बागलुङ, १६ भदौ – सदरमाुकाम देखि काठेखोला, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका, गलकोट नगरपालिका र म्याग्दीको बेनी नगरपालिका समेत समावेश हुने गरी धौलागिरी पर्यटन प्रवद्र्धन तथा चक्रपथ समिति गठन गरिएको छ । बागलुङका हरेक क्षेत्रमा पर्यटक भित्राउने तयारी स्वरुप समिति गठन, पदमार्ग निर्माण लगायतको काम थालिएको हो ।
शनिवार र आइतवार पदमार्ग गरेका समूहले काठेखोला गाउँपालिका ३ को धम्जामा बसेर समिति गठन गरेका हुन् । काठेखोला ७ का अध्यक्ष प्रेम लामिछानेको अध्यक्षतामा समिति गठन भएको हो । शनिवार धौलागिरी पर्यटन प्रवद्र्धन समितिको नेतृत्वमा पञ्चकोट देखि बेलढुंगा सम्मको पदयात्रा गरिएको थियो । पदयात्रामा झण्डै १ सय जना सहभागि थिए । उनीहरु शनिवार बेलुकी धम्जाको ओखले पुगेर बेलढुंगा सामुदायिक होमस्टेमा बास बस्न पुगेका थिए ।
आइतवार बिहान उनीहरुले गरेको छलफलबाट लामिछानेको संयोजकत्वमा समिति गठन गरेको हो । यो समितिले जिल्ला भेला गरेर पर्यटनको वृहत कार्यक्रमहरु तय गर्नेछ । समितिमा सबै स्थानीय तहका प्रमुखहरु सल्लाहकार हुनेछन् । सांसद र बिशिष्ट व्यक्ति पनि सल्लाहकार हुनेछन् ।
पञ्चकोट देखि संसारकोट र धम्जा सम्मको पदमार्गलाई व्यवस्थित गर्ने पहिलो काम थाल्न पनि स्थानीय तहलाई माग गरिएको छ । नेपाल भ्रमण बर्षको अभियान सफल पार्न पनि यो पदमार्ग उपयोगी हुने बताइएको छ । सगरमाथा आरोही कृष्ण केसी र पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष खिमानन्द कंडेलको नेतृत्वमा गरिएको पदयात्रा प्रारम्भिक भएपनि निरन्तरता दिने समेत बताए । यो खण्डमा हाल पदमार्गको सामान्य रेखाङकन मात्र छ । त्यसलाई डेढ मीटरको सहज मार्ग बनाउने, चिन्हहरु राख्ने र हिमाली दृश्यावलोकन गर्ने स्थल निर्माण गर्ने लक्ष राखिएको छ । ‘एउटा पालिकाले १० लाख बिनियोजनगरेपनि ५० लाख हुन्छ, त्यसले सामान्य काम बन्नेछ’ केसीले भने, ‘यस्तो अभियानलाई सफल बनाउन सकियो भने भ्रमण बर्ष सफल हुन्छ ।’ नेपाल सरकार र गण्डकी प्रदेश सरकारले आगामी सन् २०२० लाई भ्रमण बर्षको रुपमा मनाउने तयारी गरेको छ । त्यसका लागि पर्यटकहरु आउने तथा बस्ने वातावरण बनाउने तयारी भैरहेको हो ।
बिशेषगरी गण्डकी प्रदेश सरकार र स्थानीय तहको अगुवाईमा यस्ता अभियान चालिएको छ । गण्डकी प्रदेश सरकारले बागलुङका कालिका भगवती, पञ्चकोट, भैरवस्थान, भकुण्डे, ढोरपाटन, लगायतका स्थानलाई पर्यटकीय गन्तव्यको रुपमा पनि सूचिकृत गरेको छ । गत आर्थिक बर्ष प्रदेश सरकारकै सहयोगमा झण्डै १६ वटा होमस्टे संचालनमा पनि आएका छन् । ती होमस्टेको थप व्यवस्थापन गर्न भने बाँकी छ ।
धौलागिरी हिमाल देखिने गरी पञ्चकोट देखि बेलढुंगा सम्मको पदमार्गलाई भने कान्छो धौलागिरी नामाकरण गरिएको छ । यो खण्डमा यात्रा गर्दा निरन्तर हिमाल देख्न पाइने र एउटै ढुंगाको ठूलो पहाड भएकोले कान्छो धौलागिरी भनिएको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए । सगरमाथा आरोही कृष्ण केसी, धौलागिरी पर्यटन प्रवद्र्धन समिति र जनप्रतिनिधि समेतले शनिवार पदयात्रा गरेका थिए । पञ्चकोटमा आयोजत बिशेष सभामा गण्डकी प्रदेशका पर्यटन मन्त्री बिकास लम्सालले आन्तरिक पर्यटकहरुलाई फूलमाला दिएर बिदाई गरेका थिए । धम्जा स्थित ओखलेमा रहेको बेलढुंगा सामुदायिक होमस्टे संचालकले स्वागत गरेका थिए ।
बेलढुंगा होमस्टेमा संचालकहरुले पदयात्रीलाई मगर संस्कृति, लोगगीत र संगीतले मनोरञ्जन पनि दिएका थिए । पहिलो चरणमा रेखाङकन गरिएको यो पदमार्ग झण्डै १५ किमी लामो छ । अगामी दिनमा बेलढुंगा देखि धम्जा देउराली, घोडाबाँधे, बिहु“को रामकोट र, भैरवस्थान सम्म पनि रेखाङकन गरिनेछ । उक्त खण्ड ५० किमी सम्मको हुने बताइएको छ । पदमार्गलाई ताराखोला देखि ढोरपाटन पनि जोडने योजना बनाइएको छ । त्यसका लागि सबै स्थानीय तहको बैठक बसेर पूर्वाधार निर्माणमा बजेट लगाउने, पदमार्गहरुलाई अपनत्व दिने जस्ता काम गरिने बताइएको छ ।





