतबन्धमा हुने खर्चमा पनि प्रशासन मौन वस्न नहुने उनीहरुको तर्र्क छ ।
सामाजिक ब्यवहार सुधार ऐन २०३३ संशोधन पछि आएको २०४८ को ब्यवस्थाले बिवाह, ब्रतबन्ध, पास्नी, चुडाकर्म, न्वारन, जन्मदिन र पितृकार्यलाई पनि संस्कारको नाम दिएको छ । ती संस्कारमा नातेदार र आफन्त मात्र बोलाउन पाईने भन्ने कानूनी प्रावधान छ । ऐनको दफा ३ मा तिलक प्रथाको नियत्रण, ४ मा दाईजो प्रथाको नियन्त्रण, बिवाह भोज, पितृकार्यको भोज, दाईजो प्रदर्शन, भडकिलो रुपमा घर सजावट गर्न नहुने उल्लेख छ । तर यी बिषयमा स्थानीय प्रशासनले कुनै चासो नदिएकोमा नागरिकको प्रश्न छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->